शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३’ खपाङ्गीमगरलाई

आइतबार, २४ असार २०८०, ०७ : ४६
आइतबार, २४ असार २०८०

लन्डन । नेपाल पत्रकार महासङ्घ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासङ्घ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई सन् २०२३ का लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

यसअघि शाखाले डा बच्चुकैलाश कैनीको संयोजकत्वमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल र लक्ष्मी राई (लारा) रहेको पुरस्कार सिफारिस समिति गठन गरेको थियो । शाखाले यसअघि १ जुन २०२२ देखि मे ३१ भित्र प्रकाशित प्रसारित समाचार सामग्रीसहित पुरस्कारका लागि आवेदन गर्न वा कसैलाई सिफारिस गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

सोअनुसार प्राप्त सामग्रीका आधारमा समितिले पुरस्कृत व्यक्तिको सिफारिस गरेको थियो । खपाङ्गीमगरलाई गोरखापत्र दैनिकमा अप्रिल ८, २०२३ प्रकाशित ‘बेलायतमा नेपाली’ शीर्षकको फिचरका लागि सो पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासङ्घ यूकेका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष खपाङ्गीमगर बेलायतबाट प्रकाशन हुँदै आएको वीनेपाली डटकमको सम्पादक हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा र किंग्स कलेज लन्डनबाट ग्लोबल अफेयर्समा स्नातकोत्तर गरेका छन् ।

विसं २०५९ देखि पत्रकारितामा प्रवेश गरेका खपाङ्गीमगर सन् २०१० देखि बेलायतमा बसोबास गर्दै आएका छन् । उनले दृष्टि साप्ताहिक, राष्ट्रिय पथ साप्ताहिक, गोरखापत्र दैनिक, गोरखा सैनिक आवाज मासिक, सगरमाथा टेलिभिजन, युरोपको नेपाली पत्र साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् ।

बेलायतमा कार्यरत नेपाली पत्रकारहरूलाई विस्तृत र खोजमूलक पत्रकारितामा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शाखाले सो पुरस्कारको स्थापना गरेको हो । हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि ५०२ पाउण्ड र प्रमाणपत्र रहेको छ । यसअघि सो पुरस्कार श्रीभक्त खनाल, नवीन पोखरेल र खेमराज रानाभाटले पाइसकेका छन्। पुरस्कार शाखाको आइतबार अल्डरसटमा आयोजित १२ औँ वार्षिकोत्सव तथा च्यारिटी नाइटमा वितरण गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप