शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

११ औँ नेपाल-अफ्रिका फिल्म फेस्टिभलमा ‘द ट्रेन अफ साल्ट एन्ड सुगर’ र ‘प्रकाश’ उत्कृष्ट

मङ्गलबार, २६ असार २०८०, ०७ : २०
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । ११ औँ ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२३’ मा नेपाली प्रतिस्पर्धामा दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ उत्कृष्ट भएको छ । प्रकाशबाटै विकास सुवेदीले सर्वोत्कृष्ट स्कृप्टको अवार्ड, प्रकाशकै मान्छे मान्छे गीतबाट एलिस कार्कीले उत्कृष्ट सङ्गीतकारको अवार्ड चुमे ।

शनिबारबाट सुरु भई सोमबार सकिएको फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्रेमगञ्जबाट अभिनेता तेज गिरीले र सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड भाग्यबाट अभिनेत्री नीता ढुङ्गानाले जितिन् । गीति चलचित्र भाग्यले जुरी अवार्ड पायो भने भाग्यबाटै रोशन कुमार श्रेष्ठले सर्वोत्कृष्ट निर्देशकको अवार्ड, भाग्यबाटै  अभिनेता यसराज (सुरज) गराचले अभिनेता तर्फको जुरी अवार्ड र सुनिल कटुवालले सह अभिनेताको अवार्ड जिते । सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र परिवारबाट वसुन्धरा भुसालले पाइन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा अग्रज सङ्गीतकार शम्भुजीत बासकोटा, अभिनेता कृष्ण मल्ल, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार सङ्घका महासचिब सविन श्रेष्ठ, कोशी प्रदेशकी सांसद मिना श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यक्रममा वेस्ट सिनेमाटोग्राफरको अवार्ड  फिल्म हुक्काबाट कृष्णबहादुर थापाले, वेस्ट एडिटरको अवार्ड फिल्म परिवर्तन (द चेन्ज)बाट वीरेन्द्र भाट विपिनले हासिल गरे । 

यस्तै वेस्ट सर्ट फिल्मको अवार्ड प्रधुम्न मिश्र निर्देशित फिल्म दुबिधाले र वेस्ट डक्युमेन्ट्रीको अवार्ड रोशनी केसी निर्देशित वृत्तचित्र डेडिकेसन (समर्पण)ले र वेस्ट स्टुडेन्ट फिल्मको अवार्ड नेपाल फिल्म क्याम्पसका सामल कुमार बज्राचार्यले फिल्म ‘हावाम्यान’बाट जिते । राष्ट्रिय तर्फको निर्णायकमा अग्रज चलचित्र निर्देशक सत्यराज चौलागाई, गायकद्धय नमराज ढुङ्गाना, नारायण थापा, अग्रज एरेन्जर अमोस तामाङ र ध्वनी सम्पादक मनोज परियार थिए । 

अन्तर्राष्ट्रिय तर्फ घानाको सर्ट फिल्म ‘या’ बाट निर्देशक इसी ह्यामोहले जुरी अवार्ड जितिन् । वेस्ट अफ्रिकन डक्युमेन्ट्रीको अवार्ड जिम्वावेको डक्युमेन्ट्रि ‘कलिङ द डेड’ले हासिल गर्दा केन्या र जर्मनको कात्जा बेनरज निर्देशित सर्ट फिल्म ‘वाटु वाटो’ले वेस्ट अफ्रिकन सर्ट फिल्मको अवार्ड हासिल ग¥यो । लिसिनियो एजेभेदो निर्देशित मोजाम्बियाको फिल्म ‘द ट्रेन अफ साल्ट एन्ड सुगर’ले सर्वोत्कृष्ट अफ्रिकन फिचर फिल्मको अवार्ड चुम्यो । नायक अभिनेता आर्यन सिग्देल, निर्देशक सुदर्शन थापा, कान्तिपुरका कपी एडिटर पारस प्रकाश नेपाल, गायिका तथा संगीतविज्ञ झुमा लिम्बु र अभिनेता÷गायक तथा फेसन टोक्नोलोजी विशेषज्ञ फुपु तेन्जिङ शेर्पा अन्तर्राष्ट्रिय अफ्रिकन फिल्मको निर्णायकमा थिए । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय इभेन्ट डिरेक्टर निशु कान्त झा, अन्तर्राष्ट्रिय मेकअप आर्टिष्ट सुष्मा पौडेल (गीता) र सङ्गीतकार सरोज कोईरालासम्मानित भए । 

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजना तथा चलचित्र विकाश बोर्ड र लिक्षण क्रियसन प्रा.लि.को सह आयोजनामा सम्पन्न यो समारोहमा अन्तर्राष्ट्रिय तर्फ ११ का दश वटा अफ्रिकन फिल्म र राष्ट्रिय तर्फ नेपालका १२ वटा गरी कुल २२ वटा फिल्म प्रदर्शन गरियो । 

महोत्सवमा वीरेन्द्र हमालले माईम एक्ट सम्बन्धी एक दिवसीय अभिनेया प्रशिक्षण विभिन्न १८ जनालाई दिए । यस्तै महोत्सवको दोस्रो दिन नेपाली सर्ट फिल्मको अन्तर्राष्ट्रिय बजार विषयमा भएको अन्तर क्रियामा चलचित्र विकाश बोर्ड सदस्य राजु केसी, यो महोत्सवका कोअर्डिनेटर चिरञ्जिवी गुरागाईं, निर्देशक तथा समीक्षक मनोज पण्डित, सर्ट फिल्म निर्माता सुसान्त श्रेष्ठ वक्ता थिए । अन्तरक्रियालाई सञ्चारकर्मी विष्णु सुवेदीले सहजीकरण गरेका थिए ।

समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा अग्रज सङ्गीतकार बासकोटाले यस्तो अन्तर्राष्ट्रिय महोत्सवलाई सरकारले विशेष सहयोग गर्नु पर्ने बताए । आयोजक संस्था कलेज अफ जर्नालिज्मकी प्रिन्सिपल एवम् फेस्टिभल डिरेक्टर डा. मञ्जु मिश्रले अफ्रिकाले आफूहरूलाई बेबस्ता गर्दा पनि नेपालमा महोत्सव गर्दै आएको बताइन् ।

महोत्सवका म्यानेजर डब्बु क्षत्रीले आर्थिक अभावका कारण पनि आफुहरुले यो महोत्सवलाई आफ्नै खर्चमा यहाँसम्म ल्याउन सकेको बताए । महोत्सवबाट अफ्रिका महाद्धिप र बारिहका सिनेकर्मीले अफ्रिकामाथि बनेका उत्कृष्ट फिल्मलाई देखाउने गरेको क्षत्रीले बताए ।

समापन समारोहमा गायक सविन सुवेदीले गीत प्रस्तुत गरेर दर्शकलाई मनोरम तुल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप