बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘नव नेपाल निर्माणमा गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण’

बुधबार, ०७ चैत २०७४, १६ : ०२
बुधबार, ०७ चैत २०७४

काठमाडौं–दिवङ्गत पूर्व प्रधानमन्त्री तथा तत्कालिन काँग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको व्यक्तित्व र योगदानका विषयमा दलका नेताहरुले चर्चा गरेका छन्। 

कोइरालाको आठौ स्मृति दिवसको अवसरमा जिपी कोइराला अध्ययन केन्द्रको राजधानीमा गरेको कार्यक्रममा दलका नेताहरुले न नेपाल निर्माणमा कोइरालाको महत्वपूर्ण  योगदान रहेको बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथी एमाले वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपतिको ललिपप कोइराला र आफूलाई देखाएर उस्तै सिकार बनाइएको बताए। कोइराला विना गणतन्त्र सम्भव नभएको भन्दै नेपालले कोइरालाको योगदानको स्मरण गरे।

कांग्रेसको आन्तरिक विवादका बीच पनि कोइरालाको निर्णय क्षमता विशिष्ट रहेको उनले बताए। २००७ देखि ०६३ सम्मको राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशील नेताको रूपमा कोइराला मात्रै भएको  पनि नेपालले बताए।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली राजनीतिका शीर्ष पुरुष भएको बताए। नेपाली लोकतान्त्रिक आन्दोलनलाई पूर्णताको बिन्दुमा पुर्याउने व्यक्ति कोइराला भएको ठोकुवा गरे। 

‘गिरिजाबाबुको अभावमा वर्तमान स्थिति निर्माण हुनै नसक्ने अवस्था थियो,’ उनले भने । राजतन्त्रविरुद्ध दलहरुले संयुक्त रूपमा लडेर संविधान सभाबाट संविधान बनाउने कार्य कोइरालाको योगदानबाट सम्भव भएको बताए। 

उनले १२ बुँदे सम्झौताको तयारीमा भएका घटनाक्रम सम्झिए।

‘प्रथम राष्ट्रपति गिरिजालाई बनाउन नसक्नु राजनीतिक संस्कार विकास नभएको कारणले हो ’,  उनले भने । संघीयता, राष्ट्रियता र विकासका लागि सर्वपक्षीय सहमति हुनुपर्ने  उनले बताए। अबको मुख्य कार्यभार भ्रष्टचार नियन्त्रण हुनुपर्ने बताउँदै सबै दलको आवश्यक सहयोग हुनुपर्ने श्रेष्ठको भनाई थियो । 

काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले शक्तिशाली कोइरालाले कम बल प्रयोग गरेर संविधानबाट राजतन्त्र हटाएको सम्झिए ।

 उनले संविधानले सभामुख र उप सभामुख एउटै दलबाट नहुने व्यवस्था गरेको भएपनि एकीकरण हुने दुई दलले किन दुवै पद ओगटेको भन्दै प्रश्न गरे । 

 वर्तमान सरकार र पार्टी सभापति प्रति संकेत गर्दै सिटौलाले पार्टी तथा सरकारको नेतृत्वमा अहंकार रहेको बताए। 

पूर्व अर्थमन्त्री डा रामशरण महतले कोइराला कहिले पनि नथाक्ने  र जोखिम लिन सक्ने नेता भएको स्मरण गरे। 

कोइरालाको कारण नै आफू राजनीतिमा प्रवेश गरेको उनको भनाई थियो । 

राजनीति उदार व्यवस्था भएको अवस्थामा आर्थिक क्षेत्र पनि उदार बन्नु पर्नेमा उनले  जोड दिए। कोइरालाको बलले मूल्य अभिवृद्धि कर शुरु गर्न सकिएको बताउँदै उनले  आधुनिक नेपाल निर्माणमा कोइरालाको योगदान अतुलनीय रहेको स्मरण गरे । 

केन्द्रिय सदस्य गुरुराज घिमिरेले गिरिजा प्रसाद कोइरालाको उचाई बराबरको नेता समकालीन नेता  हरुमा नभएको दाबी गरे। कोइराला ०८७ वर्षको उमेरमा पनि तरुण भएको बताए। कोइरालाको कर्मका कारण नै उनि विश्व नेता बन्न सकेको बताए।

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले गिरिजा चमत्कारिक नेता भएको बताए। ०५८ पछिको राजा बिरुद्दको आन्दोलनमा आन्दोलनकर्मी कमी हुँदा पनि गिरिजाले नेता कार्यकर्तालाई ढाडस दिने कार्य गरेको स्मरण गरे। गिरिजाले काँग्रेस  कार्यकर्ता र नेतालाई तत्कालीन राजशाहीले लगाएको राजद्रोहको मुद्धाको विपरीत राजालाई जनता द्रोहको मुद्धा लाग्ने भन्दै आन्दोलनलाई उत्कर्षमा पुर्याएको बताए।

वर्तमान सरकारले संस्था भन्दा व्यक्ति शक्ति बनाएको भन्दै पूर्व प्रधान न्यायाधीस को बहिर्गमन विधिसङ्त नभएको बताए।

प्रमुख अतिथिका रुपमा निम्तो गरिएका पूर्व राष्ट्रपति राम बरण यादव भने विशेष कारणबस उपस्थित हुन नसकेको जिपी कोइराला अध्ययन केन्द्रका महासचिव निरञ्जन थापाले जानकारी दिए । 

स्मृति सभामा काँग्रेस सभापति देउवा पक्षीय नेता तथा कार्यकर्ता  देखिएनन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षीय नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप