आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीहरू आन्दोलित, क्याम्पसमा तालाबन्दी

बिहीबार, ११ जेठ २०८०, १४ : ०८
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बिएएलएलबी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विभिन्न माग अघि सारेर आन्दोलित बनेका हुन् । उनीहरूले क्याम्पसमा तालाबन्दी गरेका छन् । तालाबन्दी गर्नुका साथै क्याम्पस प्रमुख, विश्वविद्यालयका भिसी, रजिष्ट्रार लगायत हराएको भन्दै चोक चोकमा पोष्टर समेत टाँसेका छन् ।

उनीहरूले डीन कार्यालयलाई सिटी क्याम्पस बुटवलमा सार्ने र डीनलाई नियमित पठनपाठनका निमित्त नियुक्त गर्नुपर्ने विद्यार्थीहरूको माग छ । विद्यार्थीहरू बुटवलको जेसिस चोकमा जम्मा भएर भोग हडतालमा बसेका छन् । उनीहरूले ८ जेठबाट क्याम्पसमा तालाबन्दी गरेका थिए । विद्यार्थीहरूले नयाँ ४ जना कानुन क्षेत्रमा दक्षता हासिल गरेका शिक्षकलाई प्रशासनले आवेदन गरी विद्यार्थीहरूको समूहमा राखी डेमो क्लास गराई विद्यार्थी राय अनुसार नियुक्त गर्नुपर्ने माग छ ।

हालको क्याम्पस प्रमुखलाई प्रमुखको पदबाट हटाई कानुन सङ्कायमा एलएलएम गरेको योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने, कानुन संकायको संयोजक समेत एलएलएम गरेको व्यक्तिलाई नियुक्त गर्नुपर्ने विद्यार्थीहरूको माग छ । सबै कक्षाकोठाहरूमा सीसीटीभी जडान गर्नुपर्ने, गुणस्तरीय इन्टरनेटको व्यवस्था गर्नुपर्ने लगायतका २३ बुँदे माग अघि सारेका छन् ।

भिसी, रजिस्ट्रारदेखि पढाउने शिक्षकसम्म राजनीतिक अखडा भएको भन्दै पढ्न पाउने वातावरण मिलाउन माग गर्दै आन्दोलन गर्नुपरेको विद्यार्थी शिद्धार्थ कँडेलले जानकारी दिए । क्याम्पसको अवस्था अस्तव्यस्त हुँदा समेत सुधारका लागि कुनै चासो नदेखाएपछि आफूहरू आन्दोलित बनेको उनको भनाई छ ।

क्याम्पस प्रमुख क्याम्पसमा नबसेर भागेर सेन्ट्रल क्याम्पसमा गएर बसेको उनको भनाई छ । विद्यार्थीहरूले बुटवल उपमहानगरपालिकाको कार्यालयमा गएर समेत विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले ‘भ्रष्ट प्रशासन चाहिँदैन, नालायक डीन कता छ ?, एसीमा बस्न पाइँदैन, विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, राजनीति गर्न पाइँदैन, रजिस्ट्रारको राजनीति चल्दैन,’ जस्ता नारा लगाएर क्याम्पस र बुटवल उपमहानगरपालिकामा विरोध प्रदर्शन गर्दै आएका हुन् ।

विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि लुम्बिनी बौद्ध विश्वविद्यालय रजिस्ट्रारको सचिवालयले छलफलका लागि आह्वान गरेको छ । विद्यार्थीहरूले उठाएका मागहरूका विषयमा सम्बोधनका लागि निमित्त उपकुलपति एवं रजिष्ट्रारसँग छलफलका लागि प्रतिनिधिमूलक रूपमा छलफलमा आउन आग्रह गरेको हो ।

त्यस्तै क्याम्पस प्रशासनले समेत मागप्रति सकारात्मक रहेको समयोवद्ध समाधानका लागि प्रतिबद्ध रहेको जनाएको छ । निमित्त क्याम्पस प्रमुख मोहनलाल भण्डारीले संवादबाट समाधान हुने माग राखिरहँदा शिक्षक तथा प्रशासनप्रति अमर्यादित व्यवहार, गालीगलौज, होहल्ला, तालाबन्दी जस्ता कार्य नगर्न अनुरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप