बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेश नामकरण विवाद : दिनभर तनावग्रस्त विराटनगर

४६ जना घाइते, ७२ जना आन्दोलनकारी पक्राउ
आइतबार, १४ जेठ २०८०, २३ : १५
आइतबार, १४ जेठ २०८०

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर आइतबार दिनभर तनावग्रस्त बन्यो । कोशी नाम खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै आन्दोलन हुँदा प्रहरी र आन्दोलनरत पहिचान पक्षधरबीच झडप हुँदा विराटनगर तनावग्रस्त भएको हो ।

विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा अगाडि प्रहरी र पहिचान पक्षधरबीच झडप भएको हो । झडपमा आन्दोलनकारी र प्रहरी दुवै पक्षका ४६ जना घाइते भएका छन् ।

आन्दोलनकारीतर्फ १६ जना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३० जना घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । प्रहरीले ७२ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ ।

झडपका क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर प्रदेशसभा घेराउ गर्न खोजेका थिए । भीड नियन्त्रण लिन प्रहरीले ३८ राउण्ड हवाई फायर र ७४ सेल अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीले पहिचान पक्षधरको भीडलाई तितरबितर बनाउन पानीको फोहरा पनि हानेको थियो ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै असन्तुष्ट बनेका पहिचानवादीले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् । प्रदेशको नामकरणको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रदर्शनकारीले कतिपय निषेधित क्षेत्र तोडेका थिए । प्रदेशसभा अगाडि गरेको यो तेस्रो चरणको आन्दोलन हो । पहिचानको आधारमा नामकरण नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताएका छन् ।

प्रहरीको दमन

आन्दोलनपछि विरोधसभामा बोल्दै पहिचानवादी नेताहरूले कोशी नाम खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राखेका छन् ।

विराटनगरको सहिद मैदानबाट निस्किएको प्रदर्शन नेपाल राष्ट्र बैंक हुँदै प्रदेशसभा अगाडि पुगेर धर्ना दिँदै साँझ हस्पिटल चोकमा कोणसभामा परिणत भएको थियो । उक्त सभामा बोल्दै पहिचानवादी नेताहरूले कोशी प्रदेशबाट मात्र नभएर मधेस प्रदेशसहित ठूलो संख्यामा सुरक्षाकर्मीको घेरामा कहिलेसम्म प्रदेशसभा चलाउने भन्दै प्रश्न राखे ।

उनीहरूले प्रहरी प्रशासन लगाएर पहिचानको आन्दोलनलाई दबाउन खोज्नेहरू राजतन्त्र जसरी समाप्त भएर जाने चेतावनी दिए ।

उनीहरुले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महँगो साबित हुने चेतावनी दिए । प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेको बताउँदै उनीहरुले पहिचानसहितको नामकरण नगरे जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुने चेतावनी दिए ।

विरोधसभामा पहिचानवादी नेता डाक्टर महेन्द्र लावती, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज घिरेललगयतले पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताए ।

७२ जना पहिचान पक्षधर पक्राउ

यसैबीच कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हताजु राईसहित ७२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई निषेधित क्षेत्र तोडेर आन्दोलनमा उत्रिएको भन्दै आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका पहिचान पक्षधरलाई मोरङ प्रहरी र वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि अगाडि बिहान र दिउँसो आन्दोलनमा उत्रिएकाहरुलाई पक्राउ गरेको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बताए ।

पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । प्रहरीले यो समाचार तयार पर्दासम्म उनीहरुलाई रिहा गरेको छैन । पहिचानको आन्दोलनलाई निरन्तरता दिए उनीहरुलाई रिहा नगर्ने र आन्दोलन फिर्ता लिए छोड्ने रणनीतिमा प्रहरी छ । ‘पक्राउ परेकाहरूलाई अहिले छोडेको छैन,’ मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप