नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
सारांश
- धवलशमशेर राणा र दुर्गा प्रसाईं मिलेर नयाँ पार्टी घोषणाको तयारी भएको छ ।
- नयाँ पार्टीको नेतृत्व धवल शमशेर राणाले गर्ने र दुर्गा प्रसाईंलाई 'सर्वमान्य नेता'का रूपमा अगाडि सारिने समझदारी भएको छ ।
- पार्टीलाई संस्थागत रूप दिन विधान, नाम र चिह्नका लागि मुकुन्द श्याम गिरीको नेतृत्वमा कार्यदल तथा असन्तुष्ट व्यक्तिहरूलाई भित्र्याउन राजु आचार्यको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ ।
काठमाडौँ । राप्रपासँग सम्बन्धबिच्छेद गरेको धवलशमशेर राणा समूह र मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं मिलेर नयाँ पार्टी घोषणाको तयारी भएको छ । सम्भवतः असार पहिलो साताभित्र पार्टीले नयाँ आकार लिइसक्ने नेताहरूले बताए ।
केही दिनअघि रातोपाटीसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेता दिलनाथ गिरीले नयाँ पार्टीको नेतृत्व धवल शमशेर राणाले गर्ने समझदारी भएको बताएका थिए । पार्टी निमार्णको तीव्र गृहकार्य भइरहेका बेला उनी उपचारका लागि बेलायत उडेका छन् । उनका अनुसार दुर्गा प्रसाईंलाई ‘सर्वमान्य नेता’का रूपमा अगाडि सारिने समझदारी भएको छ ।
पछिल्लो समय पुराना राजनीतिक दलहरू र तिनका नेताहरूमा अहङ्कार बढेका कारण जनतामा वितृष्णा फैलिएको गिरीको विश्लेषण छ । 'दलहरूमा अहमताको पराकाष्ठा भयो, जनतालाई केन्द्रमा राख्नुपर्नेमा पार्टी र आफूलाई सर्वोपरि ठाने,' गिरीले भने, 'त्यही अहङ्कारका कारण काठमाडौँमा बालेन शाहको उदय भयो । हामीले बारम्बार भन्यौँ— कि हामी सच्चिनुपर्छ, कि हामी सकिन्छौँ । तर नेतृत्वले सुन्न चाहेन, त्यसैले अब नयाँ विकल्प अनिवार्य भएको छ ।'
राप्रपाभित्र परिवारवाद र भ्रष्टाचार मौलाएको तथा राष्ट्रिय हित विपरीतका कामहरू भइरहेको आरोप लगाउँदै उनले अब जनतालाई नै मालिक मानेर नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए ।
पार्टीलाई संस्थागत रूप दिन दुई वटा समिति गठन
पार्टी निर्माण प्रक्रियामा सक्रियतापूर्वक लागिरहेका एक नेताले पार्टीलाई संस्थागत रूप दिन दुई वटा समिति गठन गरिएको बताए । ती नेताका अनुसार पार्टीको विधान, नाम र चिह्नका लागि मुकुन्द श्याम गिरीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ । उक्त समितिले पार्टीको नाम, चुनाव चिह्न र विधान तय करिब टुंगो लगाएको छ ।
यसैगरी विभिन्न दलका असन्तुष्ट र सम्भावित व्यक्तिहरूलाई पार्टीमा भित्र्याउने उद्देश्यले छलफल गर्न राजु आचार्यको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली बनाइएको छ ।
यसैबिच नयाँ पार्टीको विषयमा हालसम्म भएका प्रगतिका विषयमा जानकारी दिन आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा नेताहरू राणा र प्रसाईंको सहभागिता रहने नेता रञ्जन कार्कीले बताए ।
वृहत् राष्ट्रवादी एकता कायम गरी देशलाई नयाँ दिशा दिने उद्देश्यका साथ राणा र प्रसाईं मिलेर नयाँ पार्टी बनाउने समझदारी भएको नेता कार्कीको भनाइ छ । दुई नेताबिच जेठ २२ मा ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
‘संवैधानिक राजसंस्थाको पुनर्स्थापना र वैदिक सनातन हिन्दु अधिराज्य’ लाई मुख्य आधार बनाएर बन्न लागेको नयाँ पार्टीले युवा पुस्ता (जेनजी) र राष्ट्रवादी तप्कालाई समेट्ने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण