शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

विधान अधिवेशनको तयारीमा जसपा

के छ संशोधित विधानको मस्यौदामा ?
मङ्गलबार, १९ वैशाख २०८०, १७ : १२
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल यतिबेला विधान अधिवेशनको तयारीमा जुटेको छ । जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बस्नेतका अनुसार विधानको मस्यौदा तयार भइसकेको छ । त्यसका लागि मागिएको सुझाव लगभग सबै प्रदेशबाट प्राप्त भइसकेको बताउँदै उनले बैठक बसेर त्यसलाई अन्तिम रुप दिइने जानकारी दिए ।

विधान अधिवेशनमा क–कसलाई प्रतिनिधि बनाउने भन्ने मापदण्ड पनि तयार भइसकेको उनको भनाइ छ । प्रतिनिधि चयन गर्ने सम्बन्धी मापदण्ड तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्यहरु रकम चेम्जोङ, विजय यादव र मनिष सुमनलाई दिइएको थियो । उनीहरुले मापदण्ड तयार गरी पार्टीलाई बुझाइसकेको बताइएको छ ।  

यसअघि चैत २६ गतेदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने तय भएको थियो । तर उपनिर्वाचनको कारण देखाउँदै अधिवेशन जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा हुने गरी सारिएको थियो ।

विधान अधिवेशनमा पेस गरिने विधानको मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठित कार्यदलले तयार गरेको हो । विधान संशोधन मस्यौदामा केन्द्रीय समितिको सदस्य संख्या घटाउन प्रस्ताव गरिएको छ ।

विधानको मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ । हालको विधानमा ७०१ सदस्यीय कार्य समितिको व्यवस्था छ ।

मस्यौदामा केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने तथा ७० वर्ष पूरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी पार्टी सदस्य संख्याको अनुपातमा मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिला, खस आर्य, मुस्लिम र अल्पसंख्यक समुदाय जातीय, सामाजिक समूहहरुबाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरु निर्वाचित हुने भनि मस्यौदामा उल्लेख छ ।

विधानबाट पहिचानका राष्ट्रिय समिति हटाउने प्रस्ताव गरिएको छ । पार्टीमा मधेश राष्ट्रिय समिति, लिम्बुवान राष्ट्रिय समिति, किराँत राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, खसान राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, थारुवान राष्ट्रिय समिति, नेवा राष्ट्रिय समिति, मगरात राष्ट्रिय समिति र शिल्पी दलित राष्ट्रिय समिति छन् ।

नयाँ बन्ने विधानमा यी राष्ट्रिय समिति नरहने सम्भावना छ । विधानको मस्यौदामा यी समिति राखिएको छैन ।

त्यस्तै जसपाले संघीय परिषद्को व्यवस्था पनि हटाउने भएको छ । उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण गरी समाजवादी पार्टी बनाएपछि संघीय परिषद्को संरचना बनाएर भट्टराईलाई त्यसको अध्यक्ष बनाएको थियो ।

भट्टराई पार्टी छाडेर गएपछि अहिले संघीय परिषद्को अध्यक्षमा अशोक राई छन् । विधानको मस्यौदा अनुसार अब संघीय परिषद्लाई पार्टीको संरचनाबाट हटाउने जसपाको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप