शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

देउवाप्रति गगनको आक्रोश : अहिलेसम्म सहेँ, अब सहन्नँ

शुक्रबार, १९ जेठ २०८०, २२ : ५०
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले गरेका पार्टी हित विपरीतका निर्णय अब सहेर नबस्ने बताएका छन् । 

शुक्रबार काठमाडौँमा भएको नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले रेशम चौधरीलगायतको आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता अलोकप्रिय विषयमा कांग्रेस सभापति एक्लैले गरेको भन्दै अब त्यस्ता निर्णयमा सहेर नबस्ने बताएका हुन् । उनले कांग्रेसको यस्तै निर्णयले भोट पाए पनि विश्वास गुमाएको बताए । ‘कांग्रेसलाई बदल्ने हो । कांग्रेसलाई नबदलीकन जस्ताको तस्तै राखेर विश्वास फर्किँदैन’, उनले कांग्रेस बदल्न नेता कार्यकर्ता बदलिनुपर्ने पनि बताए । 

थापाले भने, ‘कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोको निर्णयहरू गर्‍यो । आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता कैयौँ विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले गरेको हो ।’ उनले ती निर्णयहरू गर्नुअघि सभापतिले पार्टीमा कुनै छलफल नगरेको भन्दै आपत्ति जनाए । 

‘मैले त पछि थाहा पाएको हो । यो परिपाटी एक डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले सहँदै आएँ’, महामन्त्री थापाले भने, ‘किनभने सभापति हो, बहुमत उहाँसँग छ भनेर सहेँ । नसहनुपर्ने कुरा सहेकाले अव म सहन्न भन्ने कुरा मैले बदल्ने हो ।’ उनले पार्टी नेतृत्वको यो निर्णय प्रक्रियाको तरिकाले पार्टीलाई अहित गरिरहेको भन्दै अव नसहने बताए । ‘जुन कुराले पार्टीको अहित गर्छ । त्यस्ता निर्णयहरूको भारी पार्टीका तमामले कार्यकर्ताले बोक्नुपरेको छ’, उनले भने, ‘अब लडेर जुधेर रोक्ने हो । एकपछि गलत निर्णय गर्दै जाने हो भने यो पार्टी यसरी थिचिन्छ कि यो भारी बोक्न अव सकिँदैन । उठाउन पनि सकिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप