आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

३ जना कर्णेललाई ‘सजाय कम भएको’ भन्दै सैनिक विशेष अदालतमा पुनरावेदन

आइतबार, ०३ असार २०८०, २३ : ०३
आइतबार, ०३ असार २०८०

काठमाडौँ । पूर्व उपरथी प्रेम शाहीलाई सघाएको आरोपमा कारबाहीमा परेका ३ जना कर्णेल विरुद्ध नेपाली सेनाले माथिल्लो अदालतमा पुनरावेदन गरेको छ । सैनिक ऐन–२०६३ विपरीत  अनुशासन उल्लङ्घन गरेको आरोपमा महासेनानी डा. महेन्द्र जङ्ग शाही र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई कोर्ट मार्सलले विभागीय कारबाही गर्ने निर्णय गरेको थियो । अर्का कर्णेल साम्ब अर्याललाई कोर्ट अफ इन्क्वायरीले ‘सचेत’ गराएको थियो । 

डा. शाही र तिम्सिनालाई कोर्ट मार्सलले दुई–दुई वर्ष प्रमोसन रोक्ने गर्ने निर्णय गरिएको थियो । हाल युएन मिशनमा कार्यरत साम्ब अर्याललाई कोर्ट अर्फ इन्क्वायरीले ‘सैनिक विद्रोह’को कसुरमा सचेत गराउने निर्णय गरेको हो । 

महासेनानी डा. महेन्द्र जङ्ग शाही र प्रमुख सेनानी कुलदीप तिम्सिनाको दुई वर्ष बढुवा रोक्का गर्ने निर्णय भएको सैनिक प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए । उनले भने, ‘सैनिक अनुशासन विपरीत काम गरेको कसुरमा कारबाही गरिएको हो ।’ 

कोर्ट मार्सलको सो निर्णय विरुद्ध सेनाले सैनिक विशेष अदालतमा पुनरावेदन गरेको छ । अनुशासनको कारबाहीमा परेका अधिकृतहरू प्राड विभागका सैनिक अधिकृतहरू हुन् । कोर्ट मार्सलले थोरै सजाय गरेको र उनीहरूलाई थप सजाय हुन माग गरिएको छ । 

२०७९ फागुन १८ मा सेनाले प्रेम शाहीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उपरथी बाबुराम थापा नेतृत्वको कोर्ट अफ इन्क्वायरीले दिएको प्रतिवेदनका आधारमा उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठित जनरल समरी अदालतमा गठन भएको सैनिक अदालतले प्रेम शाहीलाई बर्खास्त गरेको थियो । 

महासेनानी डा. महेन्द्र जङ्ग शाही र प्रमुख सेनानी कुलदीप तिम्सिना र अर्का कर्णेल अर्यालले प्रेम शाहीलाई सघाएको सेनाको आरोप छ । तीनै जना अधिकृतहरू पूर्वप्रधान सेनापति पूर्णचन्द्र थापा निटक भनेर चिनिन्छन् । 

पूर्व उपरथी शाहीले ‘महेन्द्रलाई भेट्नु’ भनेर लेखेको चिट बरामद भएपछि उनीहरू अनुसन्धानमा तानिएका हुन् । सैनिक विशेष अदालतमा पुनरावेदन गरेसँगै न्याय परिषद्को सिफारिसमा पुनरावेदन अदालतका न्यायाधीशको अध्यक्षतामा रक्षा मन्त्रालयका सचिव र सेनाको प्राड विभागका प्रमुख सदस्य रहेको अदालत गठन गरिएको छ । सैनिक विशेष अदालत बिहीबार बस्छ । 

गत साता पुनरावेदन अदालतका न्यायाधीश उपस्थित नभएपछि ३ जना कर्णेलहरूको मुद्दामा सुनुवाइ भएन । आगामी बिहीबार त्यसबारे सुनुवाइ हुने एक जना उच्च सैनिक अधिकृतले रातोपाटीलाई बताए । 

महासेनानी डा. महेन्द्र जङ्ग शाहीले सेनाको कोर्ट मार्सलको फैसला ‘सर्वोच्चबाट बदर गराउँछु’ भन्ने गरेको जङ्गी अड्डामा कार्यरत अधिकारीहरू बताउँछन् । कर्णेल साम्ब अर्याललाई मिसनबाट फर्केपछि थप अनुसन्धान गर्न कोर्ट मार्सल गर्ने सैनिक नेतृत्वको तयारी रहेको जङ्गी अड्डामा कार्यरत एक जना उच्च सैनिक अधिकारीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप