सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारका नाममा ठगी धन्दा मौलाउँदै

बुधबार, ०३ जेठ २०८०, १५ : २८
बुधबार, ०३ जेठ २०८०

दाङ । गरिबीले थिचेपछि घरधन्दा चलाउन, छोराछोरीलाई राम्रो शिक्षा दिने सपना बुुनेर घोराही उपमहानगरपालिका–१२ का हरिबहादुर घर्ती विदेशिने सोचमा पुगे । गाउँमा ऋण काढेर विदेश जाने पैसा पनि जोरजाम गरे । गाउँघरकै चिनजानको व्यक्तिमार्फत उनी विदेश पठाउने एजेण्टको सम्पर्कमा पुगे । एजेण्टले उनलाई दुबईका लागि कामदारको माग आएको भन्दै दुबई जाने सल्लाह दियो । त्यही सल्लाह अनुुरुप उनले २ लाख २० हजार रुपैयाँ एजेण्टलाई बुझाए । एजेण्टले घर्तीलाई गत मंसिरमा दुुबई समेत पठायो । तर दुबईमा उनले एजेण्टले भनेअनुसार काम पाएनन् ।

केही दिन उनी उतै भोकभोकै बसे । घर बनाउने कामका लागि गएका उनी मेनपावर सप्लायर्स कम्पनीमा पुगे । कम्पनीले उनलाई काम दिनु त परै जावस् पासपोर्ट समेत जफत गरेर राख्यो । आफू पैसा कमाउने सपनामा ऋण काढेर दुबई पुगेको तर काम पाउन नसकेपछि ऋण काढेरै फर्किनु परेको उनको भनाइ छ । सामान्य लेखपढ मात्रै गरेका घर्तीलाई एजेण्टले घर बनाउने काम भनि कामदार सप्लायर्स कम्पनीमा पठाएको रहेछ । उक्त कम्पनीले महिना दिनसम्म पनि काम नदिई, पासपोर्ट समेत जफत गरी बन्द कोठामा भोकैप्यासै राखेको घर्तीले सुनाए । उनले भने, ‘अहिले दलालले न पैसा दिन्छ, न सम्पर्कमा छ ।’

त्यस्तै दंगीशरण गाउँपालिका–५ का विकास गौतम पनि न्युजिल्याण्ड जाने निधो गरी केही समयअघि चिनाजानको व्यक्तिमार्फत एजेन्टको सम्पर्कमा पुगे । एजेन्टले उनलाई न्युजिल्याण्ड लैजाने भनेर माल्दिभ्ससम्म पठायो । जसका लागि उनले ५ लाख ८० हजार रुपैयाँसमेत एजेन्टलाई दिए । एजेन्टले न्युजिल्याण्ड भनेर माल्दिभ्ससम्मको पर्यटक भिसा दिलाएको गौतमलाई पत्तै थिएन । उनी न्युजिल्याण्ड नगई माल्दिभ्सबाटै फर्किए । विदेश जानका लागि लिएको ऋण तिर्न अहिले उनले कुखुरा पालन सुरु गरेका छन् । तर न्युजिल्याण्ड पठाइदिने भनेको एजेन्ट न उनको सम्पर्कमा छ, न उनले रकम फिर्ता पाएका छन् । न्यायका लागि उनले सामी कार्यक्रम घोराही शाखामा उजुरी दिएका छन् ।

वैदेशिक रोजगारमा ठगिएका यी दुई जना प्रतिनिधिमूलक पात्रमात्रै हुन् । यस वर्षमात्रै दाङमा वैदेशिक रोजगारका नाममा ठगिएका १२५ जना पीडितले न्यायका लागि कानुनी रुपमै निवेदन दिएका छन् । वैदेशिक रोजगारीका नाममा ठगीमा पर्दा पीडितहरुले ऋणमाथि ऋणको भारी बोक्नु परिरहेको तुुलसीपुर उपमहानगरपालिका वडा नं. ११ पीडित सीता केसी बताउँछिन् । उनले भनिन्, ‘हामीलाई को कस्तो छ भन्ने के थाहा ? मेनपावर कम्पनी खोलेर बसेका हुन्छन्, उनीहरुले कहाँ कसरी पठाउँछन् भन्ने जानकारी हामीलाई हुँदैन । पैसा माग्छन्, लैजान्छन् अनि अलपत्र पार्छन् ।’

केसीले पनि छोरालाई वैदेशिक रोजगारका लागि पठाउन खोज्दा चिनजानकै व्यक्तिले रकम असुल गरी फरार भएको सुनाइन् ।

सामी कार्यक्रम दाङका अनुुसार दाङमा विभिन्न नामका मेनपावर कम्पनीका बोर्ड देखिए पनि अधिकांश दर्ता इजाजत बिना नै सञ्चालन भइरहेको छ । जसले गर्दा वैदेशिक रोजगारमा जान चाहने श्रमिक ठगीमा पर्ने गरेको बताइन्छ । वैदेशिक रोजगारीमा जान चाहनेको लर्को लागेको मौका छापेर त्यस्ता कम्पनीले व्यक्तिमार्फत काम गर्ने, रकम लिने, भिसा र अन्य आवश्यक कागजात नदेखाइ सिधै विदेश पठाउने गर्दा पीडितहरु ठगीमा पर्ने गरेको सामी कार्यक्रम घोराहीका सूचना अधिकारी तथा परामर्शकर्ता रिता लामाको भनाइ छ ।

अवैध रुपमा चलेका मेनपावर कम्पनीको नियन्त्रण तथा नियमन नहुँदा हरेकजसो घरमा पीडितहरु रहेको उनले बताइन् । उनले भनिन्, ‘कानुनी उपचारका लागि पीडितहरुसँग प्रमाण पुग्दैन, पीडक भेटिँदैन । पैसा लिने, दिने व्यक्ति फरक हुन्छन् । जसका कारण पीडितले न्याय पाउँदैनन् ।’

कानुनमा ईजाजत बिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, वैदेशिक रोजगारमा पठाउँछु भनि झुठो आश्वासन दिएमा वा प्रलोभन देखाई रकम असुली गरेमा ३ देखि ७ वर्षसम्म कैद सजाय र ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । वैदेशिक रोजगार गइ अलपत्र परेमा पीडितसँग लिएको रकमको ५० प्रतिशत हर्जानासहित विदेश जाँदा आउँदासम्मको खर्चसमेत सम्बन्धित व्यक्तिले दिनुपर्ने कानुनी व्यवस्था छ । तर अधिकांश पीडितहरुले उक्त कानुनी व्यवस्था अनुरुप न्याय पाउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप