सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा घोषणाको तयारी

समाजवादी मोर्चामा आलोपालो अध्यक्ष : विप्लव र वामदेव घुस्दा बाबुराम अनिश्चित !

बिहीबार, ३२ जेठ २०८०, १६ : ३२
बिहीबार, ३२ जेठ २०८०

काठमाडौं । सरकारमा रहेका तीन दल र सरकार बाहिरका दुई दलसहित ५ दलीय ‘समाजवादी मोर्चा’ बन्ने लगभग निश्चित भएको छ । कार्यदलस्तरमा समाजवादी मोर्चाको घोषणापत्र तयार भएसँगै औपचारिक रूपमा मोर्चा घोषणा गर्न लागिएको नेताहरुले बताएका छन् । समाजवादी मोर्चाका लागि यसअघि तीन दलका तर्फबाट नेताहरू कृष्णबहादुर महरा, राजेन्द्र श्रेष्ठ र प्रमेश हमाललगायत दस्ताबेज तयारीमा जुटेका थिए ।  

‘समाजवादी मोर्चाको घोषणापत्र तयार भैसकेको छ, त्यसलाई शीर्ष नेताले फाइनल टच गरेपछि घोषणाको मिति र समय सार्वजनिक हुन्छ’, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भने, ‘विप्लवजी र उपेन्द्र यादवजी अहिले काठमाडौँ उपत्यका बाहिर भएकाले केही समय ढिला हुन पुग्यो ।’

नेता श्रेष्ठका अनुसार अहिलेसम्म भएको सहमति अनुसार समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत सहभागी हुने निश्चित जस्तै छ ।

गौतम नेकपा विभाजनपछि नेकपा एकता अभियान गठन गरेर सोहीमार्फत राजनीतिक गतिविधि गर्दै आएका छन् । यीमध्ये माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी सरकारमा छन् भने विप्लव नेतृत्वको नेकपा र वामदेव नेतृत्वको नेकपा एकता अभियान सरकारबाहिर छन् ।

यता नेकपा माओवादी केन्द्रसँग यसअघि नै पार्टी एकताको तयारीमा रहेको डा. बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी भने उक्त मोर्चामा तत्काल सहभागी हुने नहुने निश्चित भैसकेको छैन ।

‘मोर्चामा विप्लव र वामदेवसहित सरकारमा रहेका तीन दल सहभागी हुने कुरा छ तर वामदेवले एउटै चुनाव चिह्नको कुरा अघि सार्नुभएको छ’, श्रेष्ठको भनाइ छ ।

उनले अग्रगामी राजनीतिक परिवर्तनका पक्षधरहरु मिलेर मोर्चा गठन गर्न लागेको पनि बताए ।

‘सङ्घीयता,लोकतन्त्र, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतालगायतका युगान्तकारी परिवर्तनका पक्षधरहरू मोर्चामा आबद्ध हुन्छन्’, श्रेष्ठले रातोपाटीसँग भने, ‘प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि मोर्चामार्फत सङ्घर्ष गर्ने मुख्य उद्देश्य रहन्छ ।’

उनले नेपालमा सङ्घीय शासन प्रणालीअनुरूपको समाजवाद र  नेपालको समाजवाद नेपाली विशेषताकै हुनुपर्छ भन्ने मोर्चाको सैद्धान्तिक मान्यता रहने जनाए ।

‘समाजवादको नेपाली बाटो कोर्नुपर्छ र यसैका आधारमा अघि बढ्नुपर्छ भन्ने नै मुख्य कुरा हो’, श्रेष्ठले भने, ‘पछि मोर्चालाई विकसित गर्दै एउटै पार्टी बनाउने कि भन्नेसम्मको छलफल पनि भएको छ ।’

कार्यदलस्तरमा भएको सहमति अनुसार मोर्चाको अध्यक्षता ५ वटै पार्टीका अध्यक्षले आलोपालो गर्ने छन् ।

छलफलका क्रममा नेता वामदेव गौतमले भने अहिलेबाटै आगामी निर्वाचनमा मोर्चामा आबद्ध सवै दल एउटै पार्टीबाट चुनाव लड्ने गरी सहमति गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

‘वामदेवले एउटै चुनाव चिह्नबाट चुनाव लड्न प्रस्ताव गर्नुभएको छ । तर त्यो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै एउटै चुनाव चिन्हबारे समय आएपछि छलफल गर्ने सहमति भएको छ’, एक कार्यदल सदस्यको भनाइ छ ।

‘अहिले समाजवादी मोर्चा बनायो, चुनाव आउने बेला फुट्यो र आआफ्नै चिन्हबाट चुनाव लड्ने हो भने केही अर्थ छैन’, गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एउटै चुनाव प्रयोग गर्ने गरी गए मात्र हामी मजबुत हुनसक्छौँ ।’  

नेकपा एकीकृत समाजावादीका उपाध्यक्ष समेत रहेका कार्यदलका सदस्य प्रमेश हमालले समाजवादी मोर्चाको घोषणा शुक्रवार हुनेगरी तयारी भएपनि अझै केही तयारी बाँकी नै रहेको बताए । जसका कारण शुक्रवार नै घोषणा हुने/नहुने निश्चित भइनसकेको बताए । उनले भने, ‘माओवादी, जसपा र हामीबीच मोर्चा बनाउने भनेर लामो समयदेखि गृहकार्य र कुरा भएको थियो । पछिल्लो समय विप्लव र वामदेवसँग पनि कुरा भएको छ, उहाँहरूसँग कुरा हुँदा विप्लवजी सकारात्मक हुनुहुन्छ ।’ हमालले भोलि शुक्रबारसम्म को-को संलग्न हुने भन्ने टुंगो लाग्ने पनि बताए ।

हमालले पनि मोर्चा गठनको उद्देश्य सङ्घीयता, लोकतन्त्र, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता विषयको संरक्षण गर्ने रहेको भन्दै शीर्ष नेतासहित बसेर कार्यदलस्तरले तयार गरेको दस्ताबेजलाई अन्तिम रूप दिँदै मोर्चा घोषणा हुने बताए ।

‘नेताहरूसँग छलफल गरेपछि सबै कुरा मिल्यो भने मोर्चा भोलि नै पनि घोषणा हुनसक्छ । नत्र अर्को दिन पुग्न पनि सक्छ’, हमालको भनाइ छ । उनले मोर्चा समाजवादको लक्ष्य पूरा गर्न आवश्यक सबै कामहरू गर्न केन्द्रित हुने पनि बताए ।

यसैबीच माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारी गरेको नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रलाई एकताका लागि लिखित रूपमा प्रस्ताव गरे पनि माओवादीले अहिलेसम्म कुनै जवाफ नदिएको बताएका छन् । ‘माओवादी पार्टीबाट औपचारिक रूपमा कुनै जवाफ आएको छैन । बुझेअनुसार पार्टीको केन्द्रीय समितिको बैठक बसेर आफूहरूले पठाएको प्रस्तावमाथि छलफल गरी औपचारिक रूपमा जवाफ लेख्ने भनिएको छ’, श्रेष्ठको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप