आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
उत्पादन

सबैका लागि ‘आरजु चामल’

बिहीबार, ०४ साउन २०८०, १३ : ५०
बिहीबार, ०४ साउन २०८०

नेपाली किसानलाई निर्वाहमुखीबाट व्यावसायिकतातर्फ उन्मुख गराउन र आमउपभोक्तालाई आयातितभन्दा गुणस्तरीय, स्वादिलो र निकै सस्तोमा चामल उपलब्ध गराउन हामीले आरजु चामल बजारमा ल्याएका छौँ ।

समय क्रमसँगै प्रविधिले ठूलो फड्को मारेको छ । सरकारी तथा निजी क्षेत्रबाट भएका नवीनतम प्रविधिको विकासले विभिन्न क्षेत्रमा प्रशस्त लागत खर्च घटाएका छन् । यद्यपि अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्रमा नयाँ प्रविधिको पहुँच निकै सुस्त र सीमित छ ।

हालै प्रकाशित जनगणना अनुसार, तराईका जिल्लामा ५५ प्रतिशतभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । खेतीपाती नगरिएका खाली खेतहरूमा पनि बस्ती तथा घरको विस्तार भएको छ । खेतीयोग्य जग्गा खण्डित भएका छन् । कृषियोग्य जमिन व्यापक रूपमा घटेको छ र कृषि उपजको उत्पादन पनि क्रमिक रूपमा न्यून हुँदै गएको छ ।

दैनिक दुई हजारभन्दा बढी नेपाली रोजगारीका लागि बिदेसिने गरेका छन् । युवा जनशक्ति पलायनसँगै कृषि कर्ममा आकर्षण घटेको छ । विद्यार्थीसँगै श्रमको पलायन तराईदेखि पहाडसम्म रहेको छ । पहाडमा बसाइँसराइ र युवा पलायनले खेतीयोग्य जमिन बाँझोमा रूपान्तरण भइरहेको छ ।

सिँचाइको समुचित व्यवस्था नहुँदा कृषिकार्य जटिल हुँदै गएको छ । बिउ र मलको अभाव एकातिर छ, अर्कोतिर सिँचाइको अभावमा हाम्रो कृषि मुख्य रूपमा अकासेपानीमा निर्भर छ ।

जलवायु परिवर्तनका कारण कृषिमा झन् ठूला असर देखापरिरहेका छन् । समयमा पानी नपर्ने, परेको बेला ठूलो पानी पर्ने गर्दा बालीनाली बिग्रने गर्छन् । यस्तै कारणले छिमेकबाट अन्न आयात गर्ने क्रम बढ्दो छ । भविष्यमा यो चुनौती झन् विकराल हुने देखिन्छ । 

कृषिप्रधान देश फगत बोलीचालीमै सीमित भएको छ । हामीले वार्षिक ५० अर्ब रुपैयाँभन्दा बढीको धान–चामल आयात गर्ने गरेका छौँ । हामी खाद्य सुरक्षामा कति कमजोर छौँ, यसले नै प्रस्ट पार्छ ।

Main Photo

यी यावत् समस्यालाई निकास दिन तथा सहजीकरण गर्नका लागि विगत दुई दशकदेखि म र केही कृषिविज्ञ साथी लागिपरेका छौँ । खेती किसानी निर्वाहमुखी होइन, व्यावसायिक हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसका लागि कसरी किसानसँग हातेमालो गर्दै अगाडि बढ्न सकिन्छ भनेर हामीले विभिन्न प्रयास थालेका छौँ ।

हामीकहाँ कृषिको प्रवद्र्धनका लागि ट्र्याक्टर हुँदै रोटाभेटर, हार्भेस्टिङ, धान रोप्ने मेसिनलगायत अत्याधुनिक प्रविधि भित्रिन थालेका छन् । गत साल सरकारले धानको समर्थन मूल्य २९ रुपैयाँ प्रतिकेजी तोकेको थियो । हामीले प्रतिकेजी ३० रुपैयाँ तोकेनौ मात्रै, किसानसँग सयौँ टन धान खरिद समेत ग¥यौँ । यो वर्ष हामीले यसमा थप वृद्धि गरी प्रतिकेजी ३२ रुपैयाँ तोकेका छौँ, जुन बजारको आवश्यकता अनुसार बढ्दै जानेछ ।

गत साल चैते धान प्रतिमन ६ सयदेखि ७ सय रुपैयाँसम्ममा बिक्री हुन्थ्यो, यो वर्ष प्रतिमन धानको मूल्य हजारदेखि ११ सय रुपैयाँसम्म किसानले पाएका छन् । अनियन्त्रित आयातमा रोक लागेको खण्डमा किसानले अझ बढी मूल्य पाउने निश्चित छ । 

विगत दुई वर्षमा हाम्रो कार्यक्रम पाँच सय बिघाबाट सुरु भई अहिले तीन हजार बिघामा विस्तार भएको छ । यो वर्ष किसानले चैते धानको राम्रो भाउ पनि पाएका छन्, जुन हाम्रा लागि खुसीको कुरा हो ।

नेपाली किसानले उब्जाएको धानबाट बनेको चामल पनि हामीले बिक्रीमा ल्याएका छौँ, जसले बजारमा राम्रो प्रतिक्रिया पाएको छ । यसरी नै किसानसँगको सहकार्यमा अगाडि बढ्दै नेपालको कृषिलाई आत्मनिर्भर बनाउने र चामलको आयात घटाउने प्रयासमा हामी छौँ ।

विभिन्न अध्ययनले नेपालको हकमा लङ ग्रेन चामलका लागि ‘रामधान’लाई उत्कृष्ट देखाएको छ । यसअघि रामधान नवलपरासी र दाङ क्षेत्रमा सीमिति थियो । किसान आफैँले रामधानको बिउ तयार गर्ने हुँदा थोरै समयमा यो लोकप्रिय भयो । प्रतिकट्ठामा सजिलै सातदेखि आठ मन रामधान उत्पादन भएको पाइएको छ । अधिकांश किसानले चैते र बर्खे दुवै खेतीमा प्रतिकट्ठा जमिनमा सात मनभन्दा बढी रामधान फलाएका छन् ।

रामधानको चामलको दानाको लम्बाइ सात मिमि र मोटाइ १.८ मिमि रहेको छ । आयातित चामलभन्दा लम्बाइमा केही कम र मोटाइ बढी भए पनि स्वाद र गुणस्तर उत्कृष्ट रहेको प्रारम्भिक प्रतिक्रिया पाएका छौँ । धानविज्ञ राजेन्द्र उप्रेतीकै शब्दमा नेपाली माटो, खोलानालाको सिँचाइले यसको स्वाद निकै राम्रो रहेको छ । थोरै पानीमा सजिलै पाक्ने यो चामलको भात मज्जाले फुल्ने गरेको छ । हामीले गरेको सानो सर्वेक्षणमा पनि घरका वृद्धदेखि बच्चा सबैले यो चामलको भात मन पराएका छन् ।

आयातित लङ ग्रेन चामलको मूल्यभन्दा प्रतिकिलोमा ५० रुपैयाँ सस्तो रहेको छ, आरजु चामल । किसानसँगै उपभोक्ताले पनि सस्तो मूल्यमा गुणस्तरीय र स्वादिलो चामल सेवन गर्न सक्नु नै हाम्रो उद्देश्य हो । लङ ग्रेन चामल अब आम नेपाली उपभोक्ताले सेवन गर्न सकून् भन्ने उद्देश्यले यसको मूल्य सबैका लागि बनाएका छौँ ।

‘आरजु’ चामलको नाम मेरी छोरी आरजु बस्नेतको नाममा रहेको छ । यसलाई अरूसँग जोड्ने कार्य नगर्न पनि यो लेखमार्फत आग्रह गर्छु । बरु यहाँहरूले आजै आरजु चामल भान्सामा भिœयाई हामीलाई प्रतिक्रिया दिन अनुरोध गर्दछु ।

किसानका बीच स्थापना गरिएको ‘आरजु राइस मिल’ स्विस टेक्नोलोजीले युक्त छ । यसमा धान निफन्नेदेखि सुकाउनसम्मको व्यवस्था छ । नेपालमा रहेका अन्य मिलमा प्रायः यस्तो सुविधा छैन । उनीहरू आयात गरिएको धानलाई मिलिङ गरी बजारमा पठाउँछन् । आरजु राइस मिलले दैनिक ९० टनसम्म धानलाई मिलिङ गरी गुणस्तरीय र स्वादिलो चामल उत्पादन गर्ने क्षमता राख्छ । 

अन्त्यमा खाद्यान्नमा आत्मनिर्भर हुन नेपाली किसानले उत्पादन गरेको र नेपाली जनशक्तिबाट मिलिङ गरेको चामलको प्रयोगका लागि सबैमा आग्रह गर्दछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्रबहादुर बस्नेत
वीरेन्द्रबहादुर बस्नेत
लेखकबाट थप