सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पाल्पाको सैनिक सङ्ग्रहालयमा नेपालको इतिहास, तस्बिरहरू
फोटोफिचर

पाल्पाको सैनिक सङ्ग्रहालयमा नेपालको इतिहास, तस्बिरहरू

शनिबार, २३ भदौ २०८०

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

पाल्पा ।  नेपाली सेनाले २०७५ सालदेखि सुरु गरेको एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सङ्ग्रहालय काठमाडौँबाहेक अन्य दुई स्थानमा बनाइएको छ । एउटा सिन्धुली गढी र अर्को पाल्पा दरबारमा सैनिक सङ्ग्रहालय बनाइएको हो । 

पाल्पा दरबारमा अवस्थित सैनिक सङ्ग्रहालय २०७८ सालमा निर्माण कार्य सम्पन्न भई प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेपछि सर्वसाधारणलाई खुला गरिएको छ । लुम्बिनी प्रदेश स्तरीय पाल्पा दरबार सङ्ग्रहालय घुम्न आउन आन्तरिक तथा बाह्य पर्यटकलाई मध्य नजर गर्दै यो सङ्ग्रहालय स्थापना गरिएको हो ।

यस सङ्ग्रहालयलाई मुख्य पाँच कक्षमा विभाजन गरिएको छ । नेपाली सेनाको इतिहासदेखि अहिलेसम्मका गतिविधि साथै सैन्य सामग्रीहरू सङ्ग्रहालयमा राखिएको छ । पहिलो अभिकलन कक्षमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिदेखि अहिलेसम्म रहेका प्रधान सेनापति, राष्ट्र निर्माता, अतिरथी र परमाधिपतिहरूको तस्बिर र चित्रहरू राखिएको छ । 

दोस्रो कक्षमा नेपालको एकीकरण र अङ्ग्रेज युद्धमा प्रयोग गरिएका पाल्पाका मुख्य नुवाकोट गढी, जितगढी, र वाकुम गढीको कलाकृति राखिएको छ । अर्को ऐतिहासिक शस्त्र अस्त्र कक्ष नाम दिइएको यो कक्षमा नेपाल एकीकरण र अङ्ग्रेज युद्धमा नेपाली सेनाले प्रयोग गरेको हात हतियारहरू राखिएको छ । भरुवा बन्दुकदेखि तोप, खुकुरीहरू सैनिक सङ्ग्रहालय छाउनी बाट ल्याएर राखिएको छ । पुरानासँगै अहिले प्रयोग हुने आधुनिक हात हतियारहरू पनि राखिएको छ । यससँगै पोसाक आभूषण, विभूषण कक्षमा नेपाली सेनाको स्थापनाकालदेखि प्रयोग गरिएको पोसाकसहित नेपाली सेनामा प्रयोग हुने दर्ज्यानी चिन्हहरू राखिएको छ । 

पाँचौ कक्षमा नेपाली सेनाको अहिलेसम्मको योगदानहरूको भिडियो अडिटोरियममा देखाइन्छ । सबै कक्ष घुमेर आएर अन्तिम अडिटोरियममा सेनासम्बन्धी सामग्रीहरू देखाइने गरिन्छ । सैनिक सङ्ग्रहालय स्थापना पछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण झनै बढेको पाल्पा दरबार सङ्ग्रहालयले जनाएको छ । यहाँ आउने पर्यटकहरू सैनिक सङ्ग्रहालय अवलोकन पछि पुलकित हुने गरेका छन् । पहिला दैनिक २०० पर्यटक पुग्ने पाल्पा दरबार सङ्ग्रहालयमा सैनिक सङ्ग्रहालय स्थापना पछि ४५० हाराहारीमा अवलोकन गर्न पुग्ने गरेको पाल्पा दरबार सङ्ग्रहालयका निमित्त प्रमुख चन्द्र ओलीले जानकारी दिन भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया