सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

म्यानमारको महँगो उपहार नेपाल ल्याउन सकस

३२ टनको बुद्धको मूर्ति ल्याउन भाडा नै १४ करोड रुपैयाँ !
सोमबार, १८ भदौ २०८०, ०६ : १३
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । म्यानमारका केही बौद्ध संघसंस्थाहरुले दुई वर्ष अघि संयुक्त रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको करिब ३२ टन बराबरको बुद्धको मूर्ति नेपाल ल्याउन सरकार उदासीन देखिएको छ । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा धेरै महँगो धातु ह्वाइट जेड स्टोनबाट बनेको बुद्धको मूर्ति म्यानमारले उपहारस्वरूप दिने भनेपछि सरकार उत्साही नहुने कुरै भएन । देउवाले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई मूर्ति ल्याउन पहल थाल्न निर्देशन दिएका थिए । 

गृहले उक्त मूर्ति तीनकुनेमा राख्ने गरी काम गर्न थाल्दै थियो । पार्क बनाउने जिम्मेवारी सहरी विकास मन्त्रालयको भएकाले उतैबाट प्रस्ताव जाँदा राम्रो हुन्छ भन्दै फाइल प्रधानमन्त्री कार्यालयमा फिर्ता पठायो । प्रधानमन्त्री कार्यालयले सहरी विकास मन्त्रालयमा उक्त तयारी थाल्न फाइल फरवार्ड गरिदियो ।

सहरी विकास मन्त्रालयले सहसचिव पद्म मैनालीको संयोजकत्वमा उक्त मूर्ति कसरी नेपाल ल्याएर तीनकुनेमा राख्न सकिन्छ भनेर अध्ययन पनि गर्‍यो । मन्त्रालयका प्रवक्ता प्रदीप परियारले मूर्ति नेपाल ल्याउने सम्बन्धमा फाइल प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको बताए । 

त्यतिबेला म्यानमारको बुद्धिस्ट एसोसिएसन, च्याम्बर अफ कमर्स र भिक्षुहरू लगायतले संयुक्त रूपमा लुम्बिनी गार्डेन फाउण्डेशनलाई उपहारस्वरूप बुद्धको मूर्ति दिने र फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको थियो । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै प्रतिपक्षी दलका प्रमुख नेताहरूलाई भेटेर फाउन्डेसनका अधिकारीले बुद्धको मूर्ति म्यानमारले उपहारस्वरूप दिन खोजेको जानकारी गराएका थिए । 

तर, सहरी विकास मन्त्रालयले फाउण्डेशनले कुन उद्देश्यका लागि उक्त मूर्ति ल्याउन लागेको भन्दै प्रश्न खडा मात्रै गरेन, नेपालसम्म उक्त मूर्ति ल्याउँदा झन्डै १४ करोड रुपैयाँ लाग्ने भन्दै प्रधानमन्त्री कार्यालयमै फाइल फिर्ता पठायो । 

प्रधानमन्त्री कार्यालयले गत सातामात्रै पर्यटन मन्त्रालयमा फाइल पठाएर मूर्ति ल्याउने गरी प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल चलिरहेको छ । 

करिब ३२ टनको बुद्धको बहुमूल्य मूर्ति नेपाल ल्याउन सके पर्यटकीय प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास सरकारको छ । म्यानमारबाट कसरी बुद्धको मूर्ति ल्याउन सकिन्छ भनेर अध्ययन भइरहेको पर्यटनमन्त्री सुदन किरातीले बताए । 

उनले भने,‘त्यो बुद्धको मूर्ति नेपाल ल्याउन पाए धेरै राम्रो हुन्थ्यो । पर्यटन प्रवर्द्धनमा पनि यसले राम्रो गर्छ भनेरै मन्त्रालयमा एउटा टीम बनाएर काम गरिरहेका छौं ।’ 

उता, मन्त्रालयका एक उच्च अधिकारीले एउटा निजी संस्थाले सरकारलाई दिन लागेको उपहार कसरी ग्रहण गर्ने, यस सम्बन्धमा स्वामित्व नेपाल सरकारमा रहने गरी काम थालिरहेको बताए । उनले भने,‘भाडा पनि करोडौँ लाग्ने देखियो । सार्वजनिक खरिद ऐनअनुसारै भाडामा बिडिङ गरेर जाने तयारीमा छौं ।’  

फाउन्डेसनका महासचिव एकराज गिरीका अनुसार प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सकारात्मक रहेकाले निकट भविष्यमै मूर्ति नेपालमा ल्याउने तयारी भइरहेको छ । उनले भने,‘हामीले वर्तमान, निवर्तमान र पूर्व प्रधानमन्त्रीसमक्ष यसबारे जानकारी गराइसकेका छौँ । उहाँहरू सकारात्मक नै हुनुहुन्छ, मुख्य कुरा मन्त्रालयहरूमा फाइल अड्काउने कामले ढिला भएको हो ।’ 

सुरुमा तीनकुनेमा राख्ने भनिएको बुद्धको मूर्ति अहिले गोकर्णेश्वर र बुढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने थानडाँडामा राख्ने बताइएको छ । तीनकुनेमा स्थानीयको जग्गा मुआब्जा विवाद देखिएपछि ठाउँ फेरिएको थियो । 

फाउन्डेसनका महासचिव गिरीले पछिल्लो पटक म्यानमारका बुद्धिस्ट एसोसिएसनले मूर्ति लैजाने वा नलैजाने भन्ने सम्बन्धमा छिटो निर्णय लिन भनेको छ । उनले भने, ‘हामीले राम्रै उद्देश्य राखेर बुद्धको मूर्ति ल्याउने पहल थाल्यौँ तर सरकारले गाम्भीर्य बुझेन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप