बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : सर्प र किसानको त्यो दुस्मनी

आइतबार, ०३ भदौ २०८०, १० : ०७
आइतबार, ०३ भदौ २०८०

दुष्मनको अर्थ हुन्छ नराम्रो मन । यसो त मन आफैँमा राम्रो र नराम्रो भन्ने हुँदैन तर कसैले हानि नोक्सानी गरायो, नराम्रोसित गाली ग¥यो वा केही भन्यो भने जसमाथि त्यस्तो भएको छ वा गरिएको छ उसको मनमा त्यस्तो गर्ने वा भन्ने मानिसप्रति नराम्रो धारणा बन्छ र त्यही मन नराम्रो बन्छ । 

अनि यसैबाट सुरु हुन्छ दुष्मनीको शृङ्खला । जब यसरी मनमा कसैप्रति नराम्रो धारणा बन्छ तब त्यो कहिल्यै मेटिन्न । उसले त्यस्ता मानिसलाई माफीसम्म दिन त सक्छ तर उसप्रति बनेको नराम्रो धारणा भने मेटिएको हुन्न र कुनै पनि बेला त्यो आफ्नो रूपमा प्रकट हुन सक्छ ।

धेरै पहिलेको कुरा हो । कुनै गाउँमा एक जना किसान थिए । उनी हरदिन खेतमा कडा परिश्रम गरी  परिवारको पेट पाल्थे । यसैबाट उनी पनि सन्तुष्ट थिए उनको परिवार पनि सन्तुष्ट थिए । दिनभर खेतमा कडा परिश्रम गर्नुपरे पनि उनीहरूको जीवन सुखी थियो, सुखपूर्वकले जीवन व्यतीत गर्दै आएका थिए । यत्तिकैमा एक दिन उनी खेतमा जाँदा सानो छोरा पनि सँगै गएको थियो । छोरा खेतको गरामा खेल्न थाल्यो उनी काम गर्नतिर लागे । खेल्दै जाँदा संयोगवश उनको छोराबाट सर्पको पुच्छर कुल्चन पुगेछ । 

यद्यपि उनको छोराले जानीजानी कुल्चेको थिएन । अचानकै गोडा लाग्न पुगेको थियो तर सर्पले सहन सकेन र गोडामा डसिदियो । यहाँ सर्पको पनि गल्ती थिएन । सर्पले आफूलाई आघात नगरे कसैलाई पनि डस्दैन तर जसले आघात गर्छ उसलाई भने बाँकी राख्दैन । यो सर्पको जन्मजात स्वभाव हो । उसले आत्मरक्षाका खातिर यस्तो गर्ने गर्छ । यहाँ पनि यस्तै भएको थियो ।

यसो त सबै सर्प बिखालु हुँदैनन् । निकै कम सर्प मात्र बिखालु हुन्छन् तर संयोगवश त्यस बालकलाई डस्ने सर्प भने बिखालु नै परेको थियो । जब उसले डस्यो कडा बिखका कारण बालकको तत्कालै मृत्यु भयो । आफ्नो एक मात्र छोरो मारेको देखेर किसान निकै रिसाए । त्यही रिसका कारण उनले आँखा देखेनन् र बन्चरो प्रहार गरी सर्पको पुच्छर काटिदिए । उद्देश्य त मार्ने नै थियो तर सर्पले टाउको लुकाउन भ्याएकाले पुच्छर मात्र काटिन पुगेको थियो ।  

पुच्छर काटिएपछि सर्प पनि निकै रिसायो र किसानको गोठमा छिरेर सबै गाई भैँसीलाई डसेर मारिदियो । त्यसपछि किसान निकै डराए । किनभने उनीहरूबिच प्रतिशोधको डरलाग्दो शृङ्खला सुरु भइसकेको थियो । उनले सके उनी गर्ने सर्पले सके सर्पले गर्ने अवस्थामा पुगिसकेको थियो । यसलाई यस्तै अवस्थामा रहन दिनु भनेको थप नोक्सानी निम्त्याउनु थियो । त्यसैले किसानले आपसमा मित्रता कायम गर्ने विचार गरी सर्पको दुलो नजिक एउटा कचौरामा दूध राखिदिँदै भने–

‘सर्प भाइ ! हामीबाट नहुनुपर्ने भयो । रिसको झोकमा मैले पनि आँखा देखिनँ तिमीले पनि देखेनौ । फलतः हामी दुवैको नोक्सानी भयो । यसलाई यस्तै अवस्थामा राख्नु भनेको थप नोक्सानी निम्त्याउनु हो । त्यसैले जे भयो भयो । यसलाई एउटा नमिठो सपना ठानी दुवैले बिर्सिदिऊँ र मित्रताको हात बढाऊँ । तिम्रो दुलो नजिक दूध राखिदिएको छु । आशा छ यसलाई खाएर मेरो प्रस्ताव स्वीकार गर्नेछौ ।’

किसानको त्यस किसिमको कुरा सुनेपछि सर्पले दुलोभित्रबाटै भन्यो–

‘किसान भाइ ! दूधको कचौरा लिएर तुरुन्तै यहाँबाट गइहाल । अन्यथा अहिले नै हामीबीच थप नोक्सानी हुन सक्छ । मेरो कारण तिम्रो छोराको मृत्यु भएको छ न त्यो तिमी बिर्सन सक्छौ । तिम्रो कारण मैले पुच्छर गुमाउनुपरेको छ न यो म बिर्सन सक्छु । त्यसैले अब हामीबीच कुनै पनि मित्रता कायम हुन सक्दैन । बलात् कायम ग¥यौँ भने पनि त्यो अभिनयबाहेक केही हुँदैन । त्यसैले राम्रो यही हुन्छ कि तिमी आफ्नो बाटो लाग म आफ्नो बाटो लाग्छु ।’ 

सर्पको कुरा सुनेर किसान निराश भएर घरतिर लागे । संयोगवश त्यसपछि उनीहरूबिच त्यस्तो अप्रिय जम्काभेट भने भएन । थाहा छैन यहाँ केले काम गरेको थियो । सायद किसानको त्यही सुझबुझले काम गरेको पो थियो कि । 

धेरै पहिलेदेखि पढिँदै र सुनिँदै आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर एक पटक कायम भएको दुष्मनीलाई समय र परिस्थिति अनुसार क्षमासम्म गर्नसम्म गर्न त सकिन्छ बिर्सन सकिन्न भन्ने कुरा भने सत्य हो । त्यसैले त्यस्तो अवस्था आउन नदिनु नै बुद्धिमानी हुनेछ । 

            

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप