सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जाल दूषित पार्ने ‘फेक कन्टेन्ट’

बुधबार, १० जेठ २०८०, १२ : ४२
बुधबार, १० जेठ २०८०

प्रयोग गर्न जान्नेहरूका निम्ति सामाजिक सञ्जाल फलदायी छ  । यसको प्रयोगले विश्वभर भएका घटना परिघटना एकै ‘क्लिकमा’ हेर्न, पढ्न र सुन्न सकिन्छ  । परिवारमा खबर आदान प्रदान, साथीभाइ, इष्टमित्र, राजनीति र देश विदेशमा भएका विभिन्न नयाँ क्रियाकलापको समष्टिगत साझा थलो भएकै कारण सामाजिक सञ्जाल औधी रुचाइएको छ । तर हरेक चिजका दुई पाटा हुन्छन् भनेजस्तै सामाजिक सञ्जालका पनि सकारात्मक र नकारात्मक पाटा रहेका छन् । विशेष गरी चेतनाको स्तर कम भएको समाजमा यसले निम्त्याउने नकारात्मक असरले सिङ्गो समाजलाई नै कतातर्फ मोडिदिने हो पत्तो हुँदैन । 

फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक र युट्युबको प्रयोग गर्ने जनसङ्ख्या नेपालमा उल्लेख्य छ । डाटा रिपोर्टलका अनुसार २०२३ को जनवरीसम्ममा नेपालभित्र १ करोड २६ लाख सामाजिक सञ्जाल प्रयोगकर्ता रहेका छन् । त्यसमध्ये पनि फेसबुक अरू सबै सामाजिक सञ्जालभन्दा बढी प्रयोगमा आएको देखिन्छ । हाल नेपालमा १ करोड २० लाख हाराहारीमा फेसबुक प्रयोगकर्ता छन् । आजकल त बच्चा जन्मिनु अगाडि नै आमाबुवाले उसको नामकरण गरिसकेका हुन्छन् । २, ४ महिना अगाडि जन्मेको बच्चाको नामसहित फोटो ट्याग गरेर उसकै निजी फेसबुकमा फोटो हालिदिने र बुवाआमाले सेयर गरेर चिनाउने प्रचलन पनि छ । त्यसो त वैधानिक रूपमा फेसबुक खाता खोल्न १३ वर्ष पुगेको हुनु पर्छ । 

बुढेसकालका बुवाआमाको सजिलै भुल्ने सारथि बनेको युट्युब र टिकटक त छँदै थियो, विदेश भएका आफन्तसँग बोल्न र उनीहरूका फोटा हेर्न फेसबुक नभई नहुने अस्त्र बनेको छ । फेसबुकसँग जोडिएपछि यसका अफ्ठ्यारा फिचरले साह्रै झन्झट ल्याइदिन्छ । पढ्न मात्र जान्ने तर लेख्न नजान्ने उमेर समूहमा यसको जटिलताले बारम्बार अल्झाइरहन्छ । कसैलाई जन्मदिनको शुभकामना लेख्न पनि हजुरबुवाले नाति गुहार्नुपर्छ । दैनिक जीवनका घटनाहरू सबैभन्दा चाँडो मानिसहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छन् । उनीहरूको खुसी वा दुःखको मर्मविपरीत क्रिया जनाइयो भने पनि आफ्नै नियतमा खोट लाग्ला भन्ने डर, एउटा गलत इमोजीले पनि हामीले लेख्ने कमेन्ट वा मेसेजको गलत सन्देस जाला भन्ने त्रास हुन्छ ।

च्याउ जस्तै उम्रेका अनलाइन, न्युज पोर्टल र पेजहरूले भ्युज र लाइक बटुल्न तथ्यबिनाका सामग्री सम्प्रेषण गर्नाले यसका प्रयोगकर्तामा भ्रम र अफवाहा धेरै फैलिएको पाइन्छ । अझ कुनै कुनै सामाजिक व्यक्तिहरू जो समाजमा चर्चित छन्, उनीहरू पनि अरूभन्दा छिटो बन्न सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै अपूर्ण र झुट अफवाह फैलाएर सेयर बटुल्न लागिपरेको देखिन्छन् । उनीहरूलाई विश्वास गर्ने जमातले अप्रिय कदम चालेर सामाजिक सद्भाव उथलपुथल पार्नसमेत पछि पर्दैन । ‘एल्लो जोर्नालिज्म’को पनि हद हुन्छ । तर यहाँ सबैलाई पत्रकार बन्नु छ अनि सबै पत्रिकालाई उछिनेर आफ्नो न्युज पोर्टल वा पेजलाई उत्कृष्ट  साबित गर्नु छ खबर सही होस् या गलत । 

हामी पढेलेखेकै युवा पुस्तामाथि पनि डिजिटल साक्षारता ठूलो प्रश्न हो । के सत्य हो के झुट हो भनेर छुट्याउन हामीले निकै गहिरिएर हेर्दासमेत पत्तो नपाइने गरी सामाजिक सञ्जालमा सामग्री प्रस्तुत गरिएको हुन्छ । मिम्स, ट्रोल्स, डार्क ह्युमर जोडिएका सामग्री यहाँ प्रशस्तै पाइन्छन् । यस्ता क्रियाकलाप गर्ने र रमाइलो आदान प्रदान गर्नकै लागि पनि कति फेसबुक ग्रुपहरू बनाइएको हुन्छ । बुझ्नेले त हेर्छ, पढ्छ, हाँस्छ सकिन्छ । तर नबुझ्नेहरू त्यसैमा निराश बन्छन्, रूष्ट बनेर गालीगलौज पनि गर्न भ्याउँछन् । यसले सामाजिक सद्भावसमेत खलबल पार्छ । किनभने सामाजिक सञ्जाललाई मानिसहरू आफ्नो अडान र प्रतिष्ठासँग जोडेर हेर्छन् हरेक व्यक्तिले आफ्नो सामाजिक प्रोफाइललाई वास्तविक अस्तित्वसँग तुलना गरेका हुन्छन् ।

कसैले गलत नियतले झुटो अफवाह फैलाउन पनि सामाजिक सञ्जालको प्रयोग गरेको पाइन्छ । यसको सिकार विशेषगरी अपूर्ण ज्ञान भएको जनसमुदायमा पर्न जान्छ । नेता, खेलाडी, नायक, नायिका र चर्चित पात्रहरूको तस्बिर, क्रियाकलाप वा वक्तव्यसँग जोडेर प्रचार गरिने गलत खबरहरूको स्थान सबैभन्दा उच्च रहेको छ । हुन त बेलाबेलामा कमेन्टमा ‘ॐ’ लेख्नुहोस् यस्तो प्राप्ति हुन्छ भनेर हजारौँ लाइक कमेन्ट बटुल्न सकिने जमात भएको सामाजिक सञ्जालमा झुट सजिलै बिकाउन सकिन्छ । टिकटकको ‘ए आई’ र ‘प्रिफरेन्स रिच’ ले त झन कसलाई के कुराले तान्न सकिन्छ त्यही मात्र देखाउनेसम्मको टेक्नोलोजी अपनाइएको छ । तपाईंले बारम्बार कुनै सामग्री हेर्नुभयो भने हरेक ‘स्क्रोलमा’ उस्तै प्रकारको मात्र सामग्री प्रस्तुत गरिरहन्छन् । यदि नकारात्मक समाचारमा ध्यान दिनु भएको छ भने तपाईंको फिडमा नकारात्मक  समाचार नै आइपुग्छ ।

हामीले झट्ट हेर्दा एकैछिन त हो, ‘फेक’ समाचार आउँछ जान्छ भने पनि यसले समाजमा दिगो असर छोडेको हुन्छ । ‘कन्टेन्ट कन्जम्सन अफ मिस इन्फर्मेसन लिड्स टु ह्युज कन्सिकोइन्सेस’ भन्नेबारे विश्व सचेत छ । गलत समाचारले निम्त्याएका मानसिक र सामाजिक असरहरूको लेखाजोखा भने छैन । भ्युअरलाई आतङ्कित बनाउन वा झुक्याउने नियतले साझा गरिएका यस्ता कन्टेन्टले समाजको दिशानिर्देश गर्दछ । यसले भविष्यमा समाज कता जाँदैछ भरेर प्रस्ट पार्छ । हाम्रो सामाजिक स्थायित्व र व्यवहारमा समेत गलत समचारले गलत परिवर्तन ल्याइदिने छ । नकारात्मक र नैरास्यता  मिसिएका समचारले सकारात्मक भावना विकास गर्न त असम्भव नै हो, मानिसमा चिन्ता, पिर र आतङ्क पैदा गर्छ । यहाँ केही पनि राम्रो छैन, सबै बिग्रिँदो मात्र छ भनेर मान्छेमा असन्तुष्टि पैदा हुन्छ ।

सामान्यभन्दा सामान्य व्यक्तिमा पनि मानसिक तनाव, द्वेष, रिस र झैझगडाको वातावरण समेत सिर्जना गर्न गलत समाचारको भूमिका हुने गर्छ । त्यसैले कस्तो सामग्री प्रयोग गर्ने, कसरी पढ्ने, कसलाई विश्वास गर्ने भनेर सचेत हुनु जरुरी छ । सामाजिक सञ्जाल प्रयोग गर्दा पर्याप्त ज्ञान भएका परिवारका सदस्यले आफ्ना आभिभावक र बालबच्चाको फिडमा आउने जानकारी नकरात्मक वा सकरात्मक छ भनेर बेलाबेलामा घरमा छलफल गर्दा यसको न्यूनीकरण आधारभूत तहमै हुन सक्छ । हरेक व्यक्तिलाई आधिकारिक समचार सम्प्रेषण भए नभएको थाहा नहुने हुँदा त्यस्ता विवादित समचार धेरैथरि स्रोतबाट पुष्टि गर्ने, कमेन्ट पढ्ने, गुगल र अन्य सर्च इन्जिनबाट खोजेर पुष्टि भएपछि मात्र लाइक, सेयर, कमेन्ट जस्ता प्रतिक्रिया जनाउनु उपयुक्त हुन्छ । आखिर सभ्य र सु–सूचित समाजको दिशानिर्देश गर्न हामी सबै उत्तरदायी छौँ ।

पोखरा–१७, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सागर पौडेल
सागर पौडेल
लेखकबाट थप