बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मिडियाले पाठकलाई कहिलेसम्म हेप्ने ?

शुक्रबार, २९ वैशाख २०८०, १३ : ००
शुक्रबार, २९ वैशाख २०८०

भारतीय पत्रकार सिद्धार्थ वरदराजनको ‘गल्ती सच्याउँदा मिडिया र पाठकबीचको सम्बन्ध बलिया बन्छ’ भन्ने शीर्षकको लेख रातोपाटीमै छापिएपछि मलाई पनि थप्न मन लाग्यो । म त भन्छु, मिडियाले पाठकलाई हेप्ने प्रवृत्ति बन्द नगरेसम्म सम्बन्ध सुधार हुँदैन । तपाईंहरूलाई यसले किन निहुँ खाजेको होला भन्न मन लाग्यो होला । म दुईवटा उदाहरण दिन्छु, चित्त बुभेन भने थप छलफल गरौँला ।

म पनि सञ्चारकै मानिस हुँ तर अहिले सचेतना अभिवृद्धिका क्षेत्रमा सरकारलाई परामर्श सेवा प्रदान गर्दछु । सन् २००९ सम्म समाचार कक्षमै काम गर्थें । 

अहिले कामका सिलासिलामा मेरो अधिकांश समय फिल्डमा बित्छ । यस क्रममा म स–साना अनुसन्धान पनि गर्छु । मैले मिडिया क्षेत्रका दुई छोटा सर्वेक्षण गरेको छु । तीमध्ये पछिल्लो सर्वेक्षण मैले पाँच जिल्लाका १५ गाउँ पालिकमा गरेँ । 

सर्वेक्षणमा सहभागी डेढ सय जनामध्ये सबै किसान वा सहकारी र समूहका पदाधिकारी थिए । मैले उनीहरूलाई कुनै फाराम वा यस्ता कुनै पनि औपचारिक काजगी प्रक्रियामा फसाउने विचार गरिनँ, कारण उनीहरूसँग मेरो भेट फरक प्रसंगमा भएको थियो । 

मेरो कार्य क्षेत्रको एउटा कार्यालयले नौवटा एफएम रेडियोमा लगातार डेढ महिना अनुदानसम्बन्धी सूचना प्रसार गरेपछि म फिल्ड गएको थिएँ, त्यसको प्रभाव मूल्यांकन गर्न । मैले रोल्पा, सल्यान, गोर्खा , कास्की र लमजुङमा यो सर्वेक्षण गरेँ । ती एफएमहरू ती क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । 

अझ भनौँ एमएम रेडियोलाई ग्रामीण क्षेत्रको सञ्चारको सबैभन्दा प्रभावकारी साधन पनि मानिन्छ । म पनि यस्तै सोच्थेँ । मैले सेवा प्रदान गर्नुपर्ने कार्यालय तथा दाताका कर्मचारी पनि यस्तै सोच्थे । मलाई त्यतिबेला धक्का लाग्यो, जतिबेला रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ४० सहभागीले भने– त्यहाँका लोकप्रिय एफएम सुन्दैनौँ । मैले फेरि दोहो¥याएर सोधेँ, उही जवाफ आयो । 

विचरा ती एफएमहरू । अहिले पनि सदरमुकाम वरपर निकै लोकप्रिय भएको दाबी गर्दै चन्दा, विज्ञापन, सहयोग उठाउँदा हुन् । उनीहरूलाई के थाहा, सोही पालिकाका किसानहरू एफएम सुन्दैनन् । सञ्चारमाध्यमले आफ्नो पहुँचबारे ज्यादै कम सर्वेक्षण गर्ने प्रचलन छ । उनीहरू यसै ठूला, यसै लोकप्रिय । उनीहरूलाई मेरा पाठक वा श्रोताले कस्तो खुराक चाहेका छन् भन्ने थाहा हुनुपर्ने होला नि ? कि मसँग जे छ त्यही घिच भन्ने हो ? यो हेपेको होइन त ? 

उनीहरूलाई फेरि सोधेँ, केमा विज्ञापन दिए तपाईंकोमा आइपुग्छ ? उनीहरूले एकै स्वरमा भने, टिकटक । दुईचार जनाले फेसबुक रिल्स पनि भने । उनीहरूले फुर्सदको अधिकांश समय टिकटकमा बिताउँदा रहेछन् । 

उनीहरूले दिएका कारणहरू थिए– एकोहोरो आफूमात्र बोल्ने, बोल्न छाडे विज्ञापन दिने, कुनै चाखलाग्दो विषय आए बीचमै विज्ञापन दिने, विज्ञापनको समयबाट फिर्ता हुन लामो समयसम्म कुर्नुपर्ने लगायतका बाध्यताका कारण मानिसहरू एफएमबाट विमुख भएका रहेछन् । यो क्रम अन्य चार जिल्लामा पनि यस्तै रह्यो । 

मैले निष्कर्ष निकालेँ, अब टिकटकमा विज्ञापन दिऔँ, अथवा टिकटकका भाइरल स्टारलाई विज्ञापनको टिकटक बनाएर राख्न लगाऔँ, मागेको शुल्क तिरौँ ।

साताव्यापी फिल्ड सकेर संघीय राजधानी फर्केर हतार–हतार रिपोर्ट बुझाएँ । कसैले मेरो कुरो पत्याऊन् त मरिजाउँ । यस्तो सानो सर्वेक्षणले स्थापित मान्यतामाथि धक्का दिन मिल्दैन भने । सरकारले टिकटकलाई मान्यता दिएको छैन भने, हो पनि । मेरो कुरो कहीँकतै स्थापित भएन । मेरो सर्वेक्षणमाथि बञ्चरो हानियो ।

मैले चुनाव सम्झिएँ, कसले सोचेको थियो र रविले जित्लान् भनेर । कसले सोच्या थियो र खाँड पक्राउ पर्लान् भनेर । 

हामी स्थापितहरू यस्तै सोच्छौँ र फ्लप हुन्छौँ । मिडिया पनि हाम्रै सोचको उपज न हो ।

अर्को सर्वेक्षणको कुरो गरौं, जुन अघिल्लो वर्ष गरिएको हो । सर्वेक्षणको विषय थियो –  एउटै कार्यक्रम टिभीमा आउँदा कोही नहेर्ने र युट्युबमा हेर्ने कारण ? 

त्यसको एउटै कारण रहेछ, विज्ञापन स्किप गर्न पाउने, तर आजकल टिभीकै कार्यक्रम पनि युट्युबमा हाल्न थालेपछि मानिस बिस्तारै यसबाट अलि टाढा भाग्न थाले ।  टिभीहरूले पनि हरेक २–३ मिनेटमा विज्ञापन दिने तर हरेक पाँच सेकेन्डमा स्किप गर्ने सुविधा दिने भए टिभीका उपभोक्ता पनि अन्य भाग्दैनन् । उनीहरूले घन्टामा ३० पटक विज्ञापन दिन पाउँछन्, कमाइ अहिलेभन्दा घट्दैन तर लोकप्रियता अझ बढ्छ । यो कुरा उनीहरूले कहिले बुझ्लान् ? कुरो बुझाउन निकै कठिन छ । 

युट्युब च्यानल सेटअप गर्दा राखिने सर्तमध्ये अमेरिकामा टेलिभिजनमा प्रसारण भएको सामग्री युट्युबमा राख्न नपाउने सर्त छ । युट्युब अमेरिकामा दर्ता भएकाले यो सर्त लागू गरिएको हो । यसै सर्तलाई मान्ने हो भने नेपालमा टेलिभिजनमा प्रसारण भएका सामग्री युट्युमा राख्ने होइन ।

सामान्यतया एउटा मिडियामा प्रकाशित वा प्रसारित सामग्री अर्को मिडियामा राखिनुहुन्न । राख्नै परे उपयुक्त क्रेडिट दिनुपर्दछ, तर यहाँ एकैपटक टेलिभिजन र युट्युबमा सामग्री राखिन्छ, अझ प्रत्यक्ष प्रसारण नै गरिन्छ । न यसलाई मिडियाका सम्पादकहरूले नियमन गर्न सकेका छन्, न त नियामक निकायले नै । युट्युबे उपनाम पाउनेमध्ये कतिपयलाई मिडियाको इथिक्स पनि थाहा छैन । त्यसैले कपोलकल्पित र निजी मामिलाहरू बाहिर पोख्छन् र टीआरपी बढाउँछन् । एक किसिमले सामाजिक सञ्जालहरू साँढेका रूपमा परिचित छन् । यी साँढेहरूलाई सिक्री लगाउन सरकारको बुताले भ्याउँदैन । मुख्य कारण हो कानुनको कार्यान्वयनमा माथिबाट हुने बेवास्ता । हाम्रोमा कानुन सर्वसाधारणका लागि मात्र लागू हुन्छ, ठूलालाई लागू भए पनि निश्चित स्वास्र्थ पूरा गर्न मात्र लागू गरिन्छ । 

सबैभन्दा कठिन कर्मचारीलाई कुरा बुझाउन आवश्यक छ । उनीहरू सधैँ कानुनको मात्र कुरा गर्छन्, लागू गर्ने कुरा गौण राख्छन् । तिनै कर्मचारी निवृत्त भएपछि गैरसरकारी सेवा क्षेत्रमा आउँछन् । त्यसैले गर्दा गैरसरकारी सेवा प्रदायक क्षेत्र पनि सरकारीजस्तै सुस्त छ । 

नेताहरू सधैँ जनतालाई झुक्याउँछन् । उनीहरूलाई यिनीहरूको पनि विवेक छ भन्ने बिर्सन्छन् । अझ पावरमा पुगेपछि त उनीहरूको ओभार नाइट बानीमा सुधार आउँछ । हिजो टाढैबाट नमस्कार गर्नेहरू अँगालो मार्न सिक्छन् । हिजो चप्पल लगाउनेहरू आज जुत्ता खोल्ने खेतालो खोज्छन् । हिजो चन्दा उठाएर खानेहरू अहिले पार्टीका प्रमुख हुँदा जनताले आफूलाई हेर्छ वा देख्छ भन्ने बिर्सन्छन् । 

हिजो आमसञ्चार कमजोर भएका बेला मानिसलाई थाहा थिएन । सरकारले ढाँटेको दशकौँसम्म थाहा हुँदैनथ्यो । तर अहिले प्रविधिले मानिसको गोपनीयतालाई कमजोर पारिदिएको छ । सामाजिक सञ्जाललाई पुराना कानुनका सीमाले रोक्न सकेका छैनन् । उत्तर कोरियामा अझै पनि यस्तै छ भनिन्छ, तर अब खुलापन भोगेकाहरूलाई ढाँट्न सजिलो छैन । 

पारदर्शी नहुने प्रवृत्ति लामो समयसम्म टिक्दैन । कुनै पहाडको टाकुरामा रहेको पुख्र्यौली जमिन बेचेर काठमाडौंमा घर बनाएका कथा, सेयर बजारबाट अप्रत्याशित रूपमा कमाएका कथा, पटकपटक विदेश गएर कमाएका कथा । यस्ता यावत् कथाहरूमाथि एक दिन पक्कै छानबिन हुन्छ । त्यतिबेला लाउडादेखि लडाकु समायोजन हुँदै बालुवाटार हुँदै नक्कली शरणार्थी काण्डमा भएका ठगी बाहिरिन्छन् । त्यतिबेला देशको ठूलो जत्था विदेशमा शरणार्थी भिजाको लाइनमा बस्छ भने अहिले उतै पीडित र पीडक बनेर नक्कली माध्यमबाट ग्रिनकार्ड हुँदै नागरिकतामा प्रवेश गरेका र दोहोरो नागरिकता र राहदानी बोके पनि तिमीहरूले के गर्छौ भनेर च्यालेन्ज गर्नेहरू लामो समयसम्म टिक्दैनन् । अर्कोको जुम्रा देख्नेहरूलाई जनताले भैँसी देख्ने बनाउलान् जस्तै देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप