बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकाले एमडीएचको ३१ प्रतिशत मसला पठायो फिर्ता

सोमबार, १७ वैशाख २०८१, १३ : ३१
सोमबार, १७ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय मसला उत्पादक कम्पनी एमडीएचलाई झट्का लागेको छ । कम्पनीका केही उत्पादनमा विषालु तत्त्व भेटिएको भन्दै हङकङ र सिंगापुरले विक्री वितरण र खपतमा रोक लगाएकै बेलामा अमेरिकाबाट पनि राम्रो खबर आएको छैन । साल्मोनेला विषाक्त भन्दै अमेरिकाले महाशियान दि हात्ती (एमडीएच) प्रा. लि. ले त्यहाँ पठाएका केही मसलाहरू फिर्ता पठाइदिएको छ ।

इन्डियन एक्सप्रेसमा छापिएको खबरका अनुसार पछिल्लो छ महिनामा अमेरिकी भन्सार अधिकारीहरूले एमडीएचका ३१ प्रतिशत मसला फिर्ता पठाएका छन् । यो दर गत वर्ष १५ प्रतिशत मात्रै थियो । एफडीएले सन् २०२३ मा साल्मोनेला पोजेटिभ भन्दै एभरेस्टको मसला फिर्ता लैजान आदेश दिएको थियो । सिंगापुर र हङकङले मसलाको मिश्रणमा कार्सिनोजेनिक कीटनाशकहरू फेला परेको भन्दै एमडीएच र एभरेष्टका केही प्रडक्टको विक्री रोकेकै समयमा साल्मोनेला प्रदुषणका कारण अमेरिकामा अस्वीकार दर बढिरहेको खबर आएको हो ।

रोयटर्समा छापिएको खबरका अनुसार अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले एमडीएच र एभरेष्ट उत्पादनबारे जानकारी सङ्कलन गरिरहेको छ । यस्ता खबरहरूबारे एफडीए सचेत रहेको र यस अवस्थाबारे थप जानकारी सङ्कलन गरिरहेको एफडीएका प्रवक्ताले शुक्रबार रोयटर्सलाई भनेका थिए । हङकङ र सिंगापुरमा मसलाको विक्री र खपतमा रोक लगाएपछि भारतले पनि घरेलु लोकप्रिय मसला ब्रान्डहरूको गुणस्तर मापदण्डबारे छानबिन गरिरहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप