सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आधुनिकीकरणसँगै लोप हुँदै मिथिलाको परम्परागत गहना

आइतबार, १० भदौ २०८०, ११ : २९
आइतबार, १० भदौ २०८०

जनकपुरधाम । आधुनिकीकरणका क्रममा पुराना कुराहरू विस्थापित हुने क्रमसँगै मिथिला संस्कृतिका परम्परागत गहना पनि लोप हुन थालेका छन् । यसप्रति सचेत वर्ग चिन्तित देखिएका छन् ।

मिथिलाका महिलाहरुले लगाउने गहनाहरू हसुली, कडा, फुलकी, सिया, बाजुधन्ध, पातैर, कनौसी, कुण्डल, लोइरह, पाइत, गारण लगायत दर्जनौं गहना आधुनिकतासँगै लोप भएको मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी भ्रमर बताउँछन् ।

‘आधुनिकतासँगै पौराणिक गहनाहरू लोपमात्रै होइन, केही गहनाको मान्यता बिर्सेर दुरुपयोग नै भइरहेको पाइन्छ,’ उनी भन्छन्, ‘पहिले हातमा सुनको गहना लगाइन्थ्यो, खुट्टामा चाँदीको कडा र पायल (पाउजु) । तर, अहिले आधुनिकताका नाममा खुट्टामा सुनको पायल लगाइन्छ, जुन आपत्तिजनक छ ।’

पहिले धेरै गहना लगाएपछि महिलाको सुन्दरता थपिन्छ भन्ने मान्यता रहेकोमा अहिले निकै कम गहना लगाएपछि राम्रो देखिन्छ भन्ने बुझाइ देखिएको उनले बताए । ‘समयसँगै मानसिकतामा पनि परिवर्तन देखिएको छ,’ भ्रमरले भने ।

विशिष्ट मौलिक पहिचान बोकेको मिथिलाका परम्परागत गहना आधुनिकताको प्रवेशसँगै लोप हुने सँघारमा पुगेको छ । बजारमा सहजै किन्न पाइने आधुनिक गहनाले पुराना गहनाको स्थान लिन थालेपछि मिथिलानीहरूले लगाउने गहना विस्थापनको सँघारमा पुगेको हो ।

माङ्गलिक र सांस्कृतिक कार्यहरूमा पौराणिक कालदेखि लगाइँदै आएका गहनाहरूप्रतिको अभिरुचीमा कमी आउन थालेपछि मिथिलानी महिलाहरूले परम्परागत गहनाहरुलाई बिर्संदै जान थालेको जनकपुरधाम–४ की राजोदेवी बताउँछिन् ।

विवाह, सांस्कृतिक समारोह र अन्य माङ्गलिक कार्यहरूमा परम्परागत गहनाहरू मिथिलानी महिलाहरूले लगाउने चलन पौराणिक कालदेखि चल्दै आए पनि बसाइसराइ, पाश्चात्य संस्कृतिको नक्कल र देखासिखीका कारण यस्ता गहना लगाउने महिला बिरलै देखिने गरेका छन् ।

मिथिलानीहरूले लगाउने हसुली गहनाकोे प्रचलनमा डेढ दशक यता कमी आएको बुढापाकाहरू बताउँछन् । पौराणिक गहना लगाउन अहिलेको पुस्ताले हिचकिचाहट मान्ने, लाज मान्ने प्रवृत्ति, संस्कृति बचाउने चेतनाको कमी, बाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिको विकाससँगै विदेशी गहनाका आकर्षक विज्ञापन र व्यापक प्रचारप्रसारका कारण हसुली गहनाको मौलिकता हराउँदै जान थालेको अध्यक्ष भ्रमर बताउँछन् ।

पहिले महिलाले लगाउने गहनामध्ये ९० प्रतिशत चाँदीकै लगाइन्थ्यो । सुनको प्रयोग धेरै कम थियो । तर अहिले आएर सुनको प्रयोग बढ्दो छ भने चाँदीको कम । फिल्मी दुनियाँको प्रभाव र विदेशीको देखासिकीका कारण मिथिलाको मौलिकता अपहरित भएको उनको भनाइ छ ।

बिहेको समयमा र धार्मिक अनुष्ठानको समयमा महिलाहरुले अहिले पनि धेरै गहना लगाउँछन् तर तिनको डिजाइन परम्परागत भन्दा पनि सादा हुने गरेको छ । यसलाई दुई दृष्टिकोणले हेर्न सकिने भ्रमरको भनाइ छ । ‘एकातर्फ आर्थिक दृष्टिकोणले पनि फरक पारेको होला । किनकि सुनचाँदी महँगो भएको छ,’ उनले भने, ‘अर्कोतिर आधुनिकतासँगै पौराणिक गहनाहरु पुराना मोडलको भएर हो । पहिलेका केही गहना अहिले पनि प्रयोग छन् तर मोडिफाइड अवस्थामा ।’

परम्परागत गहना बचाउन मिथिला समुदायका महिलाहरूमा जागरण ल्याएर संस्कृतिप्रतिको मोह बढाउनुपर्ने उनको धारणा छ ।

मैथिली संस्कृति, धार्मिक मान्यता, आफ्नै मौलिकता र विशिष्ट पहिचान बोकेका गहना लगाउने प्रचलन ग्रामीण क्षेत्रमा कहीँकतै विवाह र धार्मिक अनुष्ठानहरुमा देखिने गरे पनि सहरी क्षेत्रमा बसोबास गर्ने मिथिला समुदायका व्यक्तिहरुले यस्ता गहना लगाउन छाडेका छन् ।

अन्य समुदायसँगको हेलमेल, बाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापनले गर्दा परम्परादेखि लगाउँदै आएका गहना लगाउने प्रवृत्तिमा कमी आई अन्य समुदायको संस्कृतिले प्रवेश पाएको भ्रमरको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप