बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन

बिहीबार, ३२ असार २०८३, २१ : १५
बिहीबार, ३२ असार २०८३

बाँके । पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता फत्तेसिंह थारुको ८७ वर्षको उमेरमा नेपालगञ्जमा निधन भएको छ ।

मुटुमा समस्या देखिएपछि वेस्टर्न अस्पतालमा उपचार गराइरहेका थारुको हृदयघातका कारण आज निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिएका छन् । देवकोटाका अनुसार नेता थारुको पार्थिव शरीरको दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाटमा गरिने तय भएको छ ।

विसं १९९६ मा बाँकेको थपुवा गाउँ (हाल बैजनाथ गाउँपालिका) मा जन्मिएका थारुको राजनीतिक यात्रा निकै लामो र प्रभावकारी रहेको थियो । राप्रपा नेता तेजविक्रम शाहका अनुसार थारु विसं २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

बहुदलीय व्यवस्था स्थापनापछि पनि उनी विसं २०५१ को निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । आफ्नो राजनीतिक जीवनमा थारुले शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग र वाणिज्यलगायतका विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सात पटक मन्त्री बन्ने अवसर पाएका थिए ।

नेता थारुले विसं २०२३ मा बाँकेको हस्नापुर गाउँपञ्चायतको प्रधानपञ्च बनेर आफ्नो राजनीतिक यात्राको सुरुवात गरेका थिए । उनी तीन पटकसम्म बाँके जिल्ला पञ्चायतको सभापतिसमेत बनेका थिए । स्वर्गीय थारुका दुई श्रीमती र चार छोराछोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप