मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
आर्थिक सर्वेक्षण

बागमती प्रदेशको सार्वजनिक आय र व्यय बढ्दो क्रममा

बिहीबार, ३२ जेठ २०८०, १७ : ४९
बिहीबार, ३२ जेठ २०८०

मकवानपुर । बागमती प्रदेश सरकारको आय र व्ययको अवस्था वृद्धि हुँदै गएको जनाइएको छ । सरकारले बिहीबार बसेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्दै आय र व्ययको अवस्थामा तुलनात्मक रुपमा वृद्धि भएको जनाएको हो ।

सर्वेक्षण अनुसार बागमती प्रदेशका आर्थिक परिसूचकहरुमा केही प्रतिकूल रहे पनि सामाजिक सूचकहरुमा क्रमशः सुधार आएको जनाइएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा प्रदेश सरकार स्थापनाको ५ वर्षमा आम्दानी र खर्च बर्सेनि बढ्दो अवस्थामा रहेको उल्लेख छ । सुरुवाती वर्षहरुको तुलनामा क्रमिक रुपमा प्रदेश सरकारको आम्दानी र खर्चको दायरामा वृद्धि भइरहेको मन्त्री लामाको भनाइ छ ।

आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो वर्षको तुलनामा आय ४३.१३ प्रतिशतले वृद्धि भएको थियो भने खर्च ३५.३५ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा अघिल्लो वर्षको तुलनामा आय २७.०८ र खर्च २७.३६ प्रतिशतले वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष ०७८/०७९ मा आय १८.०७ प्रतिशत र खर्च ६.७३ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ मा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान बापत प्राप्त १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेटबाट काम सुरु गरेको थियो । प्रदेश सरकारले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० को बजेटको आकारमा २२.८९ प्रतिशतले वृद्धि गरेको थियो ।

चालु आर्थिक वर्षका लागि सरकारले ७० अर्व ९३ करोडको बजेट तर्जुमा गरेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ३५ अर्ब ६१ करोड रुपैयाँ, आर्थिक वर्ष २०७६/०७७ का लागि ४७ अर्ब ६० करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ अर्ब ४२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ मा २६.४० प्रतिशत बजेट खर्च गरेको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा ५७.९९ प्रतिशत, आर्थिक वर्ष २०७६/०७७ मा ५८.७१ प्रतिशत, आर्थिक वर्ष २०७७/०७८ मा ६९.२२ प्रतिशत, आर्थिक वर्ष २०७८/०७९ मा ६५.८३ प्रतिशत र चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १७ अर्ब ११ करोड रुपैयाँ खर्च गरेको छ ।

सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन २ हजार ४५५ अमेरिकी डलर रहने र प्रदेशको उत्पादन वृद्धिदर १.८ प्रतिशत कायम रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको संख्या ६ हजार १२६ छ भने सोही अवधिमा ४ हजार ६५८ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ । जसअनुसार प्रदेशमा विदेशी लगानी स्वीकृत भएकामध्ये ८१ प्रतिशत उद्योग सञ्चालनमा छन् ।

आर्थिक वर्ष २०७९/०८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन मूल्य ३६.८० प्रतिशत अर्थात् (१९ खर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ) रहने प्रारम्भिक अनुमान आर्थिक सर्वेक्षणमा गरिएको छ । उक्त अंश अन्य प्रदेशहरुको तुलनामा सबैभन्दा बढी हुन आउँछ । जसमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाईकल मर्मत सेवाको योगदान ४ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ, घर जग्गा कारोबार सेवाको योगदान २ खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँ, वित्तीय तथा बीमा क्रियाकलापहरुको योगदान १ खर्ब ७६ अर्ब करोड रुपैयाँ र उत्पादनमूलक उद्योगको योगदान ८९ अर्ब २९ करोड रुपैयाँ छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७७.४ प्रतिशत, कृषि क्षेत्रको योगदान ११.२ प्रतिशत र उद्योग क्षेत्रको योगदान ११.४ प्रतिशत रहेको भने प्रदेशको वृद्धिदर १.८ प्रतिशत कायम हुने अनुमान गरिएको छ ।

प्रदेशमा जम्मा विद्यालय संख्या ६ हजार ९२४ (१९.२१ प्रतिशत) छ भने २ हजार ७३३ वटा निजी तथा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् । आर्थिक सर्वेक्षण अनुसार मुलुकको समग्र कृषि उत्पादनमा बागमती प्रदेशले १७ प्रतिशत योगदान गरेको छ ।

चालु आर्थिक वर्षको २०७९/८० को फागुन मसान्तसम्म प्रदेशमा १६ हजार ४८० किलोमिटर सडक निर्माण भएका छन् । बागमती प्रदेशमा १ हजार १ सय ४९ मेगावाट विद्युत उत्पादन भइरहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

प्रदेशमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ५३ हजार ९५६ नयाँ सवारी साधन दर्ता भएका छन् । प्रदेशमा कुल १५ वटा निकाय अन्तर्गतका १८४ वटा कार्यालय छन् भने सो कार्यालयका लागि ४ हजार १ सय १९ कर्मचारीको स्वीकृत दरबन्दी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप