मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

नेपाल र वेस्ट इन्डिजबिच तेस्रो खेल आज, शृङ्खला १–१ को बराबरीमा

बुधबार, १९ वैशाख २०८१, ०६ : ४१
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजको ‘ए’ टोलीबिचको तेस्रो टी–२० क्रिकेट बुधबार खेलिने छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको पाँच खेलको शृङ्खला हाल १–१ को बराबरीमा छ ।

शृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । शृङ्खलाको दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

शृङ्खलाको पहिलो खेलमा टस हारी पहिले ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

यसैगरी दोस्रो खेलमा टस जिती पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सकेको थियो ।

अघिल्ला दुबै खेलमा नेपाली टोलीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । शृङ्खलाको पहिलो खेलमा रोहितले एक सय १२ रन बनाएका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ५४ बलको सामना गरी ६ छक्का र १० चौका हिर्काएका थिए ।

दोस्रो खेलमा उनले टोलीका लागि अविजित ७१ रनको योगदान गरेका थिए । यस क्रममा उनले ४८ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काएका थिए । वेस्ट इन्डिजका लागि भने पहिलो खेलमा कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाएका थिए ।

भ्रमणकारी टोली वेस्ट इन्डिजका लागि दोस्रो खेलमा विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरले ४३ रन बनाएका थिए । शृङ्खलाको चौथो खेल बिहीबार खेलिने छ । पाँचौँ तथा अन्तिम खेल भने शनिबार खेलिने भएको छ ।

वेस्ट इन्डिजविरुद्धको शृङ्खलाका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा, बिवेक यादब, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल रहेका छन् ।

यसैगरी वेस्ट इन्डिजको टोलीमा रोस्टन चेज (कप्तान), एलिक एथनाज (उपकप्तान), फाबियन एलन, कादिम एलिन, जोशुआ बिशप, केसी कार्टी, जोन्सन चार्लस, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हेडेन वाल्श रहेका छन् ।

नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले वेस्ट इन्डिजको सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेज टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् ।

३२ वर्षीय रोस्टन चेजले वेस्ट इन्डिजको सिनियर टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले ४९ टेस्टमा दुई हजार दुई सय ६५ रन, ४५ एकदिवसीयमा सात सय ८३ रन र ११ टी–२० अन्तर्राष्ट्रियमा एक सय ११ रन बनाएका छन् ।

यसैगरी २५ वर्षीय एलिक अथान्ज पनि सिनियर टोलीबाट टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । उनले वेस्ट इन्डिजका लागि चार टेस्टमा कुल एक सय ६८ रन र १० एकदिवसीय अन्तर्राष्ट्रियमा कुल दुई सय ८८ रन बनाएका छन् ।

ओपनर ब्याट्सम्यान जोन्सन चार्लिसले पनि वेस्ट इन्डिजको सिनियर टोलीबाट विभिन्न प्रतियोगिता खेलिसकेका छन् । ३५ वर्षीय जोन्सनले सिनियर टोलीबाट ५८ एकदिवसीय खेल्दै एक हजार पाँच सय ३७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ४८ खेल खेल्दै एक हजार ८५ रन बनाएका छन् ।

यसैगरी २७ वर्षीय केसी कार्टीले भने वेस्ट इन्डिजको सिनियर टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । उनले २२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल पाँच सय ७८ रन बनाएका छन् ।

किमो पलले पनि सिनियर टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । २६ वर्षीय किमोले सिनियर टोलीबाट तीनवटा टेस्ट खेल्दै कुल ९६ रन, ३० वटा एकदिवसीय खेल्दै कुल तीन सय २० रन र २३ वटा टी–२० खेल्दै एक सय ८७ रन बनाएका छन् ।

यसैगरी ३२ वर्षीय ह्याडेन वाल्सले वेस्ट इन्डिजको सिनियर टोलीबाट २३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल एक सय ७५ रन बनाएका छन् भने २८ विकेट पनि लिएका छन् । उनले ३८ वटा टी–२० अन्तर्राष्ट्रियमा एक सय ५० रन बनाएका छन् भने ३१ विकेट लिएका छन् ।

विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचर पनि वेस्ट इन्डिजको सिनियर टोलीका अनुभवी खेलाडी हुन् । ३६ वर्षीय फ्लेचरले वेस्ट इन्डिजको सिनियर टोलीबाट २५ वटा एकदिवसीय खेलमा कुल तीन सय ५४ रन र ५४ वटा टी–२० अन्तर्राष्ट्रियमा कुल नौ सय ५० रन बनाएका छन् ।

यसका अतिरिक्त म्याथ्यू वाल्टर फोर्ड, गुडाकेश मोटी, ओसेन थोमस, अबेड म्याकोयलगायतका खेलाडीले पनि वेस्ट इन्डिजको सिनिरय टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो अभ्यास खेल खेलिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दैछ ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

यसैगरी वेस्ट इन्डिज भने टी–२० विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् । यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ ।

सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप