शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय

नीतिकथा :  दुःखीको सेवा

बिहीबार, २८ असार २०८०, १५ : २१
बिहीबार, २८ असार २०८०

साधु सन्तहरू भन्ने गर्छन् मानवसेवा नै माधवसेवा हो । नीतिशास्त्रले पनि ‘सेवा हि परमो धर्म’ भनेर सेवालाई नै जोड दिएको छ । जहाँ बालक, वृद्ध, बिरामी, अशक्त, असहाय, दुःखी, दरिद्री तथा गरिब–गुरुवाको सेवा हुन्छ त्यहाँ भगवान्को वास हुन्छ । अनि जहाँ भगवान्को वास हुन्छ त्यहाँ कुनै पनि किसिमको अभाव र अशान्ति हुँदैन तर जहाँ उनीहरूको उपेक्षा हुन्छ वा गरिन्छ त्यहाँ दुःख, कष्ट, अभाव र अशान्ति बाहेक केही पनि हुँदैन । 

धेरै पहिलेको कुरा हो । एउटा नगरमा एउटी गरिब वृद्ध महिला आइन् । घरपरिवार कसैले वास्ता नगरेकाले उनी घर छाडेर घुम्दै त्यस नगरमा आइपुगेकी थिइन् । न बस्ने स्थानको ठेगान थियो न खानाको ठेगान, न नानाको ठेगान । ओढ्ने र ओछ्याउने त यसै पनि टाढाको कुरा भइहाल्यो । भिक्षा माग्दै जहाँ पुग्यो त्यहीँ बस्थिन् । कसैले केही दिए खान्थिन् नदिए भोकै सुत्थिन् । सुत्ने स्थानमा पाटी, पौवा, मन्दिर, धर्मशाला यस्तै हुन्थे । त्यो पनि नमिलेमा सडककै एउटा कुनाको सहारा लिने गर्थिन् ।

उनी वृद्ध भइसकेकी थिइन् । कतै ज्याला मजदुरी गरेर खाने अवस्था पनि थिएन । त्यसैले कसैले केही दिए खाने नदिए भोकै सुत्नुबाहेक अर्को विकल्प थिएन । उनी बस्नका लागि गाई भैँसीको गोठ वा घोडाको तवलामात्र पाए पनि अहोभाग्य ठान्ने पक्षमा थिइन् तर सहरिया मानिसहरू भने त्यतिसम्म दिन पनि तयार थिएनन् । उनी दिनभर जुन सडकको किनारमा बसेर मागिरहेकी हुन्थिन् लाखौँ मानिस त्यही सडकबाट ओहोर दोहोर गर्थे तर उनीप्रति कठैबरा भन्ने भने एउटै हुँदैनथे । 

नगरमा कतै पनि बस्ने स्थान नमिलेपछि उनी नगरको बाहिर एउटा खुला चौरमा रहेको रुखको फेदमा बस्न लागिन् । उमेर त यसै पनि पुगेकै थियो त्यसमाथि भोक, प्यास, सर्दी, गर्मी एकै साथ खप्नु परेपछि किन खपिसाध्दे हुन्थ्यो र । बिस्तारै यति नराम्रोसँग बिरामी भइन् कि उठेर हिँडडुल गर्न पनि नसक्ने अवस्थामा पुगिन् । एक त असहाय थिइन् त्यसमाथि गरिब त्यस्ताको उपचार गर्नेतर्फ कसको ध्यान जान्थ्यो र । 

नगरकै छेउमा वृद्ध महिला थला परेको देखेर पनि कसैको ध्यान त्यतातिर गएन । उनी दयाका भीख मागिरहिन् नगरवासी निर्दयताको बिस्कुन सुकाइरहे । फलतः उनको रोग चाँडै नै नगरवासीमा फैलिन सक्ने सङ्क्रामक रोगमा परिणत हुन पुग्यो र अन्ततः यसैका कारण उनको मृत्यु भयो । 

उनी त मरेर गइन् तर उनको शरीरबाट फैलिएको सङ्क्रामक रोगको कीटाणु भने मरेन । चाँडै नै त्यो नगरवासीमा यति बढी फैलियो कि नगरमा एक किसिमको हाहाकार नै मच्चियो । यस रोगबाट नगरका कुनै पनि घर अछुत रहन सकेन । फलतः यसै कारण कैयौँले ज्यान गुमाउनुप¥यो भने कैयौँ नगरवासीले थलिएर महिनौँ बस्नुप¥यो । बल्ल उनीहरूले थाहा पाए गरिब, अशक्त, बिरामी र वृद्धको सेवामा ध्यान नदिँदाको मूल्य कति बढी महँगो पर्दो रहेछ भन्ने कुरा तर त्यतिबेलासम्म निकै अबेर भइसकेको थियो । 

धनीमानी ठानिएका नगरबासीले उनलाई बाँचुन्जेल त आफ्नै दिदीबहिनी सरह ठान्न सकेनन् मरेपछि भने नमानी सुखै पाएनन् । हुन पनि उनी नगरवासीका साँच्चै दिदीबहिनी नै थिइन् । किनकि उनको सुख र स्वास्थ्यमै नगरबासीको सुख र स्वास्थ्य छिपेको थियो । जबतक उनी जीवित थिइन् तबतक नगरबासी पनि सुखी थिए । जब उनी गइन् नगरवासीको सुख पनि सँगै लिएर गइन् । 

धेरै पहिलेदेखि पढ्दै र सुन्दै आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर अशक्त र असहायलाई बेवास्ता गर्दाको नतिजा भने जहाँ पनि यस्तै हुन्छ । किनकि जहाँ यस्तो व्यवहार हुन्छ त्यहाँ भगवान् पनि रहन सक्दैनन् । अनि जहाँ भगवान्को बास हुन्न वा भगवान्ले हेरेका छैनन्, हुँदैनन् त्यहाँ दुःख र अशान्तिबाहेक केही पनि हुँदैन ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप