मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
सरोकार

पर्यटक बसस्टपमा शौचालय खोई ?

बुधबार, १० जेठ २०८०, ११ : ३०
बुधबार, १० जेठ २०८०

पर्यटकीय केन्द्र ठमेलनजिकैको सोह्रखुट्टेबाट पोखरा र चितवनका लागि पर्यटक बस चल्ने गर्छन् । ती ठाउँमा बसबाट यात्रा गर्न चाहने पर्यटकका लागि उपत्यकाका ट्राभल्स एजेन्सी र होटलले यिनै बस बुक गरिदिएका हुन्छन् । बस नछुटोस् भनेर कतिपय पर्यटक छिटै आइपुगेका हुन्छन् । लामो यात्रामा निस्कनुअघि दिसापिसाब गर्नु स्वाभाविक हो, तर त्यहाँ सार्वजनिक शौचालय नहुँदा पर्यटक शौचालय खोज्दै भौँतारिहेको देख्न सकिन्छ ।  

गुगल म्यापमा देखिने ‘टुरिस्ट बसस्टप’ हेरेर आएका पर्यटकले सडक किनारामा रोकिराखेका बसमा आफ्नो सामान राखेर शौचालय खोज्न भौँतारिनुपर्छ । 

यहाँ शौचालयको व्यवस्था गर्न कुनै निकायले ध्यान दिन सकेका छैनन् । बिहानै चिया–पसल र रेस्टुरेन्ट त्यति खुलिसकेका हुँदैनन् । बसका कर्मचारीले नजिकैका घरबेटीसँग पर्यटकलाई शौचालय प्रयोग गर्न दिन अनुनयविनय गरेका दृश्य निकै टीठलाग्दा देखिन्छन् । 

पर्यटकको तर्फबाट यो आलेख यस कारण लेख्दै छ, स्वदेशी पर्यटक कुनै न कुनै घरमा स्वाट्ट छिरिहाल्छन् वा असभ्य ढंगले छेउकुनातिर लाग्न सक्छन् । एउटा विदेशी पर्यटक कहाँ जाने ? 

दुई वर्षअघि जमलको सडकमा यो बसस्टप थियो, अहिले सोह्रखुट्टे सारिएको छ । बसस्टपमा हुने सामान्य सुविधा (जस्तैः शौचालय, विश्राम ठाउँ, व्यवस्थित रेस्टुरेन्ट आदि) नभएको यो नाम मात्रको बसस्टपले पर्यटकलाई सकस दिएको छ । 

राजमार्गको यात्रा सकसपूर्ण

सोह्रखुट्टेमा शौचालय प्रयोग गर्न नपाएका पर्यटकहरू बसले छिटै शौचालय भएको स्थानमा पुर्‍याउला भन्ने पर्खाइमा हुन्छन् । बसले भने विभिन्न यात्रु चढाउँदै जाँदा कलंकीसम्म पुग्न दुई घन्टाभन्दा बढी लगाइदिन्छ । 

अर्कोतिर राजमार्गमा जहाँ–जहाँ बस रोकिन्छन्, त्यहाँका अधिकांश शौचालय फोहोर हुन्छन्, न त पानीको सुविधा हुन्छ । नाम मात्रका ती शौचालयले नेपालको परिचय संसारसामु दिइरहेको आभास हुन्छ । 

पछिल्लो समय राजमार्गका एकाध रेस्टुरेन्ट व्यवस्थित छन्, तर सबै बसले यी गतिला रेस्टुरेन्टमा यात्रु पुर्‍याउँदैनन्, आफ्नो सम्बन्ध वा चिनजान भएका रेस्टुरेन्टमा लैजान्छन् । राजमार्गमा पर्यटक बस र रेस्टुरेन्टका मालिकको खतरनाक सेटिङ छ । यो सेटिङले पर्यटक कति आजित छन् भन्ने मलेखुभन्दा अलि वर काठमाडौंतर्फ आउने सडकको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा बसले यात्रुलाई खाना खान ओरालेको देख्दा छर्लंग हुन्छ । यहाँ जंगलको बीचमा रहेको एक मात्र रेस्टुरेन्टमा खाना–नास्ता निकै महँगो छ, महँगो भएकै कारण धेरै पर्यटकले यहाँ नखाएको यो पंक्तिकारले पटक–पटक देखिसकेको छ । 

०६३ मा पहिलोपटक पर्यटक प्रवद्र्धनमा टेवा पुर्‍याउन पर्यटन पत्रकार मञ्च खुलेको थियो । त्यस मञ्चको संस्थापक सचिव भएकाले पंक्तिकारले पर्यटन क्षेत्रको विकास र पर्यटक आगमनका बारेमा चासो राख्दै आएको छ । 

पर्यटकको खुसीको मापन आधारभूत सुविधाले नै निर्धारण गर्छ । हामीकहाँ प्राकृतिक सौन्दर्य नियाल्न पर्यटक आउने हुन् । सामान्य शौचालयको अभाव झेल्नुपर्दा उनीहरुको मनमा प्राकृतिक सौन्दर्यले आनन्द दिँदैन । उसलाई शौचालयको समस्याले तरंगित बनाउँछ र हिमाल लगायत प्राकृतिक सौन्दर्यप्रतिको उसको मोह भंग हुन जान्छ । ऊ आफ्नो देश फर्केर सुनाउने अनुभव कस्तो होला, तिक्तताबाहेक  !

यी पाँच काम गर्न सकिएला ?

नेपालले पहिलोपटक भ्रमण वर्ष मनाउँदा (सन् १९९८ मा) लक्ष्य अनुसार पर्यटक आएका थिए । त्यसपछि सन् २०११ मा त्यस्तै भ्रमण वर्ष मनाउँदा लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकिएन । पछिल्लोपटक सन् २०२० मा भ्रमण वर्ष तय भए पनि कोभिडका कारण रद्द हुन पुग्यो । सरकारले दश वर्ष (सन् २०२३–२०३३)मा ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो असम्भव होइन, नेपालले चाह्यो भने हरेक वर्ष ३५ लाख विदेशी पर्यटक ल्याउन सक्छ । यसका लागि निम्न पाँच विषयमा सरकारले ध्यान दिनुपर्छ । 

१) काठमाडौं ओर्लेको पर्यटक सोझै पोखरा, सौराहा वा लुम्बिनी जान रुचाउँछन् । किनकि काठमाडौंको भद्रगोल वातावरणबारे उनीहरूले पहिल्यै जानकारी लिइसकेका हुन्छन् । जब कुनै पर्यटक विमानस्थलमा उत्रन्छ, तब ऊ ट्याक्सीवालादेखि अनेक व्यक्तिको घेरामा पर्छ । यस विषयमा हामीसँग कैयौँ पर्यटकले गुनासो पोखेका छन् । 

गोरो छाला भएको पर्यटक देख्नेबित्तिकै पछ्याएर हैरान पार्ने परिपाटी बन्द गरिनुपर्छ । अर्थात् त्यस्ता व्यक्तिलाई पक्राउ गरेर आवश्यक कारबाही गर्न सकिन्छ । हरेक पर्यटक निर्धक्क घुम्न सक्ने वातावरण निर्माण गर्नु पर्यटक आगमन वृद्धिको पहिलो सर्त हो । 

२) अहिले सामाजिक सञ्जालमा विश्वका कैयौं भ्लगर नेपाल आउने गरेका छन् । उनीहरूले नेपालको प्रचार त गरेका छन्, तर यहाँ जे जे छ, त्यही त्यही प्रचार हुँदा नेपालको पहिचान सखाप भइसकेको देखिन्छ । 

खासगरी पर्यटन मन्त्रालयले हरेक मन्त्रालय र पालिकासँग समन्वय गरेर पर्यटकलाई बाधा पुर्‍याउने तत्त्वको अन्त्य गर्न सक्छ, सक्नुपर्छ ।

उपत्यकाको स्वयम्भु, पशुपतिनाथ मन्दिर, बौद्ध, वसन्तपुर क्षेत्रमा अवाञ्छित गतिविधि गर्ने युवाको ठूलो जमात छ । यी युवाले विदेशी पर्यटकलाई पछ्याएर दिक्दार बनाउने गरेका छन् । विदेशी भ्लगरले युट्युबमा राखेका सामग्री हेर्दा यो स्पष्ट हुन्छ । यसको नियन्त्रणका लागि उपत्यकाका पालिका प्रमुख, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरीसँग तुरुन्त समन्वय गर्न सकिन्छ । यी स्थानमा देखिने अभद्र व्यवहारले हाम्रो कुरूप सभ्यता संसारभरि फैलिरहेको छ ।

३) अहिले पोखरा, सौराहाबाट उपत्यका आउने पर्यटक बसले यात्रुलाई बालाजु चोकमा ल्याएर छाडिदिन्छ, पहिला सोझै ठमेल पुर्‍याउँथ्यो । 

बालाजु क्षेत्र उपत्यकाको सबैभन्दा कुरूप स्थान हो । धुलो, धुँवा र भीडभाडले कैयौँ पर्यटक अत्यालिएका दृश्यले नेपालको चित्रण कस्तो होला, यो निकै दुःखदायी अवस्था छ । 

हाम्रा पर्यटकीय स्थलमा कैयौँ भारतीय, बंगाली र पाकिस्तानका व्यक्तिले सडकमा व्यापार गरिरहेका छन् । पानीपुरी, जुस, आइसक्रिम, फलफूल लगायत बिक्री गर्न बसेका यी व्यक्ति देख्दा कैयौँ तेस्रो मुलुकका पर्यटकले यो नेपाल हो कि भारत भनी झुक्किरहेका छन् । कैयौँ विदेशी भ्लगर आफ्नो च्यानलमा भारतको कुनै सहर भएको आभास व्यक्त गरेका छन् । यो निकै नकारात्मक प्रचार हो । विश्वमा भारत, बंगलादेश र पाकिस्तान सबैभन्दा खराब र असुरक्षित देशमा गनिन्छन् । त्यही श्रेणीमा नेपाल पनि पर्नु हाम्रा लागि तेस्रो मुलुकका पर्यटक आगमनको सबैभन्दा बाधक हो । यो कुरूप दृश्य हटाउन सबै निकायसँग पहल गरेर नेपालको आफ्नै पहिचान स्थापित गर्न सकिन्छ ।

४) अहिले चिनियाँ पर्यटकको नेपाल आकर्षण बढ्दो छ । कोरियन, जापानिज, युरोपियन र अमेरिकन नागरिक पनि नेपाल घुम्न आइरहेका छन् । 

पर्यटक आकर्षकको पहिलो सर्त निर्धक्क घुम्न पाउने सुरक्षित वातावरण हो भने दोस्रो हो, सरसफाइसहितको सेवासुविधा । 

अहिले कैयौँ पर्यटक होटलमा मात्र बस्दैनन् । सहरका भित्री बजार र निजी घरहरूमा पुगिरहेका हुन्छन् । हाम्रा रेस्टुरेन्ट र सडक वरपरका पसलको दृश्य यति कुरूप छ, तेस्रो मुलुकका पर्यटक नाक थुनेर घुमिरहेका देखिन्छन् । खासगरी भारतीय व्यापारीले चलाएका समोसा पसलको दृश्य निकै घीनलाग्दो छ । पसलको वातावरणदेखि किचनसम्म अनुमगन गरेर सौन्दर्यकरण गर्न अनिवार्य छ । जसरी विकसित मुलुकमा भारतीय र नेपालीको भान्छा समेत त्यहाँका पुलिसले चेक गरेर सभ्यताको पाठ पढाउँछ, त्यसरी नै यहाँ सुरक्षाकर्मी खटाएर सफासुग्घरको वातावरण निर्माण गर्न अनिवार्य भइसकेको छ । हरेक पर्यटक सफा ठाउँ र सफा वातावरणमा रमाउँछन् ।

५) पर्यटकका लागि मनोरञ्जन अनिवार्य सर्त हो । मनोरञ्जनविनाको घुमफिर कोही व्यक्तिले गर्दैनन् । आज निर्धक्कसँग घुम्ने र रमाउने वातावरण भएकाले थाइल्यान्ड, माल्दिभ्स लगायतका मुलुकले यथेस्ट पर्यटक भित्र्याइरहेका छन् ।

नेपाल–भारत खुला सिमानाका कारण हाम्रो मधेस क्षेत्रमा अझै तेस्रो मुलुकका पर्यटकको आकर्षण छैन । किनकि भारतका कैयौँ भू–भागमा अझै निर्धक्कसँग एक्लै कुनै पर्यटक घुम्ने वातावरण छैन । त्यसको सोझो प्रभाव नेपालमा पनि परिरहेको छ । यो गम्भीर समस्या चिर्नका लागि सिमानामा कडाइ आवश्यक छ । साथै नेपालले भारतीय वा बंगलादेशका पर्यटकप्रति लोभिन हुँदैन । अब नेपालले तेस्रो मुलुकका साथै चिनियाँ र पूर्वीएसियन देशका पर्यटकलाई लक्षित गरी कार्यक्रम ल्याउन जरुरी छ । 

भारतीय पर्यटक अधिकांश आउने भनेको धार्मिक बटुवाका रूपमा हो । अधिकांश भारतीय पकाउने सामग्री लिएर बसमै आउँछन् र यहाँ कुनै खर्च गर्दैनन् । त्यति मात्र होइन, भारतीय पर्यटकको आवागन नेपालका लागि असुरक्षाको कारण बन्न सक्ने विभिन्न घटना क्रमले पुष्टि गरेका छन् । हाम्रो लक्ष्य भनेको तेस्रो मुलुककै पर्यटक हुनुपर्छ । यसका लागि नेपालले आफ्नो भिन्न पहिचान संसारसामु चिनाउनु अनिवार्य छ । 

अन्त्यमा

अहिले पर्यटन बोर्डले ट्रेकिङ जाँदा हरेक पर्यटकले साथमा अनिवार्य गाइड लाने नियम बसाएको रहेछ । यो नियम अनिवार्य गर्न हुँदैन, ऐच्छिक हुनुपर्छ । यो अनिवार्य गर्दा धेरैले रोजगार पाउँछन्, तर, यसको नकारात्मक प्रभावको अन्तर्य निकै महत्त्वपूर्ण छ । कैयौँ पर्यटक सस्तोमा नेपाल घुम्न आइरहेका हुन्छन्, उनीहरू एक्लै घुम्न रुचाउँछन् । गाइड लानेबित्तिकै अतिरिक्त खर्च लाग्छ । उनीहरूलाई यो स्वेच्छा बनाइनुपर्छ । 

नेपालमा पञ्चायतकालदेखि अन्नपूर्ण क्षेत्र र सगरमाथाजस्ता स्थानमा कैयौैँ पर्यटक एक्लै घुमेर फर्कन्थे । माओवादी द्वन्द्वकालमा पनि पहाड र हिमाली क्षेत्रमा एक्लै पर्यटक घुमेर फर्किएका उदाहरण छन् । कैयौँ विदेशी महिला पर्यटक पोखरा वरपरका हिमाली क्षेत्रलगायत स्थानमा एक्लै घुमेर फर्किएका हुन्छन् । 

भारतसँग खुला सिमाना नभएको भए सिंगो नेपालभित्र झन् निकै सुरक्षित वातावरण हुने थियो । त्यसका बाबजुद हिमाली र पहाडी क्षेत्र अहिले पनि युरोप देशकै तुलनामा सुरक्षित छन् । अनिवार्य गाइडभन्दा ठाउँ विशेषका आधारमा गाइड लाने वा नलाने भन्ने निर्धारण गर्न जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोद त्रिपाठी
विनोद त्रिपाठी
लेखकबाट थप