शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय

निबन्ध  ः आकाश महिमा

सोमबार, २२ साउन २०८०, ११ : १५
सोमबार, २२ साउन २०८०

साधन र स्रोतको कुरा गर्दा यी छुट्टै हुन् कि जस्तो लाग्छ तर त्यो रूमा मात्र हो सारमा होइन । सारमा त यही हो कि साधन र स्रोत एउटै हो । साधनभित्रै स्रोत पनि हुन्छ, स्रोतभित्र साधन पनि । उदाहरणका लागि आकाशलाई नै लिन सकिन्छ । 

यसो त हामीले आकाश देखेका छैनौँ । हामीले माथितिर फर्केर हेर्दा जुन निलो तह वा घेरा देखेका हुन्छौँ त्यसैलाई आकाश भन्ने गरेका छौँ तर वास्तवमा त्यही नै आकाश भने होइन । किनकि जसलार्ई हमीले आकाश भनेका छौँ वा थियौँ त्यहाँ गएर हेर्ने हो भने त्यस्तो नीलो तह वा घेरा त्यसभन्दा एक तह माथि पुगिसकेको हुन्छ । यसैबाट प्रष्ट हुन्छ कि हामीले आकाश देखेकै छैनौँ । देखेजस्तो लागेको मात्र हो हो । यसको अर्थ यो होइन कि आकाश छँदैछैन । छ, जबरदस्त छ । सर्वत्र छ, सर्वव्यापक छ । सबैसँग छ, सबैको माथि छ । यो बिना कसैको पनि अस्तित्व सम्भव नै हुँदैन । जहाँ वस्तु हुन्छ त्यहाँ आकाश भएकै हुन्छ । 

तपाईँको आकाश छ, मेरो आकाश छ, अरूको आकाश छ । गाई, गोरु, भैैँसी, चरा, मुसा, जीवजन्तु, घर, वनस्पति लगायत स्थावर, जङ्गम सबैको एक एक आकाश हुन्छ । सबैले एकएक आकाशलाई बोकेर हिडेका हुन्छन् । तपाईँलाई तपाईँ हुनमा पनि आकाश चाहिएको छ । मलाई म हुनमा पनि आकाश चाहिएको छ ।  

किनकि ऊ बिना तपाईँ हामी हुनै सक्दैनौँ । तपाईँलाई आफू हुन पनि आकाश चाहियो, मलाई आफू  भएको प्रमाण दिन पनि आकाश चाहियो । यसको अर्थ हो तपाईँलाई आफू हुन र आफू भएको प्रमाण दिन ऊ साधन भयो किनकि उसले तपाईँलाई तपाईँ भएको प्रमाणित गरिदियो । 

अब भन्नुस् आकाशको स्रोत चाहिँ के होला त ? उत्तर सहज छ आकाशको स्रोत आकाश नै हो । आकाशबाटै आउँछ, आफ्नो करामत देखाउँछ अनि आकाशमै पुगेर बिलाउँछ । आउनुस् यसलाई पनि केही उदाहरणबाट बुझ्नै प्रयास गरौँ । 

मानिलिनुस् तपाईँले घर बनाउनुभयो । सबैलाई बस्न घर चाहिन्छ । घर नभई कोही पनि बस्न सक्दैन । मानिसलाई घर चाहिन्छ, गाईवस्तुलाई गोठ चाहिन्छ, चराचुरुङ्गीलाई गुँड चाहिन्छ । जे होस् तपाईँलाई घर चाहियो, अनेक कष्ट गरेर, ऋणधन गरेर, खाइनखाइ घर बनाउनुभयो तर घर त्यसै बनेन । उसलाई घर भएको प्रमाणित गर्न आकाश चाहियो । चाहिएको के थियो ऊ आफैँ आएर घर भएको, घर बनेको प्रमाण गरिदियो । जबतक घर रह्यो ऊ घरकै माथि बसिदियो । छतको माथि बस्यो, सिलिङ्को माथि बस्यो, गारोको माथि बस्यो, खाँबो, बलोको माथि बस्यो । जब घर भत्कियो ऊ आफैँ महाकाशमा पुगेर एकाकार भयो ।

सिलिङ्को आकाश, छतको आकाश, धुरीको आकाश, खाँबो, बलोको आकाश सबै एउटै आकाशमा विलय हुन पुग्यो । जतिबेला चाहिएको थियो आकाशबाटै आयो जतिबेला सकियो आकाशमै बस्न पुग्यो । 
तपाईँको अवस्था पनि त्यस्तै हो । जतिबेला तपाईँलाई तपाईँ भएको प्रमाण दिन आकाशको आवश्यकता परेको थियो आकाशबाटै आयो । काम सकियो आकाशमै पुगेर हरायो । यसलाई यसरी पनि बुझ्न सक्नुहुन्छ । 

मानिलिनुस् तपाई्रँको जन्म भयो तर यसको प्रमाण दिन आकाशको आवश्यकता प¥यो । आकाश बिना तपाईँ पहिले त हुनै सक्नुहुन्न । किनभने तपाईँ हुनासाथ तपाईँभित्र शब्द पनि हुनुपर्छ, जुन शब्दले तपाईँ रुनुहुन्छ, कराउनुहुन्छ, बोल्नुहुन्छ, चाहिएको चीज माग्नुहुन्छ । शब्द नभएको भए यो सम्भव नै हुने थिएन थिएन । हो यहाँ तपाईँले जुन शब्द प्रयोग गर्नुभएको छ त्यसको आधार आकाश नै हो । आकाशबाटै यो आउँछ र काम फत्ते गर्नुहुन्छ । काम फत्ते के गर्नुभएको थियो ऊ आकाशमै पुगेर विलायो । 

दोस्रो कुरो कदाचित मानौँ आकाश विना पनि बोल्न सम्भव भए छ रे तर तपाईँ हुनुभएको अस्तित्व सिद्ध गर्न भने तपाईँलाई आकाश नभई हुन्न । जब तपाईँ जन्मनुहुन्छ तत्कालै आकाशले आएर आवरण दिन्छ । यसैबाट तपाईँ हुनुभएको अस्तित्व सिद्ध हुन्छ तर जति बेला तपाईँले संसारबाट विदा लिने अवसर आउँछ त्यतिबेला भने तपाईँले बोक्नुभएको, तपाईँको अस्तित्व सिद्ध गर्न आएको आकाश आफ्नै मूलरूपमा अर्थात् महाकाशमा विलय हुन पुग्छ । 

रुख, बिरुवा बनस्पतिको अवस्था पनि त्यस्तै हो । जब उनीहरूलाई आफ्नो अस्तित्व सिद्ध गर्नुपर्ने अवस्था आयो तब आकाश आएर टुप्पोमा बसिदियो । जब उनीहरू मर्छन् तब उसको टुप्पोमा रहेको आकाश पनि उही महाकाशमै समाधिस्थ हुन पुग्छ । एवंरीतले हरेक अवस्थामा, हरेक, चीजमा, हरेक वस्तुमा यही नियमले काम गरेको हुन्छ । 

कतिपय दार्शनिकले घटाकाशको कुरा पनि गरेका छन् । जब घडा भयो तब आकाश भयो, जब घडामा पानी भयो फेरि पनि आकाश भयो । आकाश बिना न घडाको अस्तित्व सिद्ध हुन्छ न घडाभित्रको पानीको नै । जहाँ पानी हुन्छ त्यहाँ आकाश भएकै हुन्छ । कदाचित यस्तो हुँदैन थियो भने पानीले पानी हुनुको प्रमाण पनि दिन सक्दैन थियो । जब घडा फुट्यो, घडाको पानी पोखियो तत्कालै आकाश पनि हरायो । हरायो भन्नुको अर्थ उसभित्रको चाहिँ हरायो । यो भनेको उसकै मूलरूपमा समाधिस्थ भयो । यी केही  उदाहरण हुन् । खोज्दै जानुभयो भने हरेक कुरामा यही नियमले काम गरेको पाउनुुहुन्छ । यसैबाट प्रष्ट हुन्छ कि हरेक साधनको स्रोत उसैभित्र हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप