सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

कोशी प्रदेशमा अचाक्ली खरिद मोह

सवारी साधनमा अत्यधिक खर्च, नियम विपरीत २४ करोड ५७ लाख बराबरको सामान खरिद
शुक्रबार, ०५ जेठ २०८०, ११ : ३२
शुक्रबार, ०५ जेठ २०८०

विराटनगर । कोशी प्रदेशसभाका सांसदलाई ल्यापटप खरिद प्रकरणको तीव्र आलोचना सुरु भएपछि दलहरू हच्किएका छन् । प्रदेश सरकारले रकमान्तर गरेरै सांसदहरुलाई ल्यापटप वितरण गर्न प्रदेशसभा सचिवालयलाई स्वीकृति दिएको थियो ।

तर, नेपाली काँग्रेस संसदीय दलको बैठकले नै यो निर्णय बदर गर्न माग गरेको छ भने सचिवालयले खरिद गरिहालेको अवस्थामा आफ्ना दलका सांसदले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि यो प्रक्रियाप्रति असहमति जाहेर गरिसकेका छन् । 

व्यक्तिगत हिसावले केही सांसदहरुले ल्यापटप नलिने बताइरहे पनि एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र जसपाका सांसदले भने यसबारे मुख खोलेका छैनन् । यद्यपि यो विषय विवादमा भने आइसकेको छ । सर्वसाधारणले सामाजिक सञ्जाल फेसबुकमा सांसदले ल्यापटप खरिद गर्नै नसक्ने भन्दै तीव्र असन्तोष प्रकट गरिरहेका छन् । 

आर्थिक संकटले देशको अर्थतन्त्र थिलथिलो भइरहेको बेला कोशी प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसदका लागि ल्यापटप खरिद गर्ने निर्णय गरेको थियो । यद्यपि प्रदेश सरकारले गरेको ल्यापटप खरिद नौलो कुरा भने होइन । 

तथ्याङ्क अनुसार प्रदेश सरकार स्थापना भएदेखि पाँचवटा आर्थिक वर्षमा सार्वजनिक खरिद नियमावली विपरीत निर्माण, मर्मत सम्भार, फर्निचर तथा औषधि उपकरण, कार्यालय सामान खरिद भन्दै २४ करोड ५७ लाख १ हजार खर्च भएको छ । नियमानुसार कार्यालयका सामानहरू कति खरिद भयो भन्ने यकिन विवरण भने प्राप्त भएको छैन । 

यद्यपि महालेखा परीक्षण कार्यालयले सार्वजनिक गरेका विगत पाँच वर्षका प्रतिवेदनमा नियम विपरीत खरिद गरेका सामानको मूल्य २४ करोड ५७ लाख १ हजार बराबरको रहेको उल्लेख छ । 

अचाक्ली खरिद मोह

विगत पाँच वर्षमा प्रदेश सरकारले सवारी साधन खरिदका लागि मात्रै १ अर्ब २७ करोड ५४ लाख ७४ हजार खर्च गरेको छ । विगत पाँच वर्षमा ती सवारी साधनको मर्मतमा २२ करोड ८६ लाख ४३ हजार सकिएको छ ।  ती सवारी साधनका लागि इन्धन खर्च मात्रै २२ करोड ९६ लाख १५ हजार बराबरको भएको छ । 

वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै नेतृत्वमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले त्यसबेला सयौं मोटरसाइकल प्रहरीलाई दिनभन्दै खरिद गरेको थियो । ती सवारी साधनको अवस्था के छ अहिलेसम्म अत्तोपत्तो छैन । महालेखाले दिएको तथ्याङ्क अनुसार प्रत्येक वर्ष सवारी साधनको मर्मत र इन्धन खर्च गुणात्मक वृद्धि भइरहेको देखिन्छ । 

Kharid Kharcha Data

आर्थिक वर्ष २०७४/०७५ मा सरकारले सार्वजनिक खरिद नियमावली विपरीत ६ करोड ५२ हजारको फर्निचर तथा कम्प्युटर लगायतका सामान सिधै खरिद गरेको थियो । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सवारी साधन मात्रै ४२ करोड ६० लाख ९३ हजारको खरिद गरेको थियो भने नियम विपरीत सिधै ८ करोड १६ लाख ८६ हजारका सामान खरिद गरेको थियो । 

आर्थिक वर्ष २०७६/०७७ मा सवारी साधन ७६ करोड ७४ लाख १ हजार खरिद गर्दा नियम विपरीत सिधै १ करोड ३९ लाख ५७ हजारका सामान खरिद गरेको महालेखाले औँल्याएको थियो । 

उक्त वर्ष पदाधिकारीको इन्धन खर्च ८१ लाख २८ हजार र कार्यालय प्रयोजनका लागि ३ करोड २५ लाख ७६ हजार खर्च भएको थियो भने सवारी साधन मर्मतका लागि ४ करोड ८८ लाख ४६ हजार खर्च भएको थियो । 

आर्थिक वर्ष ०७७/०७८ मा सवारी साधन १४ करोड ५२ लाख २६ हजारको खरिद भयो । ती सवारी साधनका लागि पदाधिकारीको इन्धन खर्च मात्रै १ करोड २३ लाख ७३ हजार र कार्यालय प्रयोजनका लागि ६ करोड ९८ लाख ६६ हजार खर्च भएको थियो । 

 ती सवारी साधन मर्मतका लागि ८ करोड १ लाख ५२ हजार खर्च भयो । जबकि नयाँ खरिद गरिएका सवारी साधनमा यति धेरै कसरी खर्च भयो भन्ने कुरा गर्भमै रहेको छ ।

 प्रत्येक वर्ष महालेखा परीक्षणको कार्यालयले औँल्याएको नियम विपरीतको खर्च उक्त वर्ष पनि कायमै रह्यो । सो वर्ष सार्वजनिक खरिद नियमावली विपरीत २ करोड ४५ लाख २५ हजारको सामान खरिद भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै आर्थिक वर्ष ०७८/०७९ मा फेरि ठुलो रकमको सवारी साधन खरिद गरियो ।  सो वर्ष २१ करोड ७५ लाख २१ हजारको सवारी साधन खरिद गरियो भने पदाधिकारीको इन्धनका लागि १ करोड ३७ लाख ८६ हजार र कार्यालय प्रयोजनका लागि ९ करोड २८ लाख ८६ हजार खर्च गरियो । सवारी मर्मत भने यो वर्ष अझै बढेर ९ करोड ९६ लाख ४५ हजार पुग्यो ।

 नियम विपरीतको खर्च अझै बढेर यो वर्ष १२ करोड ५५ लाख ३३ हजारको निर्माण, मर्मत सम्भार, फर्निचर तथा औषधि उपकरण, कार्यालय सामान खरिद गरियो । महालेखाले जनाएअनुसार अघिल्ला वर्षको तुलनामा इन्धन खर्च १३२.९४ प्रतिशत र सवारी साधन मर्मत खर्च १२४.३२ प्रतिशतले वृद्धि भइरहेको छ । 

प्रदेश संरचना बोझिलो र खर्चिलो भयो भन्नेहरूको स्वर यो तथ्याङ्क झनै मसला बन्न सक्छ । तर, प्रदेश संरचना चाहिन्छ भन्ने दलहरू र उनीहरूबाट निर्वाचित सांसद र मन्त्रीहरूले देखाएको खरिद मोह भने अझै भङ्ग हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप