शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सेप्टेम्बर ११ पछि १५ वर्षसम्म जेल परेका एक निर्दोष मुसलमानको कथा

सोमबार, २५ भदौ २०८०, १२ : ४०
सोमबार, २५ भदौ २०८०

उत्तरी इराकस्थित कुर्दिस क्षेत्र चम्मचमालका यासिन एम अरेफलाई सेप्टेम्बर ११ ले आफ्नो १५ वर्षे जेल जीवन सम्झाउँछ । ११, सेप्टेम्बर २००१ को हमलापछि अमेरिकामा बढेको ईस्लामफोबियाको शिकार भएर उनले आफ्नो जवानी जेलमा बिताउनुपरेको थियो । 

हाल ५३ वर्षीया अरेफ कुनै समय अमेरिकाको न्युयोर्क राज्यस्थित अल्बानेमा रहेको मस्जिद अल सलेममा इमाम थिए । एफबीआईले ‘ स्टिङ अपरेशन’ का क्रममा ‘षडयन्त्रपूर्वक’ आरोप लगाएका उनलाई २००४ मा पक्राउ गरियो । गोप्य सूचनामार्फत उनले आतङ्कवादलाई सहयोग गरिरहेको एफबीआईको आरोप थियो । अमेरिकाका मानव अधिकारवादी सङ्गठन तथा आतङ्कवादविरोधी नीतिका आलोचकहरूले यस निर्णयको विरोध गरेका थिए । 

११ सेप्टेम्बर २००१ को आक्रमणमा अमेरिकामा ३ हजारजना मारिएका थिए । यस घटना लगत्तै अरेफ ईस्लामफोबिया अर्थात् मुस्लिमविरोधी भावनाको शिकार हुनुप–यो । घटनापछि जर्ज डब्ल्यू बुसले आतङ्कवादविरुद्धको युद्ध घोषणा गरेका थिए । 

यस युद्ध सुरु भएको बिसौँ वर्षगाँठमा अमेरिकी नेतृत्वको फौज अफगानिस्तानबाट निस्किसकेको छ । उसले इराक पनि छाेडिसक्याे  अर्थात् ‘आतंकवादविरुद्धको विश्वव्यापी युद्ध’ समाप्त हुँदैछ । 

अरेफ २०१९ मा रिहा भए, त्यसपछि उनलाई उत्तरी इराकस्थित कुर्दिस क्षेत्रमा फिर्ता गरियो । चम्मचामल जिल्लास्थित ग्रामीण इलाकामा रहेको उनको सानो घरमा अहिले श्रीमती र उनी बस्छन् । उनीहरूका दुई छोरा र दुई छोरी भने अमेरिकामै पढ्दै छन् । 

२ जुलाईमा उनले आफ्नो आत्मकथालाई कुर्दिस् भाषामा प्रकाशित गरे । १ हजार पृष्ठभन्दा लामो यस पुस्तकमा उनको पक्राउ र जेल जीवनबारे विस्तृत लेखिएको छ । यो पुस्तक सन् २००८ मा अमेरिका प्रकाशित अङ्ग्रेजी भाषाको ‘सन अफ माउन्टेन्स्’ नामक आत्मकथाकै अनुवाद हो । 

‘म जतिबेला पक्राउ परेको थिएँ, त्यतिबेला ३४ वर्षको थिए र ४९ वर्षको उमेरमा जेलबाट रिहा भए । यी १५ वर्ष जेलमा बिताउँदा मैले जीवनका सबै लक्ष्यहरू गुमाए । पीएचडी गर्ने योजना र आफूलाई आर्थिक तथा सांस्कृतिक रूपमा बलियो बनाउने योजना अधुरै रहे,’ अरेफले भने । 

एफबीआईको स्टिङ

अमेरिका गएको एक वर्षपछि नै मस्जिद एएस सलेममा अरेफ नेता चुनिए । अमेरिकाले २००३ मा इराकमा आक्रमण गरेपछि त्यसको विरोधमा उनले युद्धविरोधी प्रदर्शनहरू चलाए । ‘मलाई फसाउनका लागि एफबीआईले बनावटी स्टिङ ग–यो । अदालतमा मेराविरुद्ध वास्तविक प्रमाण पेस गरिएको थिएन,’ अरेफले भने, ‘अमेरिकी गुप्तचरले मलाई मेरो राजनीतिक विचार वा सामाजिक गतिविधिका आधारमा पक्राउ गर्न सक्दैन थियो । त्यसैगरी मलाई षड्यन्त्रपूर्वक फसाउनका लागि एफबीईआईले स्टिङ अपरेसन गरेर पक्राउ ग–यो ।’ 

जुन २००३ मा अमेरिकी सैनिकले कुर्दिस भाषामा लेखिएको नोटबुकमा अरेफको नाम, अल्बानीस्थित ठेगाना र फोन नम्बर भेटेको थियो । इराकको रवाहस्थित दुस्मनहरूको अखडामा छापा मार्दा अमेरिकाले यी कागजात भेटेको बताइयो । यसपछि उनलाई निशाना बनाएर एफबीआईले अनुसन्धान सुरु ग–यो । ‘नोटबुकमा मेरो नामको पछाडि कमाण्डर लेखिएको एफबीआईको सुरुवाती दाबी थियो, तर मैले यो अस्वीकार गरेँ र जब न्यायाधीशले नोटबुकको उक्त पाना उपलब्ध गराउन माग गरे । तब एफबीआईले त्यहाँ गलत अनुवाद भएको स्वीका–यो,’ अरेफले भने । 

अरेफको नामको पछाडि ‘काक’ लेखिएको थियो । ‘कुर्दिस भाषामा काक भन्नाले दाजुभाइ भन्ने बुझिन्छ र कुर्दिस्हरु एकअर्कालाई सम्मान गर्नेक्रममा यही शब्द प्रयोग गर्छन्, यसको अर्थ कमाण्डर भन्ने होइन,’ अरेफले भने । 

बुस सरकारले आफ्नो मुद्दालाई राजनीतिक फाइदाका लागि प्रयोग गरेको अरेफको आरोप छ । जब अरेफ पक्राउ परे, तब अमेरिकी सरकारका महान्यायाधिवक्ता जेम्स बि कोमेले वासिङटनमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए,‘हामीले ठूलो माछा भेटेका छौँ ।’

अरेफका अनुसार एफबीआईले एक सुराकीलाई प्रयोग गरेको थियो, ती सुराकी लामो जेलजीवन काटिसकेका व्यक्ति थिए । उनले अरेफका साथी मोहम्मह मोसरर्फ हुसैनमार्फत अरेफसँग सम्पर्क बढाएका थिए । बंगलादेशमा जन्मिएर अमेरिकाको नागरिक भइसकेका हुसैन अल्बानीस्थित एक पिज्जा पसलका मालिक थिए । 

मलिक नामका सुराकीले हुसैन र अरेफ दुबैसँगको आफ्नो टेलिफोन सम्पर्क गोप्य रूपमा रेकर्ड गरेका थिए । हुसैनसँग मलिकले ५० हजार डलर ऋण दिने प्रस्ताव गरेका थिए । र, बन्दूक बेचेको पैसालाई सेतो बनाउन प्रस्ताव गरेका थिए । 

अल्बानीस्थित जिल्ला अदालतले २००६ मा सम्पत्ति शुद्धिकरण र आतङ्कवादलाई प्रश्रय दिएको अभियोगमा अरेफ र हुसैनविरुद्ध १५ वर्षे जेल सजाय सुनायो । ‘मलाई आतङ्कवाद, आतङ्कवादी, गोली वा बम पड्काउने विषयमा केही थाहा थिएन । मलाई केवल पिज्जा बनाउनका लागि कति पिठो प्रयोग गर्छु भन्नेमात्रै थाहा छ,’ जेल परेपछि हुसैले न्यायाधीशसँग भनेका थिए ।  

लिटल गिट्मो 

अरेफ झन्डै साढे दुई वर्षसम्म थुनामा बसे । त्यसपछि वर्षौँसम्म उनलाई अत्यधिक सुरक्षासहित इन्डियानास्थित टेर्रे हटमा राखियो । यस कारावासलाई ‘लिटल गिट्मो’ पनि भनिन्छ । ‘टेर्रे हटमा मैले मानसिक यातना व्यहोर्नुप–यो र यो अमेरिकी कानूनको विपरीत थियो । धेरै टाढा भएकाले मेरो परिवार र छोराछोरीले कमैमात्र भेट्न पाउँथे । उनीहरू आउँदा पनि मलाई यातना महसुस हुन्थ्यो,’ अरेफले भने,‘छोराछोरीलाई अंकमाल गर्ने वा चुम्बन गर्ने अनुमति मलाई थिएन । सानो झ्यालको दुईतर्फ पातलो प्लास्टिक राखिएको हुन्थ्यों र हामी त्यहाँ फोनमार्फत कुराकानी गर्थ्यौँ । उनीहरूले मलाई मानसिक रूपमा ध्वस्त गर्नका लागि हरेक टेक्निक प्रयोग गरे ।’ 

तर, कुनै न कुनै दिन एफबिआईएले प्रयोग गरेका गोप्य प्रमाण बाहिरिनेमा उनी ढुक्क थिए, यी प्रमाणहरुले उनी निर्दोष छन् भन्ने प्रमाणित गर्नेछ भन्ने उनलाई थियो । ‘मैले भोगेको अन्यायपछि अमेरिकामा प्रजातन्त्र र मानव अधिकार छ भन्ने मेरो दृष्टि नै बदलियो,’ उनले भने, ‘९÷११ पछि प्रजातन्त्र  र मानवअधिकार प्रवर्द्धन गर्ने मामिलामा अमेरिका निरन्तर पछाडि फर्किएको छ । अमेरिका नैतिक रूपमा कङ्गाल भइसकेको छ  । सेप्टेम्बर ११ पछिको बुस प्रशासनको गलत नीति र इस्लामफोबिया भावनाको शिकार म भएको छु ।’

अरफेकी वकिल क्याथी मन्नीले पनि उनीविरुद्ध कुनै गम्भीर प्रमाण नरहेको बताइन् । ‘उनी ९÷११ पछिको इस्लामफोबियाको शिकार हुन् । मुस्लिमप्रति जुन आम डर थियो, त्यसैका आधारमा उनलाई अभियोग लगाइयो,’ मन्नीले भनिन् । ‘त्यतिबेला न्यायाधीशले उनलाई निशाना बनाउन एफबीआईसँग राम्रो कारण छ भने । यो गोप्य प्रमाणका आधारमा आधारित थियो, हामीलाई हेर्न दिइएन । र, पछि गएर त्यो प्रमाण झुठो हो भन्ने प्रमाणित भयो । उनको घटना उच्चस्तरको थियो र बुस प्रशासनले धेरै रूपमा यसलाई प्रयोग ग–यो । यस्ता स्टिङ केसहरू राजनीतिक उद्देश्यका लागि गर्ने गरिएका छन्,’ उनले भनिन् । 

वासिङ्टन डिसीस्थित डिफेन्स प्रायोरिटिजका पोलिसी डाइरेक्टर बेन फ्राइडम्यानले ११ सेप्टेम्बरपछि बढेको इस्लाम फोबिया राजनीतिक नेताहरूकै कारण अझे उच्च रूपमै रहेको बताए । ‘सेप्टेम्बर ११ पछि अमेरिकामा इस्लामफोबियाले छलाङ नै लगाएको थियो । नेताहरूको प्रयासका कारण अहिले पनि यो उच्च रूपमै छ । विशेष गरी ट्रम्पले यो त्रासलाई प्रयोग गरे । उनले मुस्लिमको हवाला दिएर अरूलाई तर्साए र युद्ध आप्रवासन तथा अन्य कडा नीतिका लागि समर्थन बटुल्न खोजे ।’

रोचक कुरा,  आफ्नो नियतिका बाबजुद अमेरिकासँग अरेफ रिसाएका छैनन् । ‘कुर्दिस्तान क्षेत्रमा आएयता म अमेरिकाको रक्षक बनेको छु,’ उनले भने, ‘मलाई लाग्छ अहिले पनि अमेरिकामा केही हदसम्म ईस्लामफोबिया छ । तर म पक्राउ पर्दाको समयभन्दा अहिले धेरै परिवर्तन भइसकेको छ र वातावरण केही राम्रो छ, यसमा मलाई शङ्का छैन ।’

स्रोत : अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप