शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

१८ वर्षीय चेस खेलाडीलाई भेटेपछि भारतीय प्रधानमन्त्रीले भने, ‘तिमीलाई भेट्न पाउँदा गौरवान्वित भएँ’

शुक्रबार, १५ भदौ २०८०, १० : ३१
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १८ वर्षीय किशोर खेलाडी रमेशबाबु प्रगन्नानन्धालाई भेटेका छन् । भारतीय प्रधानमन्त्रीले प्रगन्नानन्धालाई भेटेर अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलताका लागि बधाई दिएका हुन् । 

मोदीले प्रगन्नानन्धालाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिए । मोदीले प्रगन्नानन्धालाई भेट्दा उनको आमा र बुवा पनि सँगै थिए । 

उक्त भेटपछि भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमा तस्बिरसहित ट्विट गरेका छन्, ‘अत्यन्तै विशेष आगन्तुक । तिमी र तिम्रो परिवारसँग भेट्न पाउँदा गौरवान्वित भएँ । भारतका युवाले हरेक क्षेत्रमा कसरी उत्कृष्ट प्रदर्शन गर्छन् भन्ने कुराको तिमी गतिलो उदाहरण हौ । हामी गौरवान्वित छौँ ।’ 

मोदीले प्रगन्नानन्धा र उनको आमा—बुवासँग खिचेको तस्बिर पनि पोष्ट गरेका छन् । प्रगन्नानन्धा विश्वकप चेस प्रतियोगितामा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीहरुलाई हराउँदै दोस्रो भएका थिए । त्यसपछि अन्तर्राष्ट्रिय खेल वृत्तमा उनको उपलब्धिको चर्चा सुरु भएको थियो । 

विश्वकप चेसको फाइनलमा उनी नर्वेजियन ग्रान्डमास्टर म्यागनस कार्लसनसँग पराजित भएका थिए । तर, उनले आफूभन्दा निकै पाका खेलाडी ३२ वर्षीय कार्लसनलाई सजिलै उपाधि चुम्न दिएका थिएनन् । अन्तिम समयसम्म उनले कार्लसनलाई कडा चुनौती दिएका थिए । 

अजरबैजानको बाकुमा विश्वकप चेसको उपाधि जितेपछि कार्लसनले १८ वर्षीय यी किशोरको प्रशंसा गर्नबाट आफूलाई रोक्न सकेनन् । प्रगन्नानन्धाको प्रशंसा गर्दै कार्लसनले भनेका थिए, ‘रमेशबाबु प्रगन्नानन्धालाई हराउन निकै सँघर्ष गनुपर्‍यो । विश्व चेसमा उनको भविष्य निकै उज्ज्वल छ । वास्तवमा उनी बुद्धिका शातिर सैतान हुन् ।’   

प्रगन्नानन्धाको जन्म तमिल नाडुको चेन्नइमा सन् २००५ को अगस्त १० तारिखमा भएको हो । उनका पिता रमेशबाबु स्थानीय एक बैंकमा शाखा प्रबन्धक हुन् । उनकी आमाको नाम नागालक्ष्मी हो । उनकी दिदी रमेशबाबु वैशाली पनि चेस खेलाडी हुन् । वैशाली महिला ग्रान्डमास्टर र इन्टरनेशनल मास्टर हुन् । प्रगन्नानन्धा पनि भारतीय ग्रान्डमास्टर हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप