सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिमा नयाँ पुस्ताले देखाउन नसकेको आँट

आइतबार, ०७ जेठ २०८०, १७ : २७
आइतबार, ०७ जेठ २०८०

हामीले पढेको र सुनेको जहानियाँ राणा शासन कहालीलाग्दो थियो । २००७ सालअघिको हाम्रा अग्रजले त्यो राणा शासन कसरी भोग्नुभयो होला भन्ने कुरा मेरो मनमा अहिले खेलिरहन्छ । स्वतन्त्र रुपमा बोल्न र पढ्न नपाएका तत्कालीन हाम्रा अग्रज नेताहरु आफ्नो जिउज्यानको प्रभाव नगरी प्रजातन्त्रलाई ध्येय बनाउनु भयो । उहाँहरु निस्वार्थ ढंगले जनताका मुक्तिका लागि योगीले खुसी खुसी समाधि लिए जस्तै गरी आफ्नो शरीर त्याग्न तयार हुँदै आन्दोलनको मोर्चाहरु निर्माणमा लाग्नु भयो । 

प्रजातन्त्र प्राप्ति गन्तव्य बनाउनु भएका नेताहले जहानियाँ राणा शासनलाई मेटाएर प्रजातन्त्र प्राप्तको लक्ष्य पनि भेटाउनु भयो । जसका कारण आज हामी यसरी लेख्न पाएका छौं । हिजो राणाहरूको त्यो कठोर शासनमा हाम्रो अग्रजहरुले नबोल भन्दा बोले, नलेख भन्दा लेखे । वीपी कोइरालासहित अन्य युवाहरुले हिम्मत, आँट, साहस देखाएको कारण राणा शासनबाट मुक्त हुन पायौँ । 

राणा शासनपछि  राजाहरूले प्रजातन्त्र खोसेर देखाएको एकाधिकारवादी शासन जनतालाई पाच्य भएन । पुनः नेताहरुले आँट गरे । नेपाली काँग्रेसका नेताहरु कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रदीप गिरी लगायतका नेता अन्दोलनको मोर्चा बनाउन मैदानमा ओर्लिए । 

यता नेपाल कम्युनिष्ट पार्टीका नेताहरु मनमोहन अधिकारी, मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओलीलगायत नेता प्रजातन्त्रका लागि जेल बस्न तयार भए । तत्कालीन नेताहरुले परिवर्तनका लागि शंखघोष गरेपछि पञ्चायती शासन पाखा लाग्ने अवस्था बन्यो । 

यसरी पुराना नेताको अनुभव र युवा नेताको साहस सामु राजाको राज्य शक्ति घुँडा टेक्यो । तर आजका युवामा देशको नभई व्यक्तिगत भविष्यको चिन्ता बढ्ता देखिन्छ । सरल तवरले शक्ति प्राप्तिको मोहमा उनीहरु लठ्ठिएको अवस्था छ । राणा शासन होस् वा पञ्चायत ढल्नुमा तत्कालीन युवा नेताहको जवरजस्त भूमिका थियो । तर आजको धेरै युवा नेताको पछि देखिन तँछाड र मछाड गरिरहेका छन् ।

अघिल्लो पुस्ताले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको लागि सडकमा निस्केर आन्दोलन गरेजस्तै आजको पुस्ताले के का लागि लड्ने, नयाँ सपना देख्न सकिरहेको छैनन् । हिजो नेताहरुले देखाएजस्तो जुझारुपन आजको युवामा धेरै कमी भएको छ ।

आजको युवाहरु पहिला आफ्नो जीवन सुरक्षाको खोजीमा हुन्छन्, त्यसपछि सरल तवरले राजनीतिक शक्तिमा रहने ईच्छा बढी छ । देशका लागि केही गर्ने हुटहुटी नै देखिँदैन । हिजो नेताहरुले शासन पद्धतिका लागि दुःख गर्नु भयो भने आज हामी के लागि गर्ने ? प्रश्न आफैलाई सोध्नुपर्ने देख्छु ।

युवाहरुले पुराना नेताहरुसामु राजनीतिक रूपमा देश चलाउने क्षमता देखाउन नसकेको भन्ने लाग्छ । आजको युवासँग सारा चीज हुँदा पनि पुरानै नेताले शासन गरिरह्यो, हामीलाई सत्ता हस्तान्तण गर्दैन भनेर चिच्याउनु भनेको युवापन नहुनु हो । मागेर आफ्नो हक लाग्ने बुबाको सम्पति पनि समयमै पाइँदैन, सम्पति दिन बुबाको इच्छा हुनुपर्छ । तर आफै इलम गरी कमाउन आँट गरियो भने बुबाले दिने भन्दा धेरै गुणा कमाउन सकिन्छ । तर, छोराको इलाम देखेर बुबाले छोराको विश्वास गरी आफ्नो सम्पूर्ण ताला चाबी छोरालाई एकदिन पक्कै सुम्पिने छ । 

आज नेपालको युवा राजनीतिक पंक्तिमा रनभुल्ल अवस्थामा छ । अब के का लागि लड्ने, कसरी लड्ने, किन लड्ने ? भन्ने स्पष्ट रूपरेखा र खाका बोकेर लडिएन भने यस समयको पुस्ता आकाशको फल झरेपछि खाउँला नियति भोग्न बाध्य अवस्थामा पुग्नेछ । कसैको चाकडी गरेर होइन, आफ्नो त्यो जुनुन् आँट भोलिबाट होइन, आजबाट नै देखाउन आवश्यक छ ।

भारतमा गान्धी बाँचुन्जेलसम्म नेहरु गान्धीसँग नै हुन्थे । नेहरु गान्धीको असल शिष्य नै थिए । गान्धीले देखाएको पथमा १७ वर्ष नेहरु प्रधानमन्त्री हुँदा पनि गर्न सकेनन् वा गर्न चाहेनन् । त्यसै गरी, वीपीको भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्दा पनि वीपीको पथ पछ्याउन सक्नु भएन ।

वीपीको पथ नेपाली काँग्रेसले अझै पनि पछ्याउन सकेको जस्तो मलाई लाग्दैन । मनमोहन, मदन भण्डारीले कोरेको बाटो एमाले हिँडे जस्तो लाग्दैन । उता जंगलमा हुँदा सिंहले जसरी सिकार गर्ने साहस भएका प्रचण्ड सिकारीपन बिर्सिएर मृगहरूसँगै खेल्न थालेको देखिन्छ ।

पुरानै शैलीमा सञ्चालन हुन लागेको रास्वपा वर्तमानमा मात्र मनोरञ्जन गरेको जस्तो देखिन्छ । देशमा यत्रो युवाहरु हुँदा देखिनु पर्ने त्यो परिवर्तन कतैबाट संकेतसम्म पाउन सकिएको छैन् । युवाले पानी र दूध छुट्याउन नसक्दै गर्दा आज देश लथालिङ्ग भएको छ । मेरो पुरानो नेताप्रति केही गुनासो छैन, उहाँहरुले खोसेर लिएको सत्ता हामीलाई किन हस्तान्तरण गर्नु प¥यो । खोस्ने आँट गर्न सक्नु पर्दछ हामी युवा वर्गले ।

देशलाई नेतृत्व गर्छु भन्ने ढ्वाङ मिडियाबाट मात्र फुकेर कहीँ पुगिँदैन ।  पानी ट्याङ्कीमा रहँदासम्म धाराबाट पानी आउने हो । दीर्घकालको लागि पानीको मुहान मजबुत टिकाउनपन बनाउने हो । पार्टीलाई पनि पानीको मुहान जस्तै बनाउन लागौं । जसले सम्पूर्ण नेपालीको जीवन सरल र सहज बनाओस् ।

लेखक नेविसंघका नेता हुन्  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश कुमार श्रेष्ठ
राजेश कुमार श्रेष्ठ
लेखकबाट थप