आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

विश्वकपबाट केप भेर्डेले पाउनेछ ३ अर्बभन्दा बढी रकम

आइतबार, २१ असार २०८३, १३ : २८
आइतबार, २१ असार २०८३

सारांश

  • केप भेर्डे सन् २०२६ को फिफा विश्वकपमा आफ्नो पहिलो दुई खेलमा स्पेन र उरुग्वेसँग बराबरी खेल्दै आश्चर्यजनक टोलीको रूपमा उदाएको छ ।
  • नकआउट चरणमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा कडा चुनौती दिए पनि केप भेर्डे १११औँ मिनेटमा भएको आत्मघाती गोलका कारण पराजित भयो ।
  • यस विश्वकपमा सहभागी ४८ टोलीलाई फिफाले कुल ८७ करोड १० लाख अमेरिकी डलर पुरस्कार वितरण गर्नेछ, जसमा अन्तिम ३२ बाट बाहिरिएको केप भेर्डेले न्यूनतम २ करोड १० लाख अमेरिकी डलर (करिब ३ अर्ब २० करोड २० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछ ।

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपमा केप भेर्डे सबैभन्दा ठूलो आश्चर्यजनक टोलीका रूपमा उदाएको छ । आफ्नो पहिलो दुई खेलमा उसले पूर्व विश्वविजेता स्पेन र उरुग्वेसँग बराबरी खेल्दै सबैको ध्यान खिचेको थियो ।

आफ्नो इतिहासकै पहिलो विश्वकप खेलमा केप भेर्डेले युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्यो । त्यसपछि दोस्रो खेलमा पछि परेको अवस्था उल्टाउँदै विश्व वरीयताको १९औँ स्थानमा रहेको उरुग्वेसँग २–२ तथा साउदी अरेबियासँग ०–० को बराबरी खेल्दै अपराजित रूपमा अन्तिम ३२ मा स्थान बनायो ।

नकआउट चरणमा उसले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा कडा चुनौती दिँदै ३–२ ले पराजय बेहोरे पनि केप भेर्डेले दुईपटक बराबरी गोल फर्काउँदै अर्जेन्टिनालाई अतिरिक्त समयसम्म धकेल्यो । तर १११औँ मिनेटमा भएको आत्मघाती गोलका कारण उसको ऐतिहासिक यात्रा समाप्त भयो ।

विश्वकपमा पहिलो पटक छनोट भएको सबैभन्दा साना राष्ट्रहरूमध्ये एक मानिने यो टोलीले ४८ टोली सहभागी विस्तारित विश्वकपको स्तर कमजोर हुने र एकपक्षीय खेलहरू मात्र हुने भन्ने धारणा गलत सावित मात्र गरेको छैन, विश्वकै ध्यान आफूतिर खिच्न पनि सफल भएको छ ।

केप भेर्डेले कति रकम पाउनेछ ?

यस विश्वकपमा सहभागी ४८ टोलीलाई फिफाले कुल ८७ करोड १० लाख अमेरिकी डलर पुरस्कार वितरण गर्नेछ । यो सन् २०२२ को विश्वकपमा वितरण गरिएको ७२ करोड ७० लाख अमेरिकी डलरभन्दा करिब १५ प्रतिशत बढी हो ।

हरेक टोलीले तयारी, प्रशिक्षण, यात्रा तथा व्यवस्थापन खर्चका लागि २५ लाख अमेरिकी डलर तथा विश्वकपमा छनोट भएबापत थप १ करोड अमेरिकी डलर प्राप्त गर्नेछ ।

केप भेर्डेजस्ता साना फुटबल राष्ट्रहरूले टोलीको यात्रा, व्यवस्थापन तथा टिकट व्यवस्थापनका लागि छुट्याइएको १ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त सहायता पनि पाउनेछन् ।

समूह चरणबाटै बाहिरिने टोलीले ९० लाख अमेरिकी डलर प्राप्त गर्नेछन् भने अन्तिम ३२ बाट बाहिरिने टोलीले सहभागिता रकमबाहेक थप १ करोड १० लाख अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

यस अर्थमा अन्तिम ३२ सम्म पुगेर त्यहाँबाट बाहिरिएको केप भेर्डेले छनोट भएबापतको १ करोड अमेरिकी डलर र नकआउट चरणको १ करोड १० लाख अमेरिकी डलर गरी न्यूनतम २ करोड १० लाख अमेरिकी डलर (करिब ३ अर्ब २० करोड २० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछ । यो सम्पूर्ण रकम केप भेर्डे फुटबल महासंघलाई दिइनेछ र त्यसको वितरण कसरी गर्ने भन्ने निर्णय महासंघले गर्नेछ ।

यदि यो पुरस्कार टोलीका २६ खेलाडीबीच बराबर बाँड्ने हो भने प्रत्येक खेलाडीले करिब १४ करोड रुपैयाँभन्दा बढी प्राप्त गर्न सक्नेछन् ।

अफ्रिकाको पश्चिमी तटबाट टाढा रहेको टापुहरूको देश केप भेर्डेको जनसंख्या ५ लाख २९ हजार ६ सय छ । यदि विश्वकपबाट प्राप्त हुने न्यूनतम ३ अर्ब २० करोड २० लाख रुपैयाँ सम्पूर्ण जनसंख्यामा बराबर बाँड्ने हो भने प्रत्येक नागरिकको भागमा करिब ६ हजार ४६ रुपैयाँ पर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप