ध्यानु र सोवर्णी गाईका स्वभावले मलाई मानिसको प्रवृत्ति बुझ्न प्रेरित गरे

म सानो छँदा, हाम्रो घरमा दुई गाई थिए— ध्यानु र सोवर्णी । ध्यानु एक अनुशासित, शान्त, विनम्र, सन्तोषी र आफ्नो सीमामा सीमित रहने थिइन् भने सोवर्णी तगडी, चञ्चल, अटेर, हठी, अरूको सम्पत्ति या खेतबारीमा आँखा लगाउने या चरिहाल्ने अठोटसहितकी गाई थिइन् । उनीहरूको स्वभाव सम्झँदा म आजको समाजका मानिसको प्रवृत्ति तथा शासकीय चरित्र बारेमा सोच्न प्रेरित हुन्छु ।
शिक्षा, नीति र सामाजिक संस्थाहरूले यस्ता प्रवृत्तिहरूको सन्तुलन गर्न कस्तो भूमिका खेल्न सक्छन् भन्ने प्रश्न आज पनि मसँग बाँकी नै छ । यस लेखमार्फत मैले ती गाईका स्वभाव र आजको समाजको प्रवृत्तिलाई जोडेर हेरेको छु । हामी ध्यानुजस्तो जीवन जिउन्छौँ, जहाँ सत्य, नैतिकता र इमानदारी प्रधान हुन्छ वा सोवर्णीजस्तै स्वार्थ र अवसरवादका पछाडि दौडिरहेका छौँ ?
ध्यानु र सोवर्णीको परिचय
बाल्यकालको सम्झना सधैँ मिठो हुन्छ । खास गरेर ती सम्झना जुन पशुपन्छी, खेतबारी र गाउँको जीवनसँग जोडिन्छन्, तिनीहरू केवल स्मृति मात्रै होइन जीवन दर्शन सिकाउने स्रोत पनि हुन्छन् । मेरो परिवारमा पालिएका गाईहरू, विशेष गरेर ध्यानु र सोवर्णी, मेरो बाल्यकालका स्थायी पात्र हुन् । यी दुई गाईहरूको जीवनशैली र स्वभावले मलाई जीवनका गहिरा पाठ सिकाएका छन् ।
ध्यानु र सोवर्णीका बिचको भिन्नता आजको समाजका सबै पहलुहरूको एक जीवित प्रतिविम्बजस्तै लाग्छ । जहाँ ध्यानु गाई एक शान्ति र नियममा आधारित जीवनका प्रतीक हुन्, त्यही सोवर्णी गाई असंयम, अवसरवाद र स्वार्थका प्रतीक । यी दुई गाईहरूको भिन्न व्यवहार, आचरण र अवस्था समाजमा व्याप्त विरोधाभासहरूको उत्कृष्ट चित्रण प्रस्तुत गर्छ ।
नामको सांस्कृतिक संकेत
ध्यानु, जसको नाम ‘ध्यान’बाट आएको हो, जो एक गहिरो सोच र आत्मनियन्त्रणको प्रतीक थिइन् । ध्यानु गाईको स्वभाव नै ध्यानशील, सीमित, अव्यवधानपूर्ण थियो । सोच्न सकिन्छ, यो नाम प्राकृतिक रूपमा उनको भित्रको सौम्यता, नम्रता र आफ्नो सीमामा बस्ने चेतनासँग मेल खान्छ । ध्यानु शान्त, धैर्यशील र सहनशील जहाँ छाड्यो त्यहीँ चरिरहने आफ्नो ठाउँमा चुपचाप, सौम्य, अनुशासित र भलादमी स्वभावकी थिइन् । दुब्ली थिइन तर सौम्य र स्वाभिमानी । उनले आफ्नो सीमितता पहिचान गरिन् र त्यसमा खुसी र सन्तुष्टि पाउन र आफ्नो जिम्मेवारी निभाउन विश्वास राखिन् । उनका स्वभावमा कुनै तात्त्विक विरोधाभास थिएन । उनले कुनै विवादमा नलागेर, जीवनका कठिन परिस्थितिलाई पनि शान्त मनले सामना गरिन् ।
सोवर्णीको नाम भने ‘सोना’ वा ‘सुवर्ण’को प्रतीक हो, जसका कारण उनको चरित्रले पनि बाह्य ऐश्वर्य र अपार आत्मविश्वासको झल्को दिन्थ्यो । सोवर्णी गाई जति शारीरिक रूपमा ठुली, मोटी र शक्तिसम्पन्न थिइन्, त्यस्तै घमण्ड र अटेर प्रवृत्ति उनको व्यवहारमार्फत प्रकट हुन्थ्यो । जब उनलाई आफ्नो मनपर्ने स्थानको घाँस भेटिन्थ्यो, उनलाई कुनै पनि प्रतिबन्धले रोक्न सक्दैनथ्यो । उनको यस्तो हठीपन र आक्रामक स्वभावले, जीवनका कठोर पाठहरू सिकाउँछ ।
जहाँ राम्रो घाँस देख्यो, चाहे त्यो वन होस् वा कसैको खेतबारीसम्म पसी चरिहाल्ने । धनियाले लखेटे पनि त्यसै ठाउँमै चर्न जिद्दी गर्ने। धेरैपटक खेती नोक्सान गरिन्, अटेर गर्दा लाठी पनि खाइन् । म आफैँले पनि एक–दुईपटक उनलाई लाठी प्रहार गरेको सम्झना छ । जुन अहिले मलाई आफ्नो तत्कालीन आफ्नो ज्ञानको सीमितताप्रति ग्लानि छ । तर उनको मोटोपन, हठ, दुस्साहस सबै मिलेर एउटा ‘शक्तिशाली’ छविको निर्माण गर्थे । नामले उनलाई गौरवशाली देखाए पनि चरित्रमा लोलुपता थियो । आजका समाजमा पनि यस्तो नाम र छविका धेरै पात्रहरू छन्— बाहिर चम्किला, भित्र अस्थिर ।
सोवर्णीको नाम भने ‘सोना’ वा ‘सुवर्ण’को प्रतीक हो, जसका कारण उनको चरित्रले पनि बाह्य ऐश्वर्य र अपार आत्मविश्वासको झल्को दिन्थ्यो । सोवर्णी गाई जति शारीरिक रूपमा ठुली, मोटी र शक्तिसम्पन्न थिइन्, त्यस्तै घमण्ड र अटेर प्रवृत्ति उनको व्यवहारमार्फत प्रकट हुन्थ्यो ।
स्वभाव र आचरणको द्वन्द्व
ध्यानु गाईले आफ्नो जीवनमा स्वाभिमान, अनुशासन र शान्तिपूर्वक अस्तित्व जिउन सन्देश दिएको छ । उनले कुनै दिन अरूको घाँसमा सामेल हुने, या अन्यत्रको भूमि ओगट्ने प्रयास कहिल्यै गरिनन् । उनले सधैँ आफ्नै ठाउँमा, आफ्नो सीमामा बसेर दिन बिताइन् । त्यसैले उनी दुब्ली थिइन् तर सज्जन थिइन् । त्यस्तै, सोवर्णी गाई, जो सधैँ नयाँ स्थानको खोजीमा रहन्थिन्, अरूका खेतमा घुस्न र अतिक्रमण गर्न उनी जुनसुकै स्थितिमा सक्षम थिइन् ।
यस द्वन्द्वले हामीलाई सोध्न बाध्य पार्छ, समाजमा हामी कुन प्रकारका पात्रका रूपमा प्रस्तुत हुन्छौँ ? हामी ध्यानुजस्तो जीवन जिउन्छौँ कि सोवर्णीजस्तै ?
सामाजिक विमर्श
ध्यानु र सोवर्णीका छविहरू समाजमा हामीले देखेका असमानतासँग जोडिएका छन् । ध्यानु गाईजस्तो व्यक्तित्व समाजमा प्रायः ओझेलमा रहन्छ । यस्ता व्यक्तिहरू शान्त, इमानदार र सन्तुलित जीवन जिउन चाहन्छन्, तर अवसरको अभाव र बाह्य दबाबका कारण उनीहरूलाई सम्मान र स्थान दिनुपर्छ ।
सोवर्णी गाईजस्ता पात्रहरू समाजमा प्रायः प्रभावशाली र प्रसिद्ध हुन्छन् । उनीहरूले आफ्नो स्वार्थका लागि अरूको सम्पत्ति कब्जा गर्न खोज्छन् । यस्ता व्यक्तिहरू जहाँ बाहिर मात्र सजिएका र सुखी देखिन्छन्, तर भित्र वेखापरवाह र भ्रष्ट हुन्छन् । यी गाईहरूको जीवन प्रकट गर्छ कि समाजमा कहिलेकाहीँ बाह्य रूपका साथ आन्तरिक अर्थपूर्ण र अवसरवादको प्रभाव परिन्छ ।
समाजमा आज पनि यस्ता दुई ध्रुव छन्— एक समूहले नियमपालना गर्छ, अर्काले उल्लङ्घन गर्छ । ध्यानु समाजका त्यस्ता व्यक्तिहरूको प्रतिनिधि हुन् जो आफ्नो सानो दायराभित्र बसेर इमानदारीपूर्वक जीवन जिउँछन् । कहिले पनि विवादमा गर्दिनन्, परका कुरा नछोएर आफ्नो कर्तव्यमा टिकिरहन्छन् । उनीहरूको जीवन सजिलो छैन— स्रोतको अभाव, अवसरको सीमितता— तर ‘इज्जत कायम’ भएका या राखेका ।
राजनीति र शासन व्यवस्था
ध्यानुजस्ता व्यक्तिहरू शासनमा महत्त्वपूर्ण भूमिका निभाउने अवसर कहिल्यै पाउँदैनन् न त तिनको आवाज सुन्ने धेरै छन् । यिनीहरूको आवाज ओझेलमा पर्छ । भने सोवर्णी जस्ता गाईहरू राजनीतिक क्रियाकलाप र नेतृत्वमा अत्यधिक प्रभावशाली हुन्छन् । यिनीहरू बाहिर भ्रष्टाचारविरोधी भाषण गर्छन्, तर पिठपछाडि नैतिकता र नैतिकताबाट हटी आफ्नै स्वार्थपूर्ति गर्छन् । यसरी नै बाहिर भ्रष्टाचारविरुद्ध बोले पनि भित्र स्रोत दोहन गर्न पछि नपर्ने ‘सोवर्णी प्रवृत्ति’ मौलाउँदो छ ।
यी दुई भिन्न प्रकृतिका गाई पात्र स्मृतिमा जमेजस्तै राजनीतिक नेतृत्वका निम्न केही प्रतिनिधिमूलक अभिव्यक्ति (जस्तो: ‘मुख कुल्ला गर्नु’, ‘नाटकै हो नौटंकी नै हो’, ‘सरकार मर्यो हामीलाई जुठो पर्यो’ आदि)ले हामी सभ्यतालाई कता धकेलिरहेछौँ भन्ने विषयले चिन्तित पनि गरायो । अति नै भएर होला सायद आलोचनात्मक जन (क्रिटिकल मास)को प्रतिनिधित्व गर्दै मेरो मनमा पनि धेरै पहिलेदेखि बिझेको विषय काठमाडौँ विश्वविद्यालयका प्रा.डा. बालचन्द्र लुइटेलले सामाजिक सञ्जालमा ‘विद्यालय तहमा ‘गाली’ गर्ने विधिबारे पाठ्यक्रम बनाऔँ, गालीका प्रकार पढाऔँ, नेपाललाई गाली निर्यात गर्ने देश बनाऔँ, गाली निर्यातबाट ८० प्रतिशत राजस्व उठाउने देश बनाऔँ भनी मार्मिक र दरो व्यङ्ग्य कस्नुभएको थियो ।
यसले हामीलाई प्रश्न सोध्न बाध्य पार्दछ, शासकीय प्रक्रिया र राजनीति साँचो नैतिकता र इमानदारीलाई कसरी अँगाल्न सक्छ ? शासन व्यवस्थामा ध्यानुजस्तो प्रभावशाली नैतिकताका प्रतिनिधि कस्तो स्थानमा छन्, भ्रष्टाचार र अवसरवादको प्रवृत्ति नियन्त्रण गर्न के कदम चाल्न सकिन्छ ?
शिक्षा र पाठ्यक्रमको जिम्मेवारी
ध्यानु र सोवर्णीजस्ता पात्रहरूको कथा विद्यालय पाठ्यक्रममा समावेश गर्दा, विद्यार्थीले मानव स्वभाव र आचार्यताको गहिरो बुझाइ प्राप्त गर्न सक्छन् । शिक्षा मात्र जानकारीको आदानप्रदान होइन, यो मानव मूल्य र सामाजिक व्यवहारको एक शक्तिशाली मार्गदर्शन हो । ध्यानुजस्ता सौम्य, विवेकी, सन्तुलित व्यक्तित्वलाई सम्मान र आदर्शका रूपमा प्रस्तुत गर्न शिक्षाले ठुलो भूमिका खेल्न सक्छ । शिक्षा नीति पनि यस्तै कथाबाट प्रेरित भई पाठ्यक्रम बनोस्— जहाँ विद्यार्थीले नैतिकता, सामाजिक उत्तरदायित्व, सहअस्तित्व र विवेक आधारित शिक्षा विद्यालयहरू ‘सोवर्णी’ प्रवृत्तिका सफल तस्बिरहरू’ देखाएर प्रेरणा दिन छाडी रचनात्मक र आलोचनात्मक चेतनालाई प्रवर्धन गर्न मद्दत पुग्नेतर्फ मुखरित हुनुपर्छ ।
दुवै गाईको मृत्यु
ध्यानु गाईको मृत्युले एक गहिरो जीवनदर्शनको सन्देश दिन्छ । उनले आफ्नो जीवनको अन्तिम क्षणसम्म आफूलाई संकुचनमा राखिन् । उनको मृत्युपछि गाउँभरि शान्तिको वातावरण थियो, जसले हामीलाई के सिकाउँछ ? जीवनका प्रत्येक क्षणमा इज्जत र सन्तुलित जीवनलाई स्विकार्नु नै साँचो सफलता हो ।
सोवर्णी, उमेर ढल्कँदा पनि आफ्नै हठी शैली र अटेरपन छुटेन । एक दिन फेरि अर्काको बारीमा छिर्दै पाखाको ढुंगे बाटोमा चिप्लिएर उनले मृत्युवरण गरिन् । सोवर्णी गाईको मृत्यु भने एक उदाहरण हो, जसले हामीलाई सम्झाउँछ कि आत्मकेन्द्रित हठीपन र अवसरवादको अन्त्य दुःखद र अप्रत्याशित हुन सक्छ ।
पाठ : मानव मूल्य र समाजको दिशा
ध्यानु र सोवर्णीको कथा केवल गाईहरूको कथा होइन । यो हामी सबैको कथा हो । यो हाम्रो समाज र जीवनका विरोधाभासहरूको बिम्ब हो । हामी ध्यानु र सोवर्णीबाट सन्देश लिन सक्छौँ कि जीवनको उद्देश्य केवल बाह्य ऐश्वर्यमा होइन, आन्तरिक शान्ति र नैतिकताको पालनमा छ जहाँ विवेक, आलोचना, आत्मसमीक्षा र सहकार्य हुन्छ । यसले हामीलाई हाम्रो जीवनमा अधिक संयम र आत्मनिर्भरता प्राप्त गर्न प्रेरित गर्दछ ।
ध्यानु र सोवर्णीको जीवनले हामीलाई निम्न शिक्षा दिन्छन् :
– सादा जीवन, शान्त स्वभाव र आफ्नो जिम्मेवारीमा टिक्न सक्ने मानिस नै दीर्घकालीन सम्मान पाउँछन् ।
– बाहिरी ऐश्वर्य, हठीपन र आत्मकेन्द्रित लोलुपताले अन्ततः पतनतर्फ लान्छ ।
– शासन, राजनीति र शिक्षा प्रणालीले समाजलाई ध्यानुजस्तो मूल्यतर्फ डोर्याउनुपर्छ, सोवर्णीजस्तो आडम्बर र घमण्ड होइन ।
ध्यानु र सोवर्णी अब छैनन्, तर तिनको जीवन आजसम्मको समाज, राजनीति र शिक्षामा प्रतिविम्बित छ । ती बाहिर चम्किला थिएनन्, तर ती समाजको आन्तरिक चेतनाका स्तम्भ थिए— जुन गुमेपछि मात्रै समाजले महसुस गर्छ कि मौनता पनि एक आवाज हो । सायद म बाल्यकालमा गाई चरेको त्यो खुला डाँडोमै होइन, यिनै पात्रहरूबाट अहिलेको समाज पढ्दै थिएँ— शब्दविना शिक्षाले मलाई यति धेरै कुरा सिकाएको रहेछ भन्ने आज बुझ्दै छु ।
(दुल्लभ मावि, रेडन कलेजका पूर्वप्राचार्य, नेल्टाका पूर्वअध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
-
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा
-
विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ?
-
निरन्तर घट्दै निक्षेपको ब्याजदर, कुन खातामा कति पाइन्छ ?
-
इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्दै हमास
-
उपाधि डीएभी सुशील केडियाको पोल्टामा, फाइनलमा गेटवेलाई हरायो