शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निबन्ध : साधनको किसिम

मङ्गलबार, १९ भदौ २०८०, १० : १६
मङ्गलबार, १९ भदौ २०८०

किसिम भनेको सङ्ख्या जस्तै हो तर सङ्ख्या नै चाहिँ होइन । रूप जस्तै पनि हो तर रूपै चाहिँ होइन । बरु के चाहिँ हो भने रूपको व्यक्त हुने तरिका हो । यस अर्थमा तपाईँ यसलाई रूपको आधार हो, त्यसलाई देखाउने तरिका हो भन्नसम्म चाहिँ सक्नुहुन्छ । त्यसैले यो पनि यस्तै हुन्छ भन्ने छैन, यस्तै हुन्छ भन्न सकिन्न । कतिबेला कस्तो चाहिन्छ त्यसैगरी प्रकट भइदिन्छ भने कस्तो हुन्छ भन्ने । न तपाईँ यति नै हुन्छ भन्न सक्नुहुन्छ न यस्तै हुन्छ नै भन्न सक्नुहुन्छ । 

यस्तो किन हुन्छ थाहा छ ? किनकि यो भनेको समस्यामा भर पर्ने कुरा हो, साधनमा भर पर्ने कुरा हो । समस्या कस्तो छ त्यसलाई समाधान गर्ने साधन पनि त्यस्तै हुन्छ । जति बेला जस्तो चाहिन्छ त्यस्तै रूपमा प्रकट हुनुपर्छ त्यस्तै रूपमा प्रकट भइदिन्छ । यस्तो अवस्थामा तपाईँ नै भन्न सक्नुहुन्छ कि कति हुन्छ भन्ने, कस्तो हुन्छ भन्ने । साधनको रूप र रङ्ग तथा उसको प्रकट हुने तरिका कस्तो छ किसिम पनि त्यस्तै हुन्छ । यसले साधनलाई, साधनको रूपलाई सिद्ध गर्छ, कसरी व्यक्त हुन्छ भन्ने तरिकालाई बोध गराउँछ । 

मानिलिनुस् तपाईँ भान्छा घरमा हुनुहुन्छ । खाना पकाउँदै हुनुहुन्छ । बीचैमा ग्यास सकियो । यतिबेला के गर्नुहुन्छ ? ग्यास बदल्नुहुन्छ, घरमा नभए बजारबाट ल्याउनुहुन्छ, लिन लगाउनुहुन्छ, लिन पठाउनुहुन्छ । यही होइन ? यहाँ ग्यास सकिनु समस्या हो । अर्को ग्यास सिलिन्डर जोड्नु समाधान हो । उसलाई कतैबाट ल्याउनु तरिका हो । हुनसक्छ तपाईँ कर्मचारी हुनुहोला । कम्प्युटरको हार्डडिस्क बिग्रियो । यो समस्या भयो । त्यसलाई बनाउनुभयो, बनाउन लगाउनुभयो । यो समाधान भयो । त्यसलाई कसरी बनाउनुभयो, कसरी बनाउन लगाउनुभयो यो तरिका भयो । 

त्यस्तै हुन सक्छ तपाईँ विद्यार्थी हुनुहोला । पुस्तक कापी आवश्यक पर्ला तर तपाईँको साथमा छैन । हुन सक्छ स्कुलले नयाँ पाठ्यपुस्तक लागू गरेको पो थियो कि । जे होस् तपाईँसित पुस्तक थिएन । त्यो समस्या हो, बजारबाट किनेर ल्याउनुभयो अथवा साथीसँग मागेर काम चलाउनुभयो । यो समाधान भयो । यहाँ पुस्तक कसरी प्राप्त गर्नुभयो । यो तरिका भयो । एवंरीतले हेर्दै जानुभयो भने, केलाउँदै जानुभयो भने हरेक कुरामा यस्तै नियमले काम गरेको पाउनुहुन्छ । त्यसैले यो पनि यस्तै हुन्छ भन्ने पनि छैन र यति नै हुन्छ भन्ने पनि हुँदैन । समस्या जस्तो छ त्यस्तै हुन्छ र समस्या जति छ त्यति नै हुन्छ । 

वास्तवमा भन्नुहुन्छ भने उसको आफ्नो किसिम नै छैन । यसको अर्थ छँदै छैन भन्ने पनि होइन । छ, धेरै छ, धेरै किसिमका भएकैले यस्तै हुन्छ भन्न नसकिएको हो । तपाईँ चाहे सङ्ख्या भन्नुस् चाहे किसिम साधनको स्वरूप कस्तो छ त्यसैमा भर पर्छ । समस्या कस्तो छ साधन त्यस्तै हुन्छ । साधन कस्तो छ उसको किसिम पनि त्यस्तै हुन्छ । यस अर्थमा यसलाई तपाईँ अनन्त छ भन्न सक्नुहुन्छ ।    

सारमा यति बुझ्नुस् साधनको आफ्नै स्वरूप भन्ने हुँदैन । समस्या कत्रो छ र कस्तो छ त्यही किसिमको हुन्छ । कुनै पनि समस्याले आफ्नो स्वरूप र किसिमभन्दा भिन्न साधन बोकेकै हुँदैन । आफू जस्तो छ, जत्रो छ, आफूलाई जत्रो चाहिन्छ त्यस्तै बोकेको हुन्छ, बोकेर हिँडेको हुन्छ । 

मानिलिनुस् तपाईँ कतै जाँदै हुनुहुन्छ । बाटा खाजा पनि चाहिएला, लगाउने जुत्ता चाहिएला, लत्ताकपडा चाहिएला । यति बेला के गर्नुहुन्छ ? आफूलाई मन पर्ने, आफूले पचाउन सक्ने खाजा र आफूलाई ठिक हुने जुत्ता तथा लत्ताकपडा नै लिनुहुन्छ होइन ? यहाँ पनि त्यस्तै हो । हरेक समस्याले आफू अनुकूल समाधानको साधन बोकेर आएको हुन्छ । 

कोही पनि मानिस आफ्नो क्षमताभन्दा ठुलो भारी बोकेर हिँड्दैन, हिँडेको हुँदैन । न घाँटीभन्दा ठुलो हड्डी निल्ने आँट नै गर्छ । बाघले खाने गाँस आफ्नै हुन्छ, हात्तीले निल्ने गाँस आफ्नै हुन्छ, मानिसले निल्ने गाँस आफ्नै हुन्छ, चरा र मुसाले निल्ने गाँस आफ्नै हुन्छ । यहाँ कसैले सिकाएको हुँदैन । उनीहरूले स्वतः आफू अनुकूलको गाँस लिइरहेका हुन्छन् । साधनको अवस्था पनि त्यस्तै हो । उसलाई पनि कसैले सिकाएको पनि हुँदैन र अह्राएको पनि हुँदैन । स्वतः आफू अनुकूलको साधन साथमा राखेको हुन्छ, बोकेको हुन्छ ।                               

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप