सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजनाको शुभारम्भ

आइतबार, २८ जेठ २०८०, १८ : ५०
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । नेपाल सरकार र विश्व बैंकद्वारा आज संयुक्तरुपमा २७ करोड ५० लाख डलर (करिब ३४ अर्ब ९६ करोड रुपैयाँ) लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको छ  ।

आयोजनाले नेपालमा छनौट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार र यातायात लागत र पारवहन समय घटाएर व्यापार र आबद्धता सुधार गर्न सहयोग गर्नेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरले संयुक्तरुपमा आयोजनाको शुभारम्भ गरेका हुन् ।

 ‘यस आयोजनाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने छ । साथै यसले नेपालका विभिन्न प्रदेशहरूबीच तथा छिमेकी मुलुकहरूसँग यातायात र व्यापार आबद्धता थप सुदृढ गराइ आर्थिक सम्भाव्यताको ढोका खुल्ने छ’, मन्त्री प्रकाश ज्वालाले भने ।

पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि अन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ । सडक सुरक्षा सुनिश्चित गर्दै , यस आयोजनाले उक्त सडकमा यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । फलस्वरूप भारतको पश्चिमी बन्दरगाहहरूसम्म नेपालले सहज पहुँच प्रदान प्राप्त गर्नेछ ।

विशेष गरी महिला उद्यमी र व्यापारीहरूका लागि आर्थिक अवसरहरू वृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितको कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ । बंगलादेश, भुटान, भारत र नेपालले परस्पर क्षेत्रहरूमा मालसामान र यात्रुवाहक सवारी साधनको सहज आवतजावत गर्नका लागि हस्ताक्षर गरेको यातायात सम्झौता सम्बन्धमा नेपालको पूर्वतयारी तथा कार्यान्वयनमा लागि पनि यस आयोजनाले सहयोग गर्नेछ ।

‘थप परिष्कृत यातायात र व्यापार आबद्धताले नेपाल लगायत दक्षिण एसियाली देशहरुबीचको आर्थिक समायोजनलाई प्रवर्द्धन गर्नेछ र वृहत् व्यापार र बजारको मार्ग खोल्ने छ । यस आयोजनाले नेपालमा क्षेत्रीय व्यापार वृद्धि गर्ने   र दिगो पूर्वाधार विकास मार्फत हरित, उत्थानशील तथा समावेशी विकासलाई सघाउने छ’ विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरले भने ।

यस आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् । नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा यस आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप