शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले नेताको प्रश्न : टोपबहादुरजी गैरन्यायिक हिरासतमा पो हुनुहुन्छ कि ?

शनिबार, २३ वैशाख २०८०, १७ : २४
शनिबार, २३ वैशाख २०८०

काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ भनेर सरकारलाई सोधेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त प्रकरणमा मुछिएका रायमाझीलाई कतै गैरन्यायिक हिरासतमा राखिएको हो कि भनेर प्रश्नसमेत गरे । 

‘म पनि नेपाल सरकारलाई सोध्दैछु– सरकारमा बस्नेहरुले किन खोज्न सक्नुभएन ? उहाँहरुकै निगरानीमा हुनुहुन्छ । सार्वजनिक कार्यक्रममै हुनुहुन्थ्यो भन्ने पनि सुन्यौं । सार्वजनिक कार्यक्रममा पुलिस/प्रशासन पनि थियो होला । पक्राउ पुर्जी जारी गर्यो भन्ने पनि सुनेको हो, सरकारको दायित्व र जिम्मेवारी यो हुन्छ कि नेपालको क्षेत्रफलभित्र को/कहाँछ ?भनेर हेर्ने हो, फरार भन्न मिल्दैन । सरकारले खोजिगर्न नसक्ने हो भने, त्यो सरकार होइन,’तामाङले भने । 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पुर्‍याउने विश्वास दिलाए ।  

यस्तै जनता समाजवादी पार्टी नेपालका नेता तथा सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको गम्भीर अपराध भएकोले दोषी जोसुकै भएपनि   कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । 

उनले भने,‘नेपाली समाजमा भ्रष्टाचार एउटा अंग भनेर बसेको जस्तो छ, हामी सबैले भ्रष्टाचार भइरहेको छ भनेर चिन्ता जाहेर गरेका छौं । तर, कसरी यसलाई निर्मुलीकरण गर्ने भन्नेबारे ठोस पहलकदमी नभएको कारण नेपाली समाजमा राजनीतिक नेतृत्वप्रति आक्रोश छ । हुँदाहुँदै व्यवस्था नै खतरामा पर्छ कि भन्ने चिन्ता पनि लागेको छ । जहाँसम्म भ्रष्टाचार निर्मूलीकरणको विषय छ, यो समाप्त हुनैपर्छ । यो हामीले गर्नैपर्छ ।’ 

यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राष्ट्रघातको संज्ञा दिए ।  

यस्तै नेकपा (माओवादी केन्द्र) की नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राष्ट्रियता, स्वाभिमान र स्वाधीनतामा पनि खलल पुर्‍याएको भन्दै यसमा संलग्न दोषीहरुमाथि कडा कारबाही हुनुपर्ने बताएकी छिन् । 

उनले भनिन्–‘नागरिकले चाहेको सुशासन यो सरकारले दिनसक्छ, र दिन्छ भन्ने विश्वस्त बनाउनको निम्ति प्रचण्ड सरकार, प्रधानमन्त्री र गृहमन्त्रीज्यूले नक्कली शरणार्थी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउनुभएको छ । यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ । दोषीमाथि कडा कारबाही हुनुपर्छ ।’ 

उनले अहिले भ्रष्टाचार केन्द्रदेखि गाउँसम्म मौलाएको बताइन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप