शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस नेता शेखर कोइरालाका सात सन्देश

अन्य पार्टीले मिसन ८४ भनिरहँदा कांग्रेसमा मिसन महाधिवेशन देखिनु विचित्र
शुक्रबार, २२ भदौ २०८०, १८ : ५५
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सात वटा सन्देश दिएका छन् । शुक्रबार दिउँसो नयाँ बानेश्वरको एउटा रेस्टुरेन्टमा कांग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तर्क्रियामा उनले मुलुकको वर्तमान अवस्था, सरकार र कांग्रेसभित्रको आन्तरिक गतिविधिबारे खुलेर कुराकानी गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलको समन्वयमा भएको अन्तर्क्रियामा करिब दुई घण्टा गफिँदा नेता कोइरालाको मुख्य चिन्ता मुलुकमा अराजकता निम्तिन खोजेकोमा थियो ।

तिहारपछि अराजकता थप बढ्ने

नेता कोइरालाले देश अराजकतातर्फ जान लागेको विश्लेषण सुनाए । त्यसलाई प्रधानमन्त्रीले नै मलजल गरेको उनको आरोप छ । 

‘देश पूर्ण रूपमा अराजकतातर्फ जाँदै छ । राजनीतिक, आर्थिक, सामाजिक तथा धार्मिक सबै क्षेत्रमा अराजकता छ । पछिल्लो समयमा कूटनीतिमा पनि अराजकता देखियो,’ कोइरालाले भने, ‘भारतले नेपालको नयाँ नक्सा अस्वीकार गरिदियो । चीनले पनि त्यसलाई बेवास्ता गरेको देखियो । नयाँ नक्साबारे पूर्वपरराष्ट्रमन्त्री र वर्तनमा परराष्ट्रमन्त्रीको धारणा फरक फरक आएको छ । यो गम्भीर छ ।’

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण उनका लागि परीक्षा हुने उनले बताए । ‘विदेशी राजदूतले पनि पपुलिजमको कुरा बोल्न थाले, देश अराजकतामा गएको छ । चिनियाँ राजदूत अर्काको देशमा आएर बोल्न त मिल्दैन नि । प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । हेरौं कसरी म्यानेज गर्नुहुन्छ,’ उनले भने ।

प्रधनमन्त्रीको तहबाट अराजकता नियन्त्रणमा भूमिका हुनुपर्नेमा उल्टो अराजकतालाई प्रोत्साहन गर्ने काम भइरहेको कोइरालाको बुझाइ छ ।

‘कोशी प्रदेश नामकरणबाटै विवाद छ । यो लडाइँ कोशीमा मात्रै सीमित छैन । जातीय राज्यको कुरा प्रचण्डले बोलेका छन् । पार्टी अध्यक्ष भएर बोलेको भए केही थिएन तर देशको प्रधानमन्त्रीले आदिवासी जनजाति दिवसको दिन बोलेपछि परिस्थिति अर्कै भएको छ,’उनी भन्छन् ।

देशमा निर्देशित अराजकता आउन खोजेको संकेत गर्दै प्रधानमन्त्रीले प्रोत्साहन गरिरहेको उनको टिप्पणी छ । ‘धरानको मेयरले मन्दिर अघि चर्च बनाउने, सामाजिक सञ्जालमा गोरु काटेर खाएको विषय छ । पहिले पनि खान्थे तर यो हेर्दा धर्मको मात्र कुरा हैन भन्ने लाग्छ,’ कोइरालाले भने, ‘देख्दा धार्मिक लडाइँ लाग्थ्यो तर धरान गएपछि क्रिस्चियन र धार्मिक गुरुहरू भेटेँ । विषय यहीँ सीमित होलाजस्तो लाग्दैन ।’

सुरक्षा निकायका अधिकारीहरू भेट्दा कुनै पनि बेला जातीय द्वन्द्व भड्किन सक्ने संकेत गरेको उनको भनाइ छ ।  ‘सेक्युरिटीका साथीहरू भेट्दा कुनै पनि बेला जातीय द्वन्द्व भड्किन सक्छ भन्नुहुन्छ । त्यहाँ पर्याप्त फण्ड पनि छ । गण्डकी प्रदेशमा पनि यसको झिल्को पुगेको छ,’ कोइरालाले भने ।

कोइरालाले नागरिकमा आशा जगाउन नसके तिहारपछि फेरि अराजकता बढेर जाने बताए । त्यो परिस्थिति कस्तो हुन्छ भन्ने कसैले आंकलन गर्न नसक्ने उनको भनाइ छ । कांग्रेसको नेतृत्वको सरकार बन्दा अहिलेको अराजकता कम हुने कोइरालाले विश्वास व्यक्त गरे ।

‘सरकारमा अहिले हाम्रा ९ जना  मन्त्री छन् । हामी सरकारमै छौं । तर, कांग्रेसले सरकारको नेतृत्व नै गर्नुपर्छ भनेर मैले भनिरहेको छु,’ उनले भने, भने, ‘अहिलेको सरकारमा ८० प्रतिशत अराजकता भइरहेको छ । कांग्रेसको सरकार बने ५० प्रतिशतमा आउँछ भन्ने हो ।’ पार्टी विधि र पद्धतिअनुसार नचल्दा अदालत सक्रिय भएको उनको बुझाइ छ ।

मध्यमार्गी नेता

नेता कोइराला पार्टी सभापति शेरबहादुर देउवासँग समदूरी कायम गरेरै अगाडि बढ्ने सन्देश दिएका छन् । पार्टी भित्रको विपक्षी खेमाको नेतृत्व गरेर सभापति देउवाविरुद्ध नउभिने उनको संकेत छ ।

‘म मध्यमार्गी मान्छे हो । म लोकप्रियतावादी कुरा गर्दिनँ । म मध्यमार्ग राजनीति गर्न रुचाउँछु । धेरै एग्रेसिभ हुने मेरो नेचर छैन ।’ उनले भने, ‘महामन्त्री गगन थापाको नेचर एग्रेसिभ छ । म सबैलाई मिलाएर जाउँ भन्ने खालको छु ।’ तर, आफू सभापति देउवासँग नमिलेको उनको प्रस्टोक्ति छ ।

केसी निवासको बैठकप्रति असन्तुष्टि

नेता कोइरालाले नेता अर्जुननरसिंह केसीको निवासमा भएको महामन्त्रीद्वय सहितको भेलाबारे अनभिज्ञता प्रकट गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, प्रदीप पौडेल, बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू सहभागी भएका थिए ।

इतर पक्षको गुटगत बैठकमा महामन्त्री शर्मा र नेता पौडेल पहिलो पटक सहभागी भएका थिए । जहाँ नेता कोइरालालाई बोलाहट थिएन । केसी निवासमा भएको डिनर मिटिङप्रति कोइरालामा असन्तुष्टि देखिन्छ ।

‘त्यो बेला मलाई थाहा छैन । मलाई खबर पनि गरिएको थिएन । कसैको घरमा बैठक हुन्छ भने मलाई थाहा हुने कुरा पनि भएन,’ कोइरालाले भने । उनी निकट स्रोतका अनुसार कोइराला नेता पौडेललाई समूहमा सहभागी गराउन इच्छकु भए पनि महामन्त्री शर्माका सन्दर्भमा अहिलेसम्म सकारात्मक छैनन् ।

she

प्रधानमन्त्रीमा देउवाको विकल्प छैन

नेता कोइरालाले प्रधानमन्त्रीमा सभापति देउवाको विकल्प नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताउँदै आएका कोइरालाले प्रधानमन्त्री भने देउवा बन्ने जिकिर गरे । 

‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्छ । लोकतान्त्रिक पद्धतिबाट अगाडि जान्छ । त्यसमा हाम्रो संसदीय दल छ,’ उनी भन्छन्, ‘संसदीय दलको नेता शेरबहादुरजी हुनुहुन्छ । संसदीय दलमा उहाँको राम्रो बहुमत छ । नेचुरली उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ । अर्को विकल्प वा म बन्छु भनेर बन्ने होइन ।’

संसदीय दलको नेता परिवर्तनको परिस्थिति नै नआएको उनको भनाइ छ  । ‘संसदीय दलको नेता परिवर्तनको परिस्थिति नै आएको छैन । कसरी कुरा गर्ने ?’ उनको प्रश्न छ । उता महामन्त्री गगन थापा भने संसदीय दलको नेता परिवर्तन गर्ने अभियानमा छन् ।

प्रचण्ड सरकार सुरक्षित

नेता कोइरालाले तत्काल प्रचण्ड नेतृत्वको सरकार परिवर्तन हुने सम्भावना नरहेको बताए । उनले भने, ‘सभापति जसरी जाँदै हुनुहुन्छ । सरकार सहज र सुरक्षित छ । मेरो सोचाइ अर्को हुन सक्छ ।’

सरकारको विकल्प खोज्ने कुरामा जाँदा एमाले र माओवादी फेरि मिल्ने कांग्रेसमा भय देखिएको उनको भनाइ छ । तर नेता कोइरालाले सत्ता गठबन्धन सम्बद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतका दलबीच बनेको समाजवदी मोर्चा कांग्रेसको विरुद्धमा रहेको बताए ।

कांग्रेसविरुद्ध समाजवादी मोर्चा बन्यो भन्दा कांग्रेसकै नेताहरुले आफ्ना कुरालाई हँसीमजाक बनाएको उनको गुनासो छ । कांग्रेसका नेताहरुलाई ब्ल्याकमेल गरेर प्रचण्डले सरकारको आयु बढाइरहेको नेता कोइरालाले बताए । 

‘कांग्रेस समयमै सचेत भएन भने प्रचण्डजीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने अवस्था आउन सक्छ । मैले त्यो अवस्था देख्दैछु,’ नेता कोइरालाले भने, ‘नक्कली भुटानी शरणार्थी, सुन तस्करी, ललिता निवास प्रकरणमा हाम्रो कहीँ न न कहीँ कमजोरी छ । त्यो कमजोरीले गर्दा प्रचण्डजीले ब्ल्याकमेल गर्न खोज्नु भएको छ ।’

१५ औं महाधिवेशन २०८२ मा हुनेमा आशावादी

नेता कोइराला पार्टीको १५ औं महाधिवेशन २०८२ सालमा हुनेमा आशावादी देखिए । कांग्रेसको संस्थापन पक्ष २०८४ मा हुने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनपछि मात्र महाधिवेशन गर्न तयार हुने आशंकाबीच उनले २०८२ मै महाधिवेशन हुने आशा व्यक्त गरे ।

उनले भने, ‘गगन थापा महामन्त्री हुनुहुन्छ । उहाँ पार्टीको क्रियाशील सदस्य छानबिन समितिको संयोजक पनि हुनुहुन्छ । हामीलाई यसको फाइदा छ ।’

उनका अनुसार महामन्त्री थापा क्रियाशील सदस्य छानबिन समितिको संयोजक नभएको भए २०८२ मा महाधिवेशन हुनेमा शंका हुन्थ्यो । उनले भने, ‘हामीहरु सबैको दिमागमा छ । २०८२ भित्र पार्टीको महाधिवेशन हुनुपर्छ ।’ तर, महाधिवेशनको अहिले नै चर्चा सुरु हुनु स्वाभाविक नभएको उनको भनाइ छ । 

अन्य पार्टीले मिसन ८४ भनिरहँदा कांग्रेसमा मिसन महाधिवेशन देखिनुले विचित्र भएको उनको भनाइ छ । अहिले सरकारको नराम्रो काममा खबरदारी र राम्रो कामको समर्थन गर्नुपर्ने बेला भएको नेता कोइरालाले बताए ।

उनले भने, ‘अहिले महाधिवेशनको चर्चा गर्ने काम धेरै हतार हुन्छ । यो राम्रो संकेत होइन । अहिले पार्टीलाई सुदृढीकरण गर्ने अभियानमा लाग्नुपर्छ ।’

विधान विपरीतका निर्णय

पार्टीमा सभापति शेरबहादुर देउवाका विधान विपरीतका निर्णयमा संस्थापन इतर पक्षको सहमति रहेको उनले बताए ।

उनले भने, ‘पार्टीलाई विधानसम्मत चलाउने कुरामा हामीबाट पनि कमजोरी भएको छ । भ्रातृ संस्थाको तदर्थ समिति विधान विपरीत बनाउने कुरामा हाम्रो पनि सहमतिले कमजोरी भएको छ । हामीले स्वीकार गर्नुपर्छ ।’

कांग्रेसले नेविसंघ, तरुण दल लगायतका भ्रातृ संस्थामा विधान विपरीत तदर्थ कमिटी ल्याएको छ । यस्तै महाधिवेशन भएको २० महिनापछि विभाग गठन भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप