शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युवाका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न सक्दैन : मुख्यमन्त्री लामा

आइतबार, २८ वैशाख २०८२, १३ : ३०
आइतबार, २८ वैशाख २०८२

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले युवाहरूका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न नसक्ने बताएका छन् । शासकीय संरचनामा युवाहरू उपस्थित अनिवार्य गर्नुपर्ने उनले बताएका छन् ।

आइतबारबाट हेटौँडामा सुरु भएको प्रदेश युवा सम्मेलन २०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री लामाले देश निर्माण तथा सङ्घीय संरचना संस्थागत गर्न युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले देश विकाससँगै सुशासनका लागि नीति निर्माण तहमा युवाहरूको उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिए ।

‘देश विकासको नीति निर्माण र नेतृत्व तहमा युवाहरूको उपस्थिति कति छ ? भन्ने प्रश्न मुख्य सवाल हो । जबसम्म नीति निर्माण र नेतृत्व तहमा युवाको बलियो उपस्थिति रहँदैन तबसम्म देशको विकासले सही गति लिन सकिँदैन । नीति निर्माण तहमा युवाको सहभागिता र संलग्नता गौण छ । नेतृत्व तहमा युवाहरू पुग्न कठिन भइरहेको देखिन्छ ।’ उनले भने ।

प्रदेशको समग्र विकासमा युवा शक्तिको सहभागिता, संलग्नता, सहकार्य र साझेदारी अपरिहार्य रहेको उनले औँल्याए । प्रदेश सरकारले आगामी वर्षको बजेट र कार्यक्रमले युवाहरूको सहभागिता, सशक्तिकरण र साझेदारीलाई प्राथमिकतामा राख्ने उनले बताए । युवालाई रोजगारी र उत्पादनसँग आबद्ध गर्नु र युवा पलायन रोक्नु गम्भीर चुनौती बनेको उनले बताए । कृषि क्षेत्रमा युवा शक्तिलाई आकर्षित गर्न सिप विकास तालिम, बिउ पुँजी, प्रविधि हस्तान्तरण र व्याज अनुदान दिने कार्यक्रमहरू सञ्चालन भइरहेको उनले बताए ।

राम्रो शिक्षाको नाममा युवा विद्यार्थीहरू बिदेसिने ट्रेन्ड अझ डरलाग्दो देखिएको उनको भनाई छ । उनका अनुसार पढाइको नाममा बिदेसिनुको मुख्य उद्देश्य नै उच्च शिक्षा लगत्तै रोजगारीको ग्यारेन्टी हो । युवाहरूको उक्त सवाललाई प्रदेश सरकारले गम्भीरता पूर्वक लिएको उनले बताए । प्रदेशका युवाहरू सूचना प्रविधि (आइटी) क्षेत्रमा सक्रिय रहेको र सूचना प्रविधिलाई युवाको रोजगारी र उद्यमशीलतासँग गाँस्ने रणनीति अवलम्बन गरेको उनले बताए ।

उनका अनुसार युवा मैत्री नीति नियम र कार्यक्रमका विषयमा सरकार तत्पर रहेको छ । युवाहरूको आवश्यकता र मागका विषयमा सरकार बजेट निर्माणमा अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पाैडेलले युवाको परिभाषा उमेरले नभई सक्रियता र गतिशीलताका आधारमा निर्धारण हुने बताए । युवाहरूमा रचनात्मक र सकारात्मक सोच हुन जरुरी रहेको उनले बताए । मुलुक परिवर्तनमा युवाहरूमा सोच र सकारात्मकताका साथ स्रोत साधनको प्रयोग गर्न सामर्थ्य हुनुपर्ने बताए । नेपाललाई कङ्गाल बनाउने गरी बिचौलियाहरू सक्रिय भएको उनको भनाई छ ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ । युवाहरूका विषयहरूलाई सिप र खेलकुदमा जोडेर अघि बढाउनुपर्ने बताए । पछिल्लो पटक विभिन्न दुर्व्यसनका कारण युवाहरूको अवस्था नेपालमा कमजोर बनिरहेको उनले बताए । युवाहरूको समस्या निराकरणका लागि युवाहरूलाई खेलकुद क्षेत्रका गतिविधिमा संलग्न गराउन योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिए । युवाका मर्म र भावना अनुकूल बजेट तयार गरी सीप र स्वरोजगारका कार्यक्रम मार्फत युवा पलायन रोक्नुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप