मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य सरोकार

बर्खा लागेसँगै महामारीले सताउने डर

प्रयोगशाला छैन, सरुवाजन्य रोगहरू फैलिँदा पहिचान गर्न विदेशकै भर
मङ्गलबार, ३० साउन २०८०, १० : ४०
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बर्खा लागेसँगै बाढी पहिरो र अविरल वर्षाका कारण महामारी तथा अन्य स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । 

सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारी वर्षाका कारण आएको बाढी र पहिरोमा सङ्क्रामक रोगहरू महामारीको रूपमा फैलिन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताउँछन् ।

यस समयमा हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस ए, ई, मलेरिया, डेंगु, जुका, स्क्रब टाइफस, चिकनगुनिया लगायतका रोगहरू सङ्क्रमण भई प्रकोपको रूप लिन सक्ने भएकाले सतर्क रहनुपर्ने उनको भनाइ छ ।   

डा.अधिकारीका अनुसार मुख्यतः हेपाटाइटिस ए र ई प्राणघातक रोग हो । यो रोग समयमै पहिचान भएन भने प्राण समेत जान सक्छ ।

कसरी सर्छ सङ्क्रामक रोग ?

वर्षा याममा प्रयोग गरिने खानेपानी तथा अन्य पानीबाट धेरैजसो सरुवाजन्य रोग सर्ने सर्छ ।  डा. अधिकारीका अनुसार पानी धेरै परेर ढलको पानी बाहिर निस्किएर इनारमा पर्न सक्छ । बाटो बाटोबाट पानी फुटेर खानीपानीमा पर्न सक्छ । कुनै न कुनै माध्यमबाट दूषित पानी खानेपानीमा मिसिएर पिउँदा झाडापखाला, हेपाटाइटिस ए र ई, हैजा,जुका लगायतका सरुवाजन्य रोगले सताउन सक्छ । 

यस्तै, बर्खाको समयमा लामखुट्टेबाट सर्ने रोग डेंगु, मेलेरिया, चिकनगुनिया, सङ्क्रमण हुन सक्ने उनले बताए । यद्यपि नेपालमा चिकनगुनिया पुष्टि भएको छैन । हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस ए, ई,  मलेरिया, डेंगु, जुका, स्क्रब टाइफस लगायतका रोगको सङ्क्रमण भएमा एउटै लक्षण भनेको ज्वरो आउने हो । लामो समय ज्वरो आएमा सचेत हुन उनको आग्रह छ । 

ज्वरो आएमा कारण खोतल्नुपर्छ

डा.अधिकारीका अनुसार वर्षा याममा ज्वरो आएमा यसको कारण खोतल्नुपर्छ । यदि ज्वरो भाइरल डिजिज भएको खण्डमा एन्टिवोटिक औषधिले काम नगर्ने उनले बताए । यदि ब्याक्टेरिया डिजिज भए कुन हो भनेर पत्ता पत्ता लगाएर मात्रै चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न उनको सुझाव छ । 

यस्तै, वर्षा याममा प्राणघातक मानिएको हेपाटाइटिस ए र ई हुँदा सामान्यतया वाकवाकी आउने, बान्ता हुने, रुघाखोकी लाग्ने, आँखाको सेतो भाग पहेँलो भएर आउने, खान मन नलाग्ने, शरीर चिलाउने, दिसा खैरो रङ्गको आउने, पिसाब अघि पछि भन्दा कालो कालो आउने, पछि पखाला लाग्ने पनि हुन सक्छ ।   

यस्तै, हैजा लागेमा झाडापखाला दिनमा ५–६ पटक आउने, दिसामा रगत देखिने, प्रेसर घट्ने भई मृत्युसमेत हुन सक्ने उनको भनाइ छ । झाडापखाला दिनमा ३–४ पटक भन्दा बढी लागेमा चिकित्सकको सम्पर्कमा जान उनको सुझाव छ । 

उनी भन्छन्, ‘कहिलेकाहीँ डेंग भाइरस सङ्क्रमण हुँदा पनि झाडापखाला लाग्न सक्छ । झाडापखालासँगै अन्य लक्षण देखिएमा तत्काल चिकित्सकको सम्पर्कमा जानुपर्छ । यस्ता समस्या देखिएमा आफू खुसी औषधि सेवन गर्न हुँदैन ।’ 

कसरी अपनाउने सावधानी ?

पानीलाई राम्ररी उमालेर वा क्लोरिन झोल वा ट्याब्लेटको प्रयोग गरी शुद्धीकरण गरी पिउनुपर्छ । खानेपानीलाई सधैँ सफा भाँडामा छोपेर राख्न स्वास्थ्यकर्मीहरूको सुझाव छ । खानेपानीको मुहानलाई सफा गरी क्लोरिन वा ब्लीचिङ पाउडर हालेर पानी शुद्धीकरण गर्नुपर्छ । गाई, भैँसीको दूध पनि राम्ररी उमालेर मात्र पिउने गर्नुपर्छ ।

झाडापखाला लाग्न सक्ने भएकाले यस समयमा सकभर काँचो खानेकुराहरू नखान, यदि सालादको रूपमा खाएमा सफा पानीले राम्ररी पखालेर मात्र खान उनको सुझाव छ । यस्तै, फलफूल पनि बाहिरको बोक्रा ताछेर खानुपर्छ ।   

यस समयमा बासी सडेगलेका खानेकुरा, मरेका माछा, मरेका पशुपन्छीका नखान उनको सुझाव छ ।

खाना खानु, खुवाउनु र खाना तयार गर्नु अगाडि दिसा, पिसाब गरेपछि, फोहोर वस्तु चलाएपछि र बिरामीको हेरचाह गरेपछि  साबुनपानीले राम्ररी हात सफा गर्नुपर्छ । 

यस्तै, डेंगु मलेरिया लगायतका रोगबाट जोगिन झुलको प्रयोग गर्नुपर्छ । 

यस समयमा विभिन्न खालका सङ्क्रामक रोगले सबै उमेर समूहलाई सताउने हुँदा नियमित रूपमा औषधी लिइरहेका व्यक्तिहरूले औषधी नछुटाइकन सेवन गर्न, नवजात शिशु, बच्चा, गर्भवती तथा सुत्केरी महिलाहरूको विशेष ख्याल गर्नुपर्छ । 

खै सरुवारोगसम्बन्धी नीति 

वर्षा याम वा अन्य समयमा देखिने सङ्क्रामक रोगहरूसम्बन्धी नीतिगत तहबाटै योजना बनाई लागि पर्नुपर्ने डा. अधिकारी बताउँछन् । 

प्रत्येक वर्ष विभिन्न थरीका सरुवा रोगहरूले सताए पनि भाइरस वा ब्याक्टेरिया कुन कारण हो भन्ने पुष्टि नभई फैलिने गरेको उनले जनाए । यहाँ अनुमानका आधारमा औषधि उपचार गरेको पाइन्छ, जुन अझ भयावह हुन्छ । 

उनी भन्छन्, ‘भाइरस वा ब्याक्टेरिया भनेर प्रमाणित गर्नका लाग विदेशको प्रयोगशालामा पठाउनुपर्न बाध्यता अन्त्य गर्नुपर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भोइरोलोजिकल प्रयोगशाला बनाउन सरकारले तत्परता देखाउनुपर्छ ।’

भोइरोलोजिकल ल्याब खोलेर फैलिएको रोगबारे पत्ता नलगाएसम्म सरुवा रोग कन्ट्रोल गर्न सम्भव नहुने उनले बताए । सरुवाजन्य रोगहरू फैलिदा भाइरल वा ब्याक्टेरिया भनेर पहिचान गर्न विज्ञहरूको उपलब्धता भए पनि सरकारले चासो नदिएको उनको जिकिर छ ।

सरुवाजन्य रोगको अध्ययन अनुसन्धानका लागि सरकारले निजी तथा  सरकारी विज्ञहरूलाई एक ठाउँमा राखेर सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) को अवधारणा बनाउनुपर्ने उनको सुझाव छ ।

सीडीसी बनाएर विभिन्न क्षेत्रको विज्ञहरू राखेर केन्द्र, प्रदेश, जिल्लासम्म काम गर्ने वातावरण बनाउन सके विभिन्न प्रकोपबाट बच्न सकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप