मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक व्यापार

वैदेशिक व्यापारमा आयात प्रतिबन्धको असर, सबै सूचक घट्यो

सोमबार, ०८ साउन २०८०, १८ : ४६
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपालले गत आर्थिक वर्ष २०७९/८० मा विदेशबाट १६ खर्ब ११ अर्ब रुपैयाँको बस्तु आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउनदेखि असार महिनासम्मको अवधिमा १६ खर्बभन्दा धेरैको आयात भएको हो । यो अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा १६ प्रतिशत कम हो ।

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष नेपालमा १९ खर्ब २० अर्ब रुपैयाँको आयात भएको थियो । कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीपछि खुलेको आयात प्रक्रियामा ह्वात्तै आयात घटेको थियो । उद्योगधन्दा कलकारखानाले मेसिनरी सामान ल्याउनेदेखि अन्य वस्तुको समेत आयात बढ्दा गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा उच्च आयात भएको थियो ।

सोही कारण, चालू आर्थिक वर्षमा राज्यले आयातमा नियन्त्रणमूखी भूमिका खेल्यो । २०७९ वैशाख दोस्रो सातादेखि सरकारले महँगा गाडी, रक्सी, मोटरसाइकल, खेलौना, कुरकुरे, कुरमुरे, खेलौना, तास लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगायो । 

यस्तै, आयात प्रतिबन्धको चपेटामा पर्ने वस्तुहरुको सूचीमा टेलिभिजन, हीरा र सूर्तिजन्य वस्तुसमेत परेका थिए ।

उता, केन्द्रीय बैंकले समेत विलासिता वस्तुको सूची निकालेर एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यी व्यवस्थाले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको जस्तै आयातको परिणाम नियन्त्रण बाहिर जानबाट रोकियो । ८ महिनासम्म चलेको लामो आयात प्रतिबन्ध २०७९ को पुस महिनामा मात्रै खुलेको थियो ।

सरकारको यो निर्णयबाट अघिल्लो आर्थिक वर्षको जस्तै १९ खर्ब २० अर्ब हाराहारीको आयात हुनबाट रोकियो । तर, यो निर्णयबाट सरकारको राजश्व संलकनको लक्ष्यमा भने नराम्रो प्रभाव पर्‍यो । पुसदेखि खुलेको आयात प्रतिबन्धको प्रभाव चैतदेखि मात्रै देखिन थालेको थियो ।

खुम्चियो निर्यात

आयात प्रतिबन्धका कारण नेपालको आयात मात्र नभई निर्यातसमेत खुम्चिएको छ । नेपालका उद्योगीले विदेशबाट कच्चा पदार्थको आयात गरेर तयारी वस्तुका रुपमा विकास गरेर विदेश निर्यात गर्दै आइरहेका थिए । आयात हुने वस्तुमा लागेको प्रतिबन्धको असर निर्यातमा समेत परेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालबाट १ खर्ब ५७ अर्ब रुपैयाँभन्दा धेरैको निर्यात भएको छ । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा २१.४४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष नेपालबाट इतिहासमै पहिलोपटक २ खर्ब रुपैयाँ भन्दा बढीको निर्यात भएको थियो ।

१७ खर्बको वैदेशिक व्यापार, १४ खर्ब ५४ अर्ब घाटा

भन्सारको तथ्याङ्क हेर्दा आयात, निर्यात, वैदेशिक व्यापार र व्यापार घाटा जस्ता सबैजसो सूचकमा गिरावट आएको छ । यस अवधिमा आयात र निर्यात जस्तै वैदेशिक व्यापारसमेत १६.५८ प्रतिशतले घटेको छ । यसअनुसार गत आर्थिक वर्षमा नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब थियो ।

यस्तै, यस अवधिमा नेपालको व्यापार घाटासमेत खुम्चिएको छ । तर, खुम्चिएको व्यापार घाटामा पनि नेपालले १४ खर्ब ५४ अर्ब घाटा ब्यहोरेको छ । यो अघिल्लो वर्षको तुलनामा १५.४५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ थियो ।

असारमा १ खर्ब ३१ अर्बको आयात, १४ अर्बको निर्यात

विभागको तथ्याङ्कअनुसार असार महिनामा १ खर्ब ३१ अर्बको आयात भएको छ । यो एक महिनामा भएको गत आर्थिक वर्षको सबैभन्दा उच्च आयात हो । 

जेठ महिना सम्मको तथ्याङ्कअनुसार ११ महिनामा १४ खर्ब ८० अर्ब रुपैयाँको आयात भएको थियो । जुन, असार महिनासम्मको अवधिमा ह्वात्तै बढेर १६ खर्ब ११ अर्ब पुगेको हो ।

यद्यपि, यस अवधिमा नेपालको निर्यात भने सुस्त गतिमा उकालो लागेको देखिएको छ । जेठ सम्मको तुलनामा असारसम्मको अवधिमा १४ अर्बले निर्यात बढेको छ । जुन, आयातको तुलनामा धेरै न्यून हो ।

आर्थिक वर्ष २०७९/८०

वैदेशिक व्यापारः कुन सूचक कतिले घट्यो ?

आयात– ३ खर्ब ९ अर्ब घट्यो – १६ प्रतिशत

निर्यात– ४३ अर्ब घट्यो – २१.४४ प्रतिशत

वैदेशिक व्यापार– ३ खर्ब ५२ अर्ब – १६.५८ प्रतिशत

व्यापार घाटा– २ खर्ब ६६ अर्ब – १५.४५ प्रतिशत

आर्थिक वर्ष २०७९/८०

यस्तो छ वैदेशिक व्यापारको सूचक

निर्यात– १ खर्ब ५७ अर्ब

आयात– १६ खर्ब ११ अर्ब

व्यापार घाटा– १४ खर्ब ५४ अर्ब

कूल वैदेशिक व्यापार– १७ खर्ब ६८ अर्ब

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप