बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

धौलागिरिमा ४८ करोड ५२ लाखको बजेट पारित

बुधबार, १० असार २०८३, २२ : ४७
बुधबार, १० असार २०८३

सारांश

  • धौलागिरि गाउँपालिकाको ४८ करोड ५२ लाखको बजेट पारित भएको छ।
  • बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिइएको छ।
  • गाउँपालिकाले सडक, खानेपानी, सिँचाइ र विद्युतीकरण आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ।

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा बुधबार सम्पन्न २६ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गरेको बजेट सभाले पारित गरेको हो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई समृद्ध धौलागिरि निर्माणको आधारका रूपमा अघि सारेको छ ।

गाउँपालिकाका सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने, सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, खानेपानी, सिँचाइ र ग्रामीण विद्युतीकरणका अधुरा आयोजना सम्पन्न गर्ने तथा पर्यटन र उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने विषयलाई समेटिएको अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

पूर्वाधार विकासतर्फ रु ११ करोड ६५ लाख विनियोजन गरिएको छ । यसअन्तर्गत भेडीखाल्टा गाउँलाई सडक सञ्जालमा जोड्न रु एक करोड छ लाख, निर्माणाधीन गाउँपालिका प्रशासकीय भवन सम्पन्न गर्न रु एक करोड ५० लाख, हेम माध्यमिक विद्यालयमा दश कोठे भवन निर्माणका लागि रु ५० लाख तथा गाउँपालिका क्षेत्रका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन सडक सरसफाइ शीर्षकमा रु एक करोड विनियोजन गरिएको छ ।

त्यसैगरी लुलाङ–गुर्जा सडक स्तरोन्नतिका लागि प्रदेश र गाउँपालिकाको साझेदारीमा रु एक करोड बजेट व्यवस्था गरिएको छ । ताकम ढल व्यवस्थापन योजनाका लागि रु एक करोड र ताकम माविको छात्रावास भवन निर्माणका लागि रु ४० लाख विनियोजन भएको छ ।

आर्थिक विकासतर्फ रु एक करोड चार लाख, सामाजिक विकासतर्फ रु २२ करोड २४ लाख ६० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ८५ लाख तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ रु १२ करोड ७३ लाख ४३ हजार विनियोजन गरिएको छ ।

सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा सञ्चित कोषको नगद मौज्दातलाई स्रोतका रूपमा उपयोग गरी बजेट कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

धौलागिरिले पूर्वाधार विस्तारसँगै कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार र डिजिटल प्रविधिमैत्री सेवा प्रवाहलाई समेत बजेटको प्राथमिकतामा राखेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप