बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश

आइतबार, २८ वैशाख २०८२, १४ : ५२
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । डीएभी सुशिल केडिया विश्व भारती स्कुल ‘जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ । आइतबार खेलिएको पहिलो सेमिफाइनल खेलमा सैनिक आवासीय महाविद्यालयलाई ६ विकेटले हराउँदै डीएभी सुशिल केडिया फाइनलमा प्रवेश गरेको हो । 

काठमाडौँस्थित तल्लो मुलपानी क्रिकेट रङ्गशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सैनिक महाविद्यालयले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९२ रन बनाएको थियो । 

जवाफी ब्याटिङ गरेको डीएभी सुशिल केडियाले भने १५.५ ओभरमै चार विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो । सैनिक महाविद्यालय प्रतियोगिताको साविक विजेता टोली हो । पहिले ब्याटिङ गरेको सैनिक आवासीय महाविद्यालयका लागि ओपनर गौरव कार्कीले सर्वाधिक ३० रन बनाए । उनले ५३ बलमा एक चौका पनि प्रहार गरे । 

रिसु शाहले १४ रन बनाए । ओपनर राजदीप आचार्य र सुशान्त नेपालले ११–११ रन जोडे । सैनिक महाविद्यालयका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सैनिक महाविद्यालयले अतिरिक्त रुपमा पनि ११ रन पायो ।

डीएभी सुशिल केडियाका बलर कमल शाहीले तीन विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । प्रसिद्ध जैसी, केशव अग्रवाल र प्रसङ्ग पौडेलले पनि एक–एक विकेट हात पारे । 

जवाफी ब्याटिङ गरेको डीएभी सुशिल केडियाका लागि ओपनर प्रसिद्ध जैसीले अर्धशतकीय पाली खेले । टोलीको कप्तानसमेत रहेका उनले अविजित ५३ रन बनाए । यस क्रममा उनले केवल ३८ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काए ।

कमल शाहीले पनि अविजित १७ रन बनाए । सत्यम बस्नेतले टोलीको खातामा ११ रन थपे । सैनिक महाविद्यालयका बलर सफल पौडेल, समिर केसी, उत्सव नेपाल र शुभ बिष्टले एक–एक विकेट लिए । विजयी टोलीका प्रसिद्ध जैसी प्लेयर अफ दि म्याच घोषित भए ।

काठमाडौँ जिल्ला क्रिकेट सङ्घद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट सङ्घले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । 

प्रतियोगिताको दोस्रो संस्करणको फाइनल खेल सोमबार खेलिने छ । यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ । 

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिने आयोजक सङ्घले जनाएको छ । 

अघिल्लो संस्करणको फाइनलमा सैनिक आवासीय महाविद्यालयले मोक्षदा स्कुललाई हराएको थियो । यसपटक टोलीको संख्यामा पनि थप गरिएको छ । पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए । यसपटक भने २१ वटा स्कुलको सहभागिता रहेको छ । 

प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । 

सर्वोत्कृष्ट बलर, सर्वोत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप