बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : साइप्रस हुँदै युरोप पसेकी उजेली

बिहीबार, २५ साउन २०८०, १४ : ००
बिहीबार, २५ साउन २०८०

अगस्ट चर्को घाम । गर्मी बढेर शरीरबाट पसिनाको मूल फुटेको छ । लगभग खाडी मुलुकको जत्तिकै गर्मी । मध्याह्नमा ४५ डिग्रीभन्दा माथि पुग्छ तापक्रम ।

ओलोम्पिया पर्वतको छायाले लिमासोया भिलेजलाई छपक्कै छोपेको छ । लिमासोया भिलेजको एउटा विशाल घरको बाल्कोनीमा बसेर उजेलीले भोगिसकेको छोटो जीवनबारे स्मरण गर्छे । अनि आफ्नै सपनाको लामो कथामा डुब्दैछ ।

बाल्कोनीबाट देखिने लेडी स्माइलबिच बैजनी रङमा परिणत हुँदै छ, डुब्दै गरेको सूर्यको मधुरो किरणको कारण । आफू बसेको ठाउँदेखि एक डेढ माइल टाढा रहेको सामुद्रिक बिचमा पर्यटक रमेको आकृति धमिलो देखिन्छ । आफूलाई पनि त्यही भिडमा मिसाउन पुग्छे, फगत कल्पनामा ।

आखिर अदृश्य फगत कल्पना र सपनामा जिउने भनेको हुँदा खाने वर्गको भागमा परेको व्यञ्जन हो । चौरासी व्यञ्जन जस्तै । 

उजेलीको उमेर त्यत्ति धेरै भएको छैन । पुग नपुग दुई दशक भएको छ उनको उमेर । स्कुले शिक्षा सकेर राम्रो उच्च शिक्षा हासिल गर्ने, विश्वविद्यालयको खोजी गर्ने उमेरमा आर्थिक अवस्थाले जर्जर भएपछि परदेशिएकी हुन् उजेली । बाको जिम्मेवारीमाथि काँध थाप्न आयआर्जनका लागि रोजेको बाटो हो उजेलीको वैदेशिक रोजगार ।

त्यही सिलसिलामा आएकी हुन् उजेली साइप्रस । साइप्रसले बोलाएको थिएन उनीलाई । आफैँ आएकी हुन्, आफ्नै मर्जीले आएकी हुन् । आफ्नै पैसामा आफैँ लिलाम भएर आएकी हुन् ।

मान्छे बेच्ने सानदार अफिसहरूको सुन्दर अनि चिप्लो कुरा जान्ने मान्छेले दिलाएको नदेखेको विश्वासको फेरो समाएर आएकी हुन् उनी । अझ साइप्रसलाई मात्रै माध्यम बनाएर पठाएको छ । उता सम्पन्न शक्तिशाली युरोपेली मुलुक सजिलै जान पाउने । अनि जीवनलाई भने जस्तो बनाउने । पिआर लिने, बाआमा युरोप घुमाउने । आदि आदि विराट् सपनाहरू !

उता आफ्नो देशबाट निक्कै मिठो सपनाहरूको पोको बाँधेर आएकी थिइन् उजेली । साथमा आमाको माया, बाको दुखेसो । यता आइपुगेर यहाँको यथार्थसँग ठोक्किएर थाहा पाएको छ सत्यतथ्य ।

बिहान घामभन्दा अगाडि उठ्नु अनि घाम सुतिसकेपछि सुत्नु उनको दिनचर्या बनेको छ । उता आफ्नो मुलुकमा छँदा देखेको  सम्भ्रान्त सपनाहरू प्रवासी पसिनासँगै बग्दै छ ।

गह्रुँगो र गाह्रो जिम्मेवारी त छँदै छ । साथसाथै जर्मनी र नर्वे पुग्ने सपना । आउँदा लागेको ऋणको छत्तिस प्रतिशत ब्याजको पिरलो । फेरि साइप्रसदेखि सम्पन्न युरोपेली मुलुक पु¥याउने एजेन्ट, एजेन्टलाई भुक्तानी गर्नु पर्ने रकमको जोहो । अल्लारे उमेरमा फक्रिँदै गरेको तन्नेरी इच्छा र चाहना ।

पूरा गर्न नसकेका थुप्रै काम गर्नुपर्ने छन् । यात्रा अज्ञात छ । कसरी कहिले पुग्ने हो सपनाको गन्तव्यमा । थाहा छैन उनी घिसार्दै छ जुनीलाई । आफ्नो हो भन्ने हक नभएको बिरानो मुलुकमा ।

नेपाल बसेर देखेको सपना । यहाँ आइपुगेर भोग्नुपरेको यथार्थ  आकाश–जमिनको फरक छ । आफ्नो घरमा घाम कोठाभित्र झलमल्ल हुन्जेल नउठ्ने उनी अहिले घाम झुल्किँदा थुप्रै काम सकिसक्छन् । उमेरले आफूभन्दा सानो भए पनि शारीरिक बनावटमा आफूभन्दा ठुला–ठुला हाकिमका छोराछोरीका लागि खाजा–खाना तयार पारेर दोस्रो लटको काममा सरिक हुन्छ ।

विवस छिन् उनी, सकी नसकी गर्नु परेको छ काम । बाआमा र परिवारको लाड प्यारमा हुर्केकी उनले थकाइ पनि बिर्सेकी छिन् । हिजो कापी र कलम च्यापेको हातमा मोप र आइरनसँग गहिरो प्रेम बसेको छ ।

अकस्मात् हुने सानातिना गल्तीमा नबुझ्ने भाषाको गाली खानु केही जस्तो लाग्दैन उनलाई । हन्डरको पहाड छिचोलेर पुग्नु छ उनलाई सपनाको सहरमा । 

ठुलो प्रयास र धैर्यतालाई अँगालेर आएको दुई वर्षमा आउँदा लागेको ऋण चुक्ता गरिन् । तर सङ्घर्ष भने अझै जारी छ, साइप्रसबाट अब युरोप प्रवेश गर्नु छ । त्यही भएर मन, मुटु भएको मेसिन बनेर खट्छिन् उनी । खटाइको बदलामा आएको रकम जम्मा गरेर बुझाउँछन् एजेन्टलाई । 

नौलो सहरमा अपरिचित एजेन्टको विश्वासमा समर्पण गर्छिन् दुःख गरेर कमाएको रकम । एजेन्टले भने अनुसार साइप्रसबाट ग्रिसको यात्रा तय गर्छिन् । ग्रिसबाट इटाली हुँदै पोर्चुगललाई गन्तव्य बनाएर पठाउने निधो हुन्छ । यात्रा पक्कै सजिलो छैन । अवैधानिक भएर जाने हो । ठाउँ ठाउँमा जङ्गलको यात्रा हुन्छ भनेको छ एजेन्टले । उजेलीले जीवन जोखिममा राखेर यात्रा तय गर्दै छिन् ।

आकाश सफा देखिन्छ । कतै कतै सेतो बादलको बुट्टा हावासँगै बग्दै छन् । त्यही दिनलाई शुभ सम्झेर उजेली, इमर्जेन्सी नेपाल जान्छु भन्ने बहानालाई उता राम्रो देशको यात्रामा आफू सम्मिलित हुन्छ । 

साथमा केही थान डकुमेन्ट, यात्रामा चाहिने आवश्यकता अनुसारको सामग्री बोकेर पुग्छिन् एयरपोर्ट । अनि उड्छिन् । खुसी भएर गएकी छिन् उनी । आधा बाटोतिर पुग्यो भन्ने खबर पाएको छु । अझै केही दिनपछि आफ्नो गन्तव्यमा पुग्छिन् । अनि फेरि सुरु गर्छन् रे ! नयाँ ठाउँमा नयाँ जिन्दगीको सुरुवात । मेरो धेरै शुभकामना छ उनलाई । उनको सफल सपनाहरूका लागि ।

 लिमासोल, साइप्रस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप