सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
क्रिकेट

बेलायती क्रिकेटको अँध्यारो पक्ष

खेल मैदानमा छालाको रङ र लैङ्गिक विभेदको पीडा छताछुल्ल
बुधबार, १३ असार २०८०, ११ : ०९
बुधबार, १३ असार २०८०

काठमाडौं । विश्व २१ औं शताब्दीमा दौडिँदै छ । विज्ञान र प्रविधिको द्रुततर विकासले विश्व समुदायलाई नै साँघुरो बनाउँदै लगेको छ । भोक, रोग र अशिक्षाबाट मुक्ति पाउन संघर्ष गरिरहेका राष्ट्रहरुमा समेत मानव अधिकार हनन्का सानाभन्दा साना घटनाले समेत ठूलै चर्चा पाउने अवस्था छ ।

संयुक्त राष्ट्र संघ (यूएन) ले मावनअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको पनि ७५ वर्ष पुगिसकेको छ । त्यसमाथि बेलायत आफैँमा परम्परा, संस्कृति र सभ्यतामा विशेष गौरव आर्जन गरेको देश ।

तर, मंगलबारमात्र सार्वजनिक गरिएको एउटा अध्ययनले बेलायतको निकै अँध्यारो पक्षलाई उजागर गरेको छ । त्यो पनि खेल मैदानमा हुने गरेको विभेदको कथालाई त्यो अध्ययनले गहन गरिकाले केलाएको छ ।

निकै लामो समय लगाएर गरिएको उक्त अनुसन्धानको नतिजाले भन्छ, बेलायती क्रिकेटमा अझै पनि जातिवाद, लिङ्गवाद, वर्गवाद, रङ्गवाद र कुलीनतावादले गहिरो जरा गाडेको छ । अर्थात्, अहिले पनि इङ्ल्यान्ड र वेल्सको क्रिकेटमा छालाको रङका आधारमा हुने दुर्व्यवहार, जातको आधारमा हुने दुर्व्यवहार, लिङ्गको आधारमा हुने दुर्व्यवहार, वर्गका आधारमा हुने दुर्व्यवहार र आर्थिक पक्षलाई लिएर हुने दुर्व्यवहार कहालिलाग्दो अवस्थामा छ ।

दुई वर्ष लगाएर गरिएको उक्त अनुसन्धानको नतिजाका लागि सम्बद्ध पक्षहरुले अधैर्यतापूर्वक प्रतीक्षा गरिरहेका थिए । क्रिकेटमा समानताका लागि स्वतन्त्र आयोग (आईसीईसी) ले उक्त अनुसन्धान गरेको समाचारमा जनाइएको छ ।

आईसीईसीद्वारा गरिएको अध्ययनको नतिजामा इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) लाई ४४ वटा महत्त्वपूर्ण सुझाव पनि दिइएको छ । सुझावमा हालसम्म भएका गल्ती र कमी÷कमजोरीका लागि ईसीसीले सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्ने सुझाव पनि समेटिएको छ ।

ईसीबीले पनि उक्त अनुसन्धानको नतिजा र दिइएका सुझावहरुलाई सकारात्मक ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ‘यो महत्त्वपूर्ण विषय हो । अनुसन्धानको नतिजालाई हामीले गम्भीर रुपमा लिएका छौं र त्यसलाई व्यवहारमा उतार्ने प्रयास गर्नेछौं,’ ईसीबीका अध्यक्ष रिचर्ड थम्पसनले भनेका छन् ।

‘मी टु’ अभियान र अश्वेत खेलाडीको पीडाले जन्माएको आईसीईसी  

ईसीबीले सन् २०२१ को मार्चमा इङ्ल्यान्डको क्रिकेटमा समानताको विषयलाई लिएर अध्ययन गर्न आईसीईसी गठन गरेको थियो । ईसीबीले अनुसन्धान आयोग गठन गर्नुअघि विश्वभर ‘मी टु’ अभियानले उग्ररुप लिइरहेको थियो ।

यसैगरी सोही समयमा काला जातीमाथि हुने गरेको दुर्व्यवहारको विषय पनि चर्को रुपमा उठेको थियो । यी दुवै समवेदनशील विषयको छायाँ विश्व खेलकुदमा समेत परेको थियो । त्यसैले पनि ईसीबी क्रिकेटमा स्वतन्त्रताको विषयलाई लिएर अनुसन्धानका लागि आईसीईसी गठन गर्न बाध्य भएको थियो ।  

आईसीईसीले क्रिकेट मैदानमा भोग्नु परेको कुनै पनि प्रकारको दुर्व्यवहारको विषयमा जानकारी र प्रमाण उपलब्ध गराउन सन् २०२१ को नोभेम्बरमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यसका लागि आईसीईसीले छुट्टै टेलिफोन नम्बरसमेत सार्वजनिक गरेको थियो ।

1687868663787

त्यो नम्बरमा चार हजार एक सय ५६ जनाले आफ्नो पीडा पोखेका थिए । त्यसपछि सन् २०२२ को मार्चमा आईसीईसीले आफूसँग भएको लिखित प्रमाण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको थियो । त्यो सूचना सार्वजनिक भएपछि एक सय ५० जनाले आईसीईसीसँग सम्पर्क गरेका थिए ।

आश्चर्य त के छ भने, प्रमाण उपलब्ध गराउन सार्वजनिक सूचना जारी भएपछि इङ्ल्यान्डको राष्ट्रिय टेस्ट क्रिकेट टोलीका प्रभावशाली कप्तान बेन स्टोक्सले समेत आईसीईसीसँग सम्पर्क गरेका थिए । यसैगरी इङ्ल्यान्डको महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान हेथर नाइट, पुरुष क्रिकेट टोलीका पूर्वकप्तान जोय रुट, इङ्ल्यान्डलाई विश्वकप जिताउने पुरुष टोलीका कप्तान इयोन मोर्गन, अजिम रफिकलगायतले पनि आईसीईसीसँग सम्पर्क गरेका थिए ।

दुई वर्ष लामो अनुसन्धानपछि आईसीईसीले मंगलबार तीन सय १७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा खेलकुद क्षेत्रमा संरचनागत र संस्थागत विभेद ब्यापक रहेको उल्लेख गरिएको छ । खेलकुद क्षेत्रमा पुरुषलाई माथिल्लो दर्जा र महिलालाई तल्लो दर्जाका रुपमा व्यवहार गरिने गरेको विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संकोच र त्रासमा बाँचेका छन् खेलाडी

यसैगरी इङ्ल्यान्डको क्रिकेटमा वर्गीय विभेद व्यापक रहेको र कुलीन वर्गको दबदबा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । अश्वेत खेलाडीले आफ्नो अस्तित्व जोगाउन ठूलै संघर्ष गर्नुपर्ने अवस्था रहेकाले यसतर्फ इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले विशेष ध्यान पुर्‍याउनु पर्ने प्रतिवेदनमा उल्लेख छ ।

आफूले दुर्व्यवहारको सामना गर्नु परे पनि धेरै खेलाडी संकोच वा त्रासका कारण सम्पर्कमा नआउने गरेको पनि प्रतिवेदनमा जनाइएको छ । अम्पायर र निर्णायकहरुले पनि दुर्व्यवहारको घटनालाई गम्भीर रुपमा नलिएको समेत प्रतिवेदनमा औंल्याइएको छ । ‘अम्पायरहरुले पनि दुर्व्यवहारको उजुरीलाई गम्भीर रुपमा लिने गरेको पाइँदैन । यसतर्फ पनि ध्यान पुर्‍याउनु आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ ।

‘दुःखपूर्वक भन्नु पर्छ, क्रिकेट अझै पनि सबैको साझा खेल बन्न सकिरहेको छैन । मैदानमा अझै पनि विभेद छ र फरक÷फरक दुर्व्यवहारका थुप्रै घटना क्रिकेट मैदानमा उदाङ्गो हुने गरेका छन्,’ प्रतिवेदनको विषयमा प्रतिक्रिया दिँदै आईसीईसीका अध्यक्ष सिन्डी बट्सले भनेका छन् ।

खेल मैदानमा हुने हरेक प्रकारका दुर्व्यवहारका घटनालाई निमिट्यान्न पार्न सम्बन्धित निकायहरु गम्भीर भएर लाग्नुपर्ने सुझाव पनि उनले दिएका छन् । ‘यो कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव हुने कुरा होइन । किनभने दुर्व्यवहारका घटनाहरुले खेलकुदको मैदानमा निकै तलसम्म जरा गाडिसकेको छ,’ अध्यक्ष सिन्डी भन्छन्, ‘यसका लागि सबैका सामूहिक प्रयास आवश्यक छ ।’

आईसीईसीका अध्यक्ष सिन्डीले ईसीबीको हिम्मतको प्रशंसा पनि गरेका छन् । ‘पक्कै पनि क्रिकेट मैदानमा हुने दुर्व्यवहारजस्तो गम्भीर विषयमा स्वतन्त्र अध्ययन÷अनुसन्धान गराउनु निकै ठूलो हिम्मतको विषय हो । यसका लागि ईसीबीका पदाधिकारीहरु धन्यवादका पात्र हुन्,’ उनले भनेका छन् ।

थम्पसनले पनि स्वतन्त्र रुपमा दुर्व्यवहारको विषयमा अनुसन्धान गरेकोमा आईसीईसीप्रति आभार ब्यक्त गरेका छन् । ‘पक्कै पनि क्रिकेट सबैको खेल बन्न सक्नुपर्छ । म विश्वास दिलाउन चाहन्छु, अब क्रिकेट मैदानमा विभेद र दुर्व्यवहारका घटनाहरु विस्तारै कम हुँदै जानेछन्,’ अध्यक्ष थम्पसनले भनेका छन् ।

GettyImages-1260034252-e1622555138584-925x530

बेलायती क्रिकेटमा जातीय विभेदको कालो रुप

इङ्ल्यान्डको क्रिकेटमा पुरुष र महिला खेलाडीको पारिश्रमिक, ‘म्याच फि’जस्ता विषयमा पनि ठूलो अन्तर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘यी विषयहरु पनि विभेदकै एउटा रुप हुन्, त्यसैले यसको समाधान खोज्न अब विलम्ब गर्नु हुँदैन,’ प्रतिवेदनमा भनिएको छ ।

बेलायती क्रिकेटमा समानताको विषयलाई लिएर ईसीबीले प्रत्येक तीन वर्षमा सरकारलाई प्रतिवेदन बुझाउने गरेको छ । तर, त्यो औपचारिकतामा मात्र सीमित रहँदै आएको छ । किनभने अहिले पनि इङ्ल्यान्ड तथा वेल्स क्रिकेटमा विभेद र दुर्व्यवहारको समस्या भने जहाँको त्यहीँ छ ।

योर्कशायरका पूर्वस्पिनर अजिम रफिकले सन् २०२१ मा आफूमाथि जातीय दुर्व्यवहार भएको आरोप लगाएका थिए । त्यतिबेला इङ्ल्यान्ड र वेल्सको क्रिकेट संस्थागत रुपमै जातीय दुर्व्यवहारलाई प्रोत्साहन गर्ने खालको भएको आरोपसमेत लगाइएको थियो । त्यसपछि ईसीबीले जातीय दुर्व्यवहारका घटनाहरुलाई रोक्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

आईसीईसीका अनुसार, अध्ययनका क्रममा सम्पर्कमा आएका ५० प्रतिशतले अघिल्लो पाँच वर्षको अवधिमा आफूहरुले कुनै न कुनै प्रकारको विभेद र दुर्व्यवहारको सामना गर्नु परेको बताएका थिए । जातीय रुपमा कमजोर वर्गका ८७ प्रतिशत खेलाडीले आफू विभेद र दुर्व्यवहारको सिकार भएको प्रतिक्रिया दिएका थिए ।

यसैगरी पाकिस्तानी र बंगलादेशी मूलका ८२ प्रतिशत तथा भारतीय मूलका ७५ प्रतिशत बेलायती खेलाडीले आफूहरु कुनै न कुनै रुपमा विभेद र जातीय दुर्व्यवहारको सिकार भएको बताएका थिए । जातीय दुर्व्यवहारमा परेको आरोप लगाउने अधिकांश खेलाडी अश्वेत थिए ।

कतिपय अवस्थामा त खेलाडीहरुको धार्मिक आस्थामाथि समेत भद्दा प्रहार गर्ने गरेको पाइन्छ । खासगरी मुस्लिम खेलाडीहरुले प्रार्थना गर्दा त्यसलाई मजाकको रुपमा लिने र अस्वाभाविक टिप्पणी गर्ने गरेको गुनासाहरु पनि आउने गरेका छन् ।

GettyImages-1502417015-scaled-e1687854897310-980x530

‘आरोपहरुलाई हेर्दा इङ्ल्यान्ड तथा वेल्सको क्रिकेटमा जातीय दुर्व्यवहारका घटना सामान्यजस्तै बनेका छन् । यो डरलाग्दो विषय हो । यसतर्फ ईसीबी समवेदनशील बन्नै पर्ने हुन्छ । आगामी पुस्ताको क्रिकेटलाई नयाँ स्वरुप प्रदान गर्न पनि सुधार आवश्यक भइसकेको छ,’ आईसीईसीको प्रतिवेदनमा भनिएको छ ।

लैङ्गिकतालाई प्रश्रय दिने कुरुप संस्कृति

बाहिरबाट हेर्दा इङ्ल्यान्ड तथा वेल्स क्रिकेटमा पुरुष र महिला खेलाडीमा कुनै विभेद देखिँदैन । तर, भित्री रुप भने सफा छैन । महिला खेलाडीको उत्थानका लागि विभिन्न प्रयास भएको भनिए पनि व्यवहारमा देखिने स्वरुप फरक छ ।

पुरुष र महिला खेलाडीको पारिश्रमिक, म्याच फि र पुरस्कार रकममै पनि निकै ठूलो अन्तर देखिन्छ । अझै पनि महिलाहरु निर्णायक तहमा पुग्न संघर्ष गरिरहेका छन् । अहिले नै हेर्ने हो भने पनि बेलायती क्रिकेटको नीति निर्माण गर्ने तहमा निकै कम महिलाको उपस्थिति छ ।

सञ्चार माध्यममा पनि पुरुष खेलाडीको तुलनामा महिला खेलाडीको चर्चा खासै भएको पाइँदैन । कुलीन वर्गका महिलालाई अपवाद मान्ने हो भने अहिले पनि अधिकांश महिला खेलाडीले खेल्नकै लागि पनि ठूलै संघर्ष गर्नुपर्ने अवस्था छ ।

आईसीईसीले पनि आफ्नो अध्ययनका क्रममा यस्ता थुप्रै घटना फेला पारेको जनाएको छ । आईसीईसीका अनुसार, बेलायती क्रिकेटमा अहिले पनि महिलालाई लैङ्गिक विभेद गर्ने र विभिन्न बहानामा प्रताडन गर्ने परम्परा कायमै छ ।

यस्तै विभेदको एउटा गतिलो उदाहरण लर्डसको क्रिकेट मैदानसँग पनि जोडिएको छ । इङ्ल्यान्डकै महिला खेलाडीले पनि अहिलेसम्म लर्डसको मैदानमा टेस्ट क्रिकेट खेल्ने अवसर पाएका छैनन् । महिला क्रिकेट प्रतियोगिता आयोजनाका लागि खर्च गरिने रकममा पनि विभेद देखिन्छ । पुरुष क्रिकेटको तुलनामा महिला क्रिकेट आयोजना गर्न खर्च गरिने रकम निकै कम छ ।

एक अध्ययनका अनुसार, एकदिवसीय क्रिकेट खेल्ने पुरुष क्रिकेट खेलाडीको तुलनामा महिला खेलाडीले पाउने पारिश्रमिक २०.६ प्रतिशतले कम छ । यसैगरी पुरुष क्रिकेट टोलीको कप्तानको तुलनामा महिला टोलीको कप्तानलाई दिइने सुविधा पनि ३१ प्रतिशतले कम हुन्छ ।

यसका अतिरिक्त घरेलु प्रतियोगिता खेल्ने पुरुष खेलाडी र महिला खेलाडीको पारिश्रमिकमा पनि निकै ठूलो अन्तर रहेको आईसीईसीले जनाएको छ । ‘ईसीबीले दिने पारिश्रमिक र सुविधामै पनि पुरुष र महिला खेलाडीबीच निकै ठूलो अन्तर देखिन्छ । यो दुःखद् पक्ष हो,’ प्रतिवेदनमा भनिएको छ ।

यसैगरी महिला खेलाडीले लैङ्गिक दुर्व्यवहारको सामना गर्नु परेको गुनासो पनि आउने गरेका छन् । ‘अहिले हामी सन् १९२३ मा होइन, सन् २०२३ मा बाँचिरहेका छौं । तर, अहिले पनि क्रिकेट मैदानमा महिलाले दुर्व्यवहार सहनु परेको गुनासो आउन रोकिएको छैन,’ आईसीईसीका अध्यक्ष सिन्डी भन्छन्, ‘यस्तै एउटा गुनासो हामीले सुन्नु परेको थियो । महिला खेलाडी स्कोर बक्समा जाँदा उनलाई भद्दा संकेत गरेर ब्रा (महिलाको भित्री वस्त्र)हरुलाई यहाँ आउने अनुमति छैन भनिएको थियो । सोच्दा पनि दुःख लाग्छ, हामी कुन संस्कार र सभ्यतामा बाँचिरहेका छौं भनेर ।’

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप