सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत: काँग्रेस सांसद

आइतबार, २४ असार २०८०, १६ : ५१
आइतबार, २४ असार २०८०

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन् । 

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहाल प्रचण्डले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताएका हुन् । 

उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउनेगरी बोल्न नमिल्ने बताए । त्यस्तै प्रतिपक्ष नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताए । 

उनले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताए ।  महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद् विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराए । 

उनले भने, ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदहरुको र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्‍याउनेगरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन । प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो । सार्वजनिक रुपमा प्रतिपक्ष दलले किन हामी सत्तारुढ पार्टीकै कयौँ सांसदले पनि प्रधानमन्त्रीबाट गल्ती भएको हामीले भनेकै हौँ । बोल्न हेक्का पुर्‍याउने कुरा जसरी प्रधानमन्त्रीबाट भएन । त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच÷पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्ने गरी राजीनामा माग्ने काम पनि नेकपा(एमाले)बाट बेठिक भएको हो ।’ 

त्यस्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काँग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छट्पटि देखाएको बताए । उनले एमालले परिपक्व राजनीति नगरेको बताए । 

उनले भने, ‘एमाले सत्तामा जान नपाएर छटपटिएको छ । कहिले जलहरी प्रकरणमा बुरुक्क उफ्रिन्छ, कहिले बजेटको प्रकरणमा बुरुक्क उफ्रिन्छ । फेरि यसो हेर्दै गयो आफ्नै नाम कता–कता मुछिन्छ । फेरि थचक्क बस्छ । अहिले पनि बुरुक्क उफ्रियो फेरि चिसो पानीले नुहाउने बेला भइसकेको छ । त्यसैले यो आक्रमण उहाँमाथिको भन्दा पनि अलि सह्य गरेर परिपक्व राजनीति नगर्दाको परिणाम हो ।’

काँग्रेस सांसद राजन केसीले संसदलाई बन्द गर्नु जनताको मुख बन्द गर्नुभएको टिप्पणी गरे । सांसदलाई जुनसुकै कुरामा बन्द गर्नु एमालेको रणनीति नै भएको उनले बताए । 

उनले भने, ‘व्यवस्थापिका सांसद भनेको जनतासँग प्रत्यक्ष वार्ता गर्ने थलो पनि हो । समस्या समाधान गर्ने थलो पनि हो । त्यसलाई बन्द गर्नु भनेको जनताको मुख बन्द गर्नु हो । उहाँहरुको रणनीति कुनै पनि कुरामा संसद् बन्द गरिहाल्ने यो ठिक होइन । प्रतिपक्षले सोध्न सक्छ, तर सोध्नका लागि बोल्नै दिन्न । संसद् नै बन्द गर्ने ठिक होइन ।’

उनले निरन्तर संसद् बैठक अवरुद्ध गर्न नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप