सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढमा एक घर २ एभोकाडो बिरुवा रोप्ने अभियान सञ्चालन

कुशल परामर्श केन्द्रले बिरुवा हुर्काउन २ वर्षसम्म प्राविधिक सहयोग गर्ने
मङ्गलबार, २६ भदौ २०८०, ०७ : ५०
मङ्गलबार, २६ भदौ २०८०

बारा । केरा खेतीका लागि  प्रख्यात मानिएको निजगढ नगरपालिकामा अव ‘एक घर दुई एभाकाडो’ अभियान  सञ्चालन  भएको छ ।

निजगढलाई  एभोकाडो सिटी बनाउने अभियान अन्तर्गत प्रत्येक घरधुरी २ वटा बिरुवा निःशुल्क वितरण गर्ने र बिरुवा हुर्काउन २ वर्षसम्म  प्राविधिक सहयोग समेत गरिने जनाइएको छ । अभियान अन्तर्गत निजगढबासीहरुले अव आँप, लिची,कटहर र अन्य फलफूलका बिरुवा सरह घरमा २ वटा एभोकाडो फलको बिरुवा हुर्काउने छन् । 

नगरपालिका भित्र रहेका १३ वटा वडाका १२ हजार घरधुरी मध्ये हालसम्म २ हजार ८९० घरधुरीमा ५ हजार ७८० बिरुवा वितरण गरिएको छ ।  

यो अभियानका मुख्य अभियन्ता रविराज दंगालले निजगढ नगरपालिका सबै घरधुरीमा पुगेर ३ वर्षभित्रमा १ घर दुई एभोकाडो रोप्ने जनाएका छन् । 

एभोकाडो फल मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक र पोषणयुक्त फल मानिन्छ । जुनसुकै रोग लागेका बिरामीहरूले पनि यो फल सेवन गर्न सक्नेछन् । यसको बिरुवाले ३ देखि ४ वर्षभित्र फल फल्न सुरु गर्ने जनाइएको छ । फलको उत्पादन पछि सेवन गरेर बाँकी रहेको फल बिक्री गर्दा पनि वार्षिक प्रतिबोट ५० देखि ६० हजारसम्म आम्दानी गर्न सकिने  दंगालले जनाएका छन् । निजगढ नगरपालिका भित्र मात्रै एक घर दुई एभोकाडो लगाउँदा २५ हजार भन्दा धेरै बिरुवा आवश्यक पर्दछ । निजगढभित्र हालसम्म स्थानीयवासी बाहेक सामुदायिक विद्यालय र सङ्घ संस्थाहरूले एभोकाडो बिरुवा लगाएका  छन् । 

यो अभियान सँगै केरा खेती र दूधजन्य पदार्थ (खुवा) को उत्पादनमा जिल्लाकै उत्कृष्ट मानिएको निजगढ नगरपालिका अव एभोकाडो सिटीको रूपमा पनि चिनिने छ ।

‘एभोकाडो बिरुवा लगाउँदा वातावरणीय हिसाबले हरियाली हुने र यो फल स्वास्थ्यका लागि अत्यन्तै फलदायी,विभिन्न रोगहरूको प्रतिरोधात्मक क्षमता बढाउने र पोषणयुक्त फल भएकोले हामीले उत्पादन गरेर खाएर बाँकी रहेको फललाई बजारमा बिक्री गर्‍यो भने एउटै बोटबाट ५० औ हजार आम्दानी गर्न सक्ने देखिन्छ’ निजगढ सिटी एभोकाडो सिटीका मुख्य अभियन्ता रविराज दंगालले भने  ‘हामीले यो अभियानलाई प्रत्येक वडा, टोल विकास, क्लबहरूसँग समन्वय गरेर बिरुवा रोप्ने मात्रै होइन हुर्काउनको लागि प्राविधिक दृष्टिकोणले  सहयोग पनि गर्दछौ’। 

a9

उपयुक्त मौसम हेरेर यो अभियान निरन्तर ३ वर्षसम्म सञ्चालन गरिने जनाएका छन् । बिरुवा हुर्काउन कुशल व्यवसाय परामर्श केन्द्रले २ वर्षसम्म प्राविधिक सहयोग गर्नेछ । बिरुवाको अनुगमन, निगरानी गर्नका लागि उपभोक्ता कार्ड समेत बनाएको छ । उपभोक्ता कार्डका आधारमा बेला बेलामा कृषि प्राविधिक घरघरमा पुगेर बिरुवाको अवस्थाबारे बुझ्ने  र आवश्यक उपचार गर्नेछ । 

गत भदौ २ गते सुरु भएको यो अभियान निजगढ नगरपालिकाका वडा नं ३,५,८,९ र १२ करिब ३ हजार घरधुरीमा सञ्चालन भइसकेको छ । 

बिरुवा हुर्काउन प्राविधिक सहयोग गर्दै आएको कुशल व्यवसाय परामर्श केन्द्रका प्रमुख सरोज कोइरालाले गुणस्तरीय बिरुवा पहिचान गर्न र बिरुवा रोपिसकेपछि लाग्न सक्ने विभिन्न प्रकारका रोगहरूको उपचारको लागि १ जना कृषि प्राविधिक कर्मचारी खटाइएको बताएका छन् ।

a7

 ‘सुरुवातदेखि बिरुवामा फल लाग्ने बेलासम्म कृषि प्राविधिकबाट सहयोग गर्ने हाम्रो लक्ष्य रहेको छ’ कोइरालाले भने ‘अर्को कुरा हामीले मंह्रगोमा धनकुटा पुगेर बिरुवा किनेर ल्याउनुपर्ने अवस्था  भएकोले कलमी माध्यमबाट बिरुवा प्रसारण गर्ने भनेर आँप, कटहर, लिची लगायतका बिरुवाहरूको कलमी प्रसारण विधि सम्बन्धी २० जनालाई तालिम दिँदै छौ,जसले भोलीको दिनमा  एभोकाडो बिरुवा अन्य जिल्लाबाट मंह्रगो मूल्यमा किनेर ल्याउनु पर्दैन’ ।

a5

निजगढमा लगाइएको एभोकाडो फलको बिरुवा धनकुटाबाट खरिद गरेर ल्याइएको हो । यस अभियानका अभियन्ता दंगालले देश विदेशमा रहेका सहयोगीहरुबाट चन्दा स्वरूप सङ्कलन भएको रकमबाटै बिरुवा खरिद गरेर निःशुल्क वितरण गरिएको बताएका छन् ।

a2 (1)a1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप