आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
नागरिकता समस्या

बुवा र आमाकै नागरिकता चाहिने प्रावधानले फेरि नागरिकताबाट वञ्चित !

नागरिकता लिनेको अत्यधिक चाप छ, स्रोत, साधन र जनशक्तिको कमी भयो :  प्रजिअ यादव
मङ्गलबार, १२ असार २०८०, १४ : ५९
मङ्गलबार, १२ असार २०८०

विराटनगर । मोरङ विराटनगरका सागर विश्वास नागरिकता पीडित सङ्घर्ष समितिका अभियन्ता पनि हुन् । तर उनी नागरिकताबाट अझै वञ्चित हुने देखिएको छ । किनकि उनीसँग आमाको नागरिकता छ तर बुवाको छैन । पहिचान भएर पनि बुवाको नागरिकता नपाउँदा उनलाई दुःख लागेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगर परिसरमा भेटिएका उनले दुःखेसो गरे, ‘नागरिकता पाउनकै लागि विराटनगरदेखि काठमाडौँसम्म विभिन्न आन्दोलनमा सहभागी भएँ । लाठी खाइयो, गाली खाइयो । त्यही कारण सबैले नागरिकता पाउँदैछन्, सबै खुसी देख्छु । तर मैले नै नपाउने अवस्था बन्यो ।’

विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिने जन्मसिद्धका सन्तानहरूको लामो लाइन छ । दुःखमा परेका, पीडामा परेका र कागजात नपुगेकाहरूलाई उनले सहयोग पनि गरिरहेकै छन् । तर आफैँ नागरिकताबाट वञ्चित हुनुपर्दा उनले मन अमिलो बनाएका छन् । 

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आफूलाई धेरैले यो विषयमा सोधिरहेको बताए । ‘संविधानको धारा ११ को उपधारा ३ अनुसार अहिले दिन नमिल्ने देखियो । ऐनमा पनि बाबु वा आमा भनेको भए मिल्थ्यो होला । त्यहाँ ‘र’ रहेका कारण दिन मिल्ने देखिएन । उनीहरूको समस्या कसरी समाधान गर्ने भन्ने विषय अदालतमार्फत व्याख्या आवश्यक छ,’  यादवले भने । 

 

Nagarikta (1)

नेपालको संविधान २०७२ को धारा ११ को उपधारा (३) मा जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानले नागरिकता पाउने विषय उल्लेख छ । ‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ संविधानको उक्त उपधारामा उल्लेख छ । यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा २ को उपदफा (२) मा पनि संविधानमा रहेकै प्रावधान राखिएको छ । ‘२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहनेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ उक्त ऐनमा उल्लेख छ । यही प्रावधानले जन्मका आधारमा नागरिकता पाएका तर दुवै दम्पतीको नभएको अवस्थामा उनीहरूको सन्तानले तत्काल नागरिकता नपाउने भएका हुन् । 

Nagarikta (1)

बिहान ४ बजेदेखि नै नागरिकता लिन लाइनमा

यसैबिच जिल्ला प्रशासन कार्यालय मोरङमा बिहान ४ बजेदेखि जन्मसिद्धका सन्तानहरू नागरिकता पाउने आशामा लाइनमा बसेका छन् । कटहरी–६ का साकिर अन्सारीले बिहान साढे ३ बजेदेखि लाइनमा बसेको बताए । यस्तै धनपालथानका मनोज मुखिया पनि बिहान ४ बजेदेखि लाइनमा बसेको बताउँछन् । 

Nagarikta (3)

विराटनगर–१५ कि रोजी बानुका बुवा बिहानैदेखि छोरीको नागरिकता बनाउन भन्दै लाइनमा बसेका छन् । रोजीले एमबिबिएस इन्ट्रान्स एप्लाई गर्ने प्रयास गरेकी थिइन् । नागरिकता नभएकै कारण उनले इन्ट्रान्सको एप्लाई गर्न पाइनन् । नागरिकता पाउने भएपछि उनले खुसी व्यक्त गर्दै बिहानैदेखि बुवा र आफू पालो गरेर लाइनमा बसिरहेको बताइन् । 

कटहरी–४, तिङ्कु सन्थाल नागरिकताका लागि बिहान–६ बजेदेखि लाइनमा बसेका छन् । उनले आसपासका साना होटलहरूमा नास्ता खाएर नागरिकताका लागि कुरिरहेका छन् । सुन्दरहरैँचाकी मञ्जु रम्तेल, सुनिता राई र सोनी राई पनि नागरिकता पाउने आशामा बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । उनीहरू एकै स्वरमा भन्छन्, ‘नागरिकता नहुँदा हामी एकदमै पीडित छौँ ।’

नागरिकता लिनेको अत्यधिक चाप छ, स्रोत, साधन र जनशक्तिको कमी भयो

वीरेन्द्रकुमार यादव, प्रमुख जिल्ला अधिकारी, मोरङ

–जन्मसिद्धका सन्तानले बाबु वा आमाको नागरिकताबाट नागरिकता पाउँछन् कि पाउँदैनन् ? 

संविधानको धारा ११ को उपधारा ३ अनुसार अहिले दिन नमिल्ने देखियो । ऐनमा पनि बाबु वा आमा भनेको भए मिल्थ्यो होला । त्यहाँ ‘र’ रहेको कारण दिन मिल्ने देखिएन । उनीहरूको समस्या कसरी समाधान गर्ने भन्ने विषय मैले भन्न सक्ने विषय होइन ।

–कार्यविधिले थप व्याख्या गर्न सक्छ कि ऐन र संविधानको धारा नै परिवर्तन गर्नुपर्छ ? 

यो विषयमा मलाई थाहा भएन । संविधान र कानुनले भनेको कुरा गर्ने हो । ऐनमै स्पष्ट आएको कुरालाई हामीले कार्यान्वयन गर्ने हो ।

birendra kumar yadav

–बुवाको मृत्यु भएको वा बेपत्ता भएको भए पनि उनीहरूका सन्तानले नागरिकता पाउँदैनन् ? 

अहिलेका लागि नागरिकता पाउनका लागि बुवा र आमा दुवै जनाको नागरिकता हुनुपर्छ । बुवा नभएमा भनेको बुवाको पहिचान नभएमा भनेको हो । पहिचान भएकाको हकमा उनले नागरिकता नपाउने देखिन्छ ।

–नागरिकता वितरणमा निक्कै भीड देखियो । यो कसरी व्यवस्थापन गरिरहनुभएको छ ? 

यसलाई कसरी व्यवस्थापन गर्ने भनेर हामीले पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग बसेर छलफल गरेका थियौँ । मेनपावर, स्रोत, साधनबाट अहिले जति सकेका छौँ, त्यति टोकन प्रणालीबाट नागरिकता वितरण गरिरहेका छौँ । यसरी वितरण गर्दा समय धेरै लाग्ने देखिएको छ । अहिलेको मेनपावरले यसअघि नै काम भ्याउन सकिरहेको थिएन । अब थप कामको लोड बढेका कारण हामीले गृह मन्त्रालयलाई जानकारी दिएका छौँ । स्रोत, साधन र मेनपावर थप भए हामी छिटो नागरिकता वितरण गर्न सक्ने थियौँ । 

–मोरङमा अहिलेसम्म जन्मका आधारमा नागरिकता पाएकाका सन्तानमध्ये कतिले नागरिकता पाए ? 

हिजोसम्म मोरङ जिल्लाभरबाट १२८ जनाले नागरिकता पाएका छन् । 

–दिनभरमा कति नागरिकता वितरण गर्ने भन्ने कुनै मापदण्ड छ ? 

छैन । जति धेरै दिन सक्छौँ, प्रयास गर्ने भनेका छौँ । नर्मल नागरिकताको प्रतिलिपि पनि रोक्ने कुरा भएन । अहिले थप भएपछि हामीले छुट्टै तीन जना जनशक्ति छुट्याएर छुट्टै शाखा बनाएर काम गरिरहेका छौँ । 

–लामो लाइनको अन्त्य कहिले होला ?

हामीले सिफारिस भएर आउने मानिसहरू फर्किएर नजाओस् । दोहोरो ढङ्गले कागज पुर्‍याउने झन्झट नबेहोरोस् भनेर सचेत गराएका छौँ । त्यस्तै टोकन बाँडिसकेका मानिसहरू पनि फर्किन नपर्ने गरी कागजात पूरा गरेर आओस् भनेर काम गरिरहेका छौँ । यद्यपि धेरै सङ्ख्यामा सर्वसाधारण भएका कारण अलिक समय समस्या पर्ने देखिएको छ । 

–मोरङमा नागरिकता पाउन योग्य कति मानिस जन्मसिद्धका सन्तान रहेका होलान् ?

करिब ८० हजार होलान् । 

–पालिकाहरूलाई कोटा छुट्याएर सिफारिस गर्ने वा पालिकाको आधारमा बार छुट्याएर नागरिकता वितरण गर्ने विकल्प पनि थियो नि ?

हामीले पालिकाका जनप्रतिनिधिहरूसँग छलफल पनि गरेका छौँ । त्यसरी पालिकालाई नै बार छुट्याउँदा विराटनगर महानगरमा धेरै मानिस छन् । त्यस कारण अहिले केही गरिएन । त्यस कारण एक दुई दिन हेरौँ, स्थिति के हुन्छ भन्नेमा छौँ । 

–बिहानदेखि बेलुकासम्मको सिफ्टमा चलाउने हो कि ? 

त्यो गर्न त सकिन्छ तर त्यसका लागि ओभरटाइम खाजा, नास्ताको व्यवस्थापन कसरी गर्ने ? स्रोतको व्यवस्थापन छैन । कहीँ मिलेछ भने गर्ने नै हो । हामीले यस विषयमा गृहमन्त्रालयलाई जानकारी पनि दिइसकेका छौँ ।

–स्थानीय सरकार तथा प्रदेश सरकारले केही सहयोग गर्न सक्दैनन् ? 

स्थानीय सरकारसँग छलफल भइरहेको छ । अब प्रदेश सरकारसँग पनि केही स्रोतको व्यवस्थापनको लागि पहल गर्ने तयारी गरेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप