आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित

आइतबार, २४ जेठ २०८३, ०२ : १९
आइतबार, २४ जेठ २०८३

सारांश

  • घरेलु टोली पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
  • खेलमा दुवै टोलीका एक-एक खेलाडी रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित प्रतिस्पर्धा रोचक बनेको थियो ।
  • पोर्चुगलका लागि ब्रुनो फर्नान्डेज र गोन्कालो गुइडेसले गोल गरे भने चिलीका लुकास सेपेडाले एक गोल फर्काए ।

काठमाडौँ । लिस्बनमा शनिबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली पोर्चुगलले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । फिफा विश्वकप २०२६ को तयारीमा रहेको पोर्चुगलका लागि ब्रुनो फर्नान्डेज र गोन्कालो गुइडेसले गोल गर्दै जित सुनिश्चित गरे । खेलमा १० खेलाडीमा सीमित दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक र तनावपूर्ण रहेको थियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि इन्जुरी समयमा मैदानमा तनाव उत्पन्न भएको थियो । पोर्चुगलका विङ्गर राफायल लियो र चिलीका इभान रामोनबीच झगडा भएपछि रेफ्रीले दुवै खेलाडीलाई सोझै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । यसअघि मिलानमा खराब सिजन बिताएका लियो सुरुवाती समयमा आक्रामक देखिए पनि उनको अनुशासनहीन व्यवहारले टोलीलाई केही समय दबाबमा पारेको थियो ।

दोस्रो हाफमा प्रशिक्षक रोबर्टो मार्टिनेजले रणनीति परिवर्तन गर्दै क्रिस्टियानो रोनाल्डोको स्थानमा गोन्कालो गुइडेसलाई मैदान प्रवेश गराए । रोनाल्डोले खेलमा खासै प्रभाव जमाउन नसकिरहेका बेला गुइडेसले मैदान छिरेको केही समयमै रुबेन नेभिसको पासमा उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यसपछि ब्रुनो फर्नान्डेजले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै अग्रता दोब्बर पारे । खेलको अन्तिम समयमा चिलीका लुकास सेपेडाले एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

यो जितसँगै पोर्चुगलले चिलीसँगको ऐतिहासिक प्रतिस्पर्धामा आफ्नो पकड अझ बलियो बनाएको छ । हालसम्म भएका ५ भेटमध्ये पोर्चुगलले ४ खेल जितेको छ । यसअघि सन् २०१७ को कन्फिडेरेसन कपमा चिलीले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराएको थियो, जसको बदला पोर्चुगलले यसपटक लिएको छ । विश्वकप २०२६ मा छनोट हुन नसकेको चिलीका लागि यो खेल युवा खेलाडीको परीक्षण गर्ने अवसर बनेको थियो ।

पोर्चुगलले अब जुन ११ मा नाइजेरियासँग अर्को मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसपछि उज्बेकिस्तानसँग खेल्दै पोर्चुगलले फिफा विश्वकप २०२६ को औपचारिक यात्रा सुरु गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप