शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नले उपाधि जितेपछि सीईओ कानले भने –‘यो मेरो जीवनकै सबैभन्दा खराब क्षण’

आइतबार, १४ जेठ २०८०, ०८ : २१
आइतबार, १४ जेठ २०८०

काठमाडौं । बुन्डेस लिगा फुटबल प्रतियोगिताको उपाधि शनिबार राति बायर्न म्युनिखले जित्यो । बुन्डेस लिगाको अन्तिम चरणको खेलमा एफसी कोलोनलाई २—१ गोलले हराउँदै बायर्नले उपाधि जितेको थियो ।

अन्तिम चरणको खेलपछि तालिकाको पहिलो स्थानमा आसिन बायर्न र दोस्रो स्थानमा आसिन बोरुसिया डर्टमन्ड दुबैको समान ७१-७१ अंक थियो । तर, गोलअन्तरमा भने बोरुसियाभन्दा बायर्न निकै अगाडि रह्यो । त्यसैले उपाधि बायर्नको पोल्टामा पर्यो ।

बायर्नले उपाधि जिते पनि क्लबका प्रमुख कार्यकारी अधिकृत ओलिभर कानले भने जितको खुसीयाली मनाउन पाएनन् । खेलाडीका रुपमा पनि बायर्नलाई थुप्रै महत्वपूर्ण उपाधि दिलाएका कानले उल्टै सञ्चारकर्मीसँग प्रतिक्रिया दिए, ‘यो मेरो जीवनकै सबैभन्दा खराब क्षण हो ।’

आफ्नो समयका चर्चित गोलरक्षक कानले सन् १९९४ देखि सन् २००८ सम्म विपक्षीका लागि पर्खाल बनेर बायर्नको गोल पोष्ट समालेका थिए । तिनै गोलरक्षक कान पछिल्लो समय प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा बायर्नमा सक्रिय दिए ।

तर, क्लबले उपाधि जितेलगत्तै बायर्नले कानलाई प्रमुख कार्यकारी अधिकृतको पदबाट हटाउने निर्णय सार्वजनिक ग¥यो । कानसँगै खेलकुद निर्देशक हसन सालिहामिडजितकलाई पनि बायर्नले एकैपटक पटबाट बर्खास्त गरेको छ ।

अप्रत्यासित रुपमा पदबाट बर्खास्त भएपछि कान र हसनले टोलीसँग जितको खुसी साटासाट गर्ने अवसर पनि पाएनन् । ‘यो क्षणलाई म शब्दमा बयान गर्न सक्दिन । केवल यति भन्छु, यो मेरो जीवनकै सबैभन्दा खराब क्षण हो,’ कानले भनेका छन् ।

उपाधि जितेपछि आयोजना हुने पत्रकार सम्मेलनमा उपस्थित हुनबाट पनि क्लबले आफूलाई रोकेको गुनासो कानले गरे । ‘म पनि क्लबको जितको हिस्सा हुन चाहन्थें । तर, मलाई पोष्ट म्याच कन्फरेन्समा समेत उपस्थित हुन दिइएन । योभन्दा दुःखद क्षण अरु हुनै सक्दैन,’ सामाजिक सञ्जाल ट्वीटरमा उनले ट्वीट गरेका छन् ।

बायर्नले लगातार ११औं पटक बुन्डेस लिगाको उपाधि चुमेको हो । समग्रमा भने बायर्नले सर्वाधिक ३३औं पटक बुन्डेस लिगाको उपाधि जितेको हो । बायर्नले उपाधि जित्नासाथ क्लबले विज्ञप्ति जारी गर्दै कान र हसनलाई पदबाट हटाइएको निर्णय सार्वजनिक गरेको थियो ।

खेलाडीको भूमिकामा ५३ वर्षीय कानले बायर्नमा १४ सिजन बिताएका थिए । त्यसबीचमा उनले क्लबका लागि ६ सयभन्दा बढी खेल खेलेका थिए । उनी सन् २०१९ मा बायर्नको बोर्ड सदस्य बनेका थिए । त्यसपछि सन्  २०२१ देखि उनी क्लबमा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा सक्रिय दिए ।

जर्मन राष्ट्रिय टोलीका पूर्वखेलाडी समेत रहेका आफ्नो समयका प्रभावशाली गोलरक्षक कान बुन्डेस लिगाको अन्तिम खेलमा पनि देखा परेका थिएनन् । उनलाई नदेखेपछि सञ्चारकर्मीले समेत चासो ब्यक्त गरेका थिए । त्यसको जवाफमा क्लबले कानलाई ‘रुघा÷खोकी’ लागेको जवाफ दिएको थियो ।

तर, खेल सकिएलगत्तै बायर्नले कान र हसनलाई पदबाट बर्खास्त गरिएको विज्ञप्ति जारी गरेको थियो । कान प्रमुख कार्यकारी अधिकृत बनेपछि बायर्नले लगातार रुपमा बुन्डेस लिगाको उपाधि जित्दै आएको थियो । तर, युरोपियन ब्यवसायीक फुटबलमा भने बायर्नको प्रदर्शन सन्तोषजनक थिएन ।

कानलाई पदबाट मुक्त गरिएपछि उनको स्थानमा जन क्रिस्टियन ड्रिसेनलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी दिइएको छ । ड्रिसेन सन् २०१३ देखि बायर्नको आर्थिक प्रशासन प्रमुखको रुपमा कार्यरत थिए । उनी क्लबका उपाध्यक्ष पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप