शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
पशु तथा मानव स्वास्थ्य

प्राणीरुजा रोगहरूको नियन्त्रण कसरी गर्ने ?

शुक्रबार, २२ असार २०८०, ११ : ४३
शुक्रबार, २२ असार २०८०

रेबिज, क्षयरोग, ब्रुसेलोसिस, साल्मोनेलोसिस यस्ता रोग हुन्, जुन मानिस एवं पशुपक्षी दुवैमा पाइन्छन् । यी रोग पशुबाट मानिसमा सर्ने र मानिसबाट फैलिँदै आएका छन् । 

यस्ता रोग मेरुदण्डधारी घरपालुवा एवं जंगली पशुपक्षी र मानिसबीच सञ्चारित हुन्छन्, जसलाई जुनोटिक अर्थात् प्राणीरुजा रोग भनिन्छ ।

सन् १९४० देखि १९८० को दशकमा प्राणीरुजा रोग विश्वमा बढ्दो रूपमा थियो । पछिल्ला वर्ष खासगरी सन् १९९० देखि २००० सम्म यो बढ्दो मात्रामै देखिन्छ । सन् १९४० देखि २००४ सम्म विश्वका विभिन्न क्षेत्रमा देखा परेका सङ्क्रामक रोगका ३३५ घटनालाई विश्लेषण गरेर हेर्दा त्यस अवधिमा ७० प्रतिशतभन्दा पनि बढी उदाउँदा सङ्क्रामक रोग प्राणीरुजा थिए, (केट ई जोन्सको नेतृत्वमा गरिएको अध्ययन, सन् २००८ मा ‘नेचर’मा प्रकाशित) ।

संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार ६० प्रतिशत सङ्क्रामक रोग प्राणीरुजा हुन् र ७५ प्रतिशतभन्दा बढी नयाँ उत्पत्ति सङ्क्रामक रोग जनावरमा उत्पन्न हुन्छन् । 

वर्ष १९९० देखि २०२१ सम्म विश्वको जनसंख्यामा लगभग पाँच गुणा वृद्धि भएको छ । यसैअनुरूप घरेलु पशु तथा जंगली पशुपक्षी मानिसको आहार बन्दै आएका छन् । जसको फलस्वरूप पशुहरू एवं वन्यजन्तु र मानिसका बीच विश्वभरि सम्पर्क बढ्दो छ । 

रोग नियन्त्रणमा पशुचिकित्सक 

पशु चिकित्सकहरू, पशु स्वास्थ्यकर्मीहरू, पशुपालकहरू, पशु उत्पादन प्रविधिसँग सम्बन्धित व्यक्तिहरू, प्रयोगशालामा कार्यरत वैज्ञानिकहरू एवं कामदारहरूले प्रत्यक्ष रूपमा प्राणीरुजा रोगसँग सामना गर्ने गरेका छन् । खेतमा काम गर्ने किसान एवं मजदुरसहित जनसाधारण पनि यी रोगबाट अछुतो हुँदैनन् ।

 रेबिज, क्षयरोग, ब्रुसेलोसिस, साल्मोनेलोसिस यस्ता रोग हुन्, जुन मानिस एवं पशुपक्षी दुवैमा पाइन्छन् । यी रोग पशुबाट मानिसमा सर्ने र मानिसबाट फैलिँदै आएका छन्, जसलाई जुनोटिक अर्थात् प्राणीरुजा रोग भनिन्छ ।

निसन्देह प्राणीरुजाको नियन्त्रणमा पशु चिकित्सक महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम छन्, तर प्राणीरुजा रोग नियन्त्रणमा बहुक्षेत्रीय एवं बहुविषयक सहयोग आवश्यक छ । खासगरी यसको जोखिम कम गर्न यसबारे सचेतना एवं ज्ञान बढाउने कार्यक्रम ल्याइनुपर्छ । 

गोठ–खेत आदिबाट घर–भान्सा पुग्ने खाद्य उत्पादनसँग प्राणीरुजा रोग जोडिएको हुन्छ । यिनको स्वच्छतामा ध्यान पुर्‍याइनुपर्छ । यी रोगसँग जोडिएका प्रणालीको निगरानी गर्न र पशुपक्षी एवं यससँग सम्बन्धित वस्तुको विनिमय गर्नका लागि उपयुक्त प्रविधि अपनाउन पशुचिकित्सामा ध्यान दिइनुपर्छ । पशुपालकको सेवामा कार्यरत पशुचिकित्सकले ब्रुसेलोसिसजस्ता प्राणीरुजा रोगको रोकथामका लागि खोप लगाउन मुख्य भूमिका निर्वाह गर्छन् । 

प्राणीरुजा रोग कम गर्न कृषि तथा वन्यजन्तुहरूको स्थायी सह–अस्तित्वमा ध्यान दिन आवश्यक छ । वन्यजन्तुहरूको आवास संरक्षण गर्न, तिनको आवास क्षतिमा कमी ल्याउन, जैविक विविधता जोगाउन प्रतिबद्ध रहने हो भने प्राणीरुजा रोगको जोखिम कम गर्न सकिन्छ । 

प्राचीनकालमा चिकित्सक प्रायः पुजारी हुन्थे, जसले पशुहरू तथा मानिसहरू दुवैको चिकित्सकीय हेरचार गर्दथे । यस्तो चिकित्सकीय हेरचाह प्राचीन एथेन्स तथा रोममा प्रचलित थियो । प्राचीन समयमा एथेन्स एवं रोममा मासुको सेवन गर्नुभन्दा पहिले त्यसको निरीक्षण एवं परीक्षण गरिन्थ्यो । निरीक्षकद्वारा वर्जित गरिएको मासुलाई फ्याँकिन्थ्यो । प्राचीन रोममा सार्वजनिक वधशाला थिए, जसलाई नियमित निरीक्षण गरिन्थ्यो, तर सरकारी मासु निरीक्षण स्पष्ट रूपबाट रोमन साम्राज्यको पतनसँगै हराएर गयो । 

अहिलेको बदलिएको परिवेशमा सबै कोसिसलाई मिलाएर हेर्ने हो भने प्राणीरुजा रोग स्वास्थ्यकर्मी वा पशुचिकित्साकर्मीले एक्लै नियन्त्रण गर्न सक्ने छैनन । बरु एउटा साझा प्रयासले यसको नियन्त्रण गर्न सकिनेछ । जसका लागि एउटा साझा मञ्च आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप