शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय

‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना

सोमबार, २९ वैशाख २०८२, ०९ : २१
सोमबार, २९ वैशाख २०८२

अंग्रेजीमा ‘कसाभा’, ‘केसभा’, ‘क्यासाभा’ आदि नामले चिनिने सिमल तरुल नेपालको पूर्वी भागमा २०२२/२३ सालदेखि उत्पादन हुँदै आएको छ । २०८० पुस २० गते रातोपाटी समाचार पोर्टलमा ‘बहुउपयोगी केसभालाई हामीले कहिले चिन्ने ?’ शीर्षकको मेरो एउटा लेख छापिएको छ । यस लेखमा केही विषय छुटेको महसुस गरी आज फेरि अद्यावधिक गरेको छु ।

कसाभाबाट बन्ने खानेकुराबारे आज म चर्चा गर्दिनँ, यसबारे उसैबेला चर्चा गरिसकिएको छ । छोटकरीमा मात्र भन्छु, यसबाट ५० किसिमका खानेकुरा बन्छन्, त्योमध्ये नाम चलेको एउटा हो, साबुदाना । 
ताजा केसभाबाट २५ देखि ३५ प्रतिशतसम्म स्टार्च निकाल्न सकिन्छ । एक केजी स्टार्चबाट पाँच सय ६५ मिलिलिटर ‘बायोइथानेल’ उत्पादन गर्न सकिन्छ । एक मेट्रिक टन कच्चा केसभाबाट एक सय ५० देखि दुई सय लिटर बायोइथानोल उत्पादन गर्न सकिन्छ । 

नेपालमा उत्पादनको अथाह सम्भाव्यता छ । उदाहरणका लागि ५० हजार हेक्टर जमिनमा केसभा लगाउने हो र प्रतिहेक्टर २० टनका दरले उत्पादन भयो भने पनि १० लाख टन कच्चा केसभा उत्पादन गर्न सकिन्छ । विदेशमा त ४० देखि ८० टन प्रतिहेक्टर उत्पादन हुन्छ तर त्यतिमाथि पनि नसोचौँ । 

१० लाख टनकै हिसाब गरौँ । यसबाट एक लाख १८ हजारदेखि एक लाख ५७ हजार टन बायोइथानोल उत्पादन गर्न सकिन्छ । एक लाख १८ हजार टन नै भनौँ । यही अप्रिलको अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार बायोइथानोलको दाम प्रतिटन एक हजार ७५ डलर पर्छ । यसै हिसाबले पनि आजका दिनमा एक लाख १८ हजार टन बायोइथानोलको मूल्य १२ करोड ७५ लाख डलर पर्छ । त्यो भनेको आजको सटही दरमा करिब साढे सत्र अर्ब रुपैयाँ हुन्छ । 

बायोइथानोलबाट गाडी चलाउन पनि मिल्छ । पेट्रोलमा अहिले नै १० प्रतिशतसम्म इथानोल मिसाउन सकिन्छ । यसबाट वातावरणमा समेत असल प्रभाव पर्छ । यसभन्दा बढी बायोइथानोल मिसाउनका लागि इन्जिनमा केही परिवर्तन आवश्यक पर्र्छ । इन्जिनमा सामान्य परिवर्तन गर्नासाथ ८५ प्रतिशत बायोइथानोल र १५ प्रतिशत पेट्रोलियम पदार्थ हालेर गाडी चलाउन सकिन्छ । 

यसो गर्दा वातावरण प्रदूषणमा अवश्य नै सुधार हुन्छ । अहिले धुवाँधुलोका कारण उत्पन्न रोगबाट वर्षमा ४७ हजार नेपालीको ज्यान जाने तथ्यांक छ । वातावरणमा ५० प्रतिशत मात्र सुधार गर्न सके पनि वर्षमा २०/२२ हजारको ज्यान जोगाउन सकिन्छ । 

१० लाख टन केसभाबाट एक लाख १८ हजारदेखि एक लाख ५७ हजार टन बायोइथानोल उत्पादन गर्न सकिन्छ । बायोइथानोलबाट गाडी चलाउन पनि मिल्छ । पेट्रोलमा अहिले नै १० प्रतिशतसम्म इथानोल मिसाउन सकिन्छ ।

यति मात्र नभई नेपालले वार्षिक एक अर्ब डलर बराबरको पेट्रोलियम पदार्थ आयात गर्छ । यसको ५० प्रतिशत मात्र कटौती गर्दा पनि वर्षको ५० करोड डलर याने कि ६८ अर्ब रुपैयाँ बिदेसिनबाट जोगाउन सकिन्छ । प्रस्तुत विवरणलाई गुगल अथवा एआईमा सर्च गरेर पनि पुष्टि गर्न सकिन्छ । 

अब फेरि मैले दुई वर्षअघि लेखेको लेखमै फर्कौं । यसै लेखको प्रभाव होला, गत वर्ष काठमाडौँमा आयोजित लगानी सम्मेलनमा केसभा पनि कृषिमा लगानी गर्न सकिने एउटा क्षेत्र हो भन्ने कुरासम्म उठ्यो । 
आजसम्म कसाभा प्रशोधनमा लगानी भएको आधिकारिक जानकारी प्राप्त हुनसकेको  छैन । 

गत वर्ष गैरआवासीय नेपालीले केसभाको उन्नत बिउ आयात गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आवेदन दिएका थिए भन्ने सुनिए पनि हालसम्म कतैबाट बिउ ल्याइएको जानकारीमा छैन । 
बिउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्र, हरिहर भवनका प्रमुख बेनुपप्रसाद प्रसाईं कतैबाट त्यस्तो निवेदन नपरेको बताउँछन् । उनी नेपाल सरकार, कृषि सेवाका सहसचिव हुन् । उनकै कार्यालयले बिउ खरिद तथा आयातको अनुमति दिन्छ । 

यतिका लामो गनगनको एउटै कारण छ, बायोइथानोल जस्तै अर्को पनि पैसा दिने क्षेत्र छ, केसभामा । त्यो हो, पशुदानामा यसको उपयोग । पुरानै लेखमा पनि यसबारे चर्चा गरेको थिएँ । 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सिमिटको अध्ययन अनुसार नेपालमा दैनिक तीन हजार मेट्रिक टन पशुदाना खपत हुन्छ । दानामा ५० प्रतिशतभन्दा बढी हिस्सा मकैको हुन्छ । 

नेपाल दाना व्यवसायी संघको तथ्यांक अनुसार दानामा प्रयोग हुने मकैमध्ये ८० प्रतिशत आयात हुन्छ । सन् २०२२ को तथ्यांकमा सिमिटले १३ करोड डलरको मकै खरिद गरेको आकलन गरेको थियो । हालको सटही दरमा उक्त परिमाणको मकैको मूल्य करिब १७ अर्ब ६० करोडभन्दा बढी हुन्छ ।  

दानाको प्रकृति हेरी मकैको विकल्पमा ३० देखि ७० प्रतिशतसम्म केसभा प्रयोग गर्न सकिन्छ । यसमा अति धेरै कार्बोहाइड्रेड पाइने हुनाले प्रोटिनको मात्रा भने मिलाउनुपर्छ । पन्छीको दानामा ३० देखि ५० प्रतिशत, बंगुरको दानामा ६० प्रतिशतसम्म र उग्राएर पचाउने गाईभैँसी तथा बाख्राजस्ता चौपायाको दानामा ७० प्रतिशतसम्म केसभा प्रयोग गर्न सकिन्छ । 

नेपालमा सबैभन्दा बढी कुखुरा नै पालिने भएकाले यसैको मात्रालाई आधार मान्दा पनि ३० प्रतिशत प्रयोग गर्न सकिने भयो । सत्र अर्बको ३० प्रतिशत भनेको साढे पाँच अर्ब सिधै भयो । साढे पाँच अर्ब ! अलि बढी गफ दियो भन्ने लाग्यो भने फेरि म अनुरोध गर्छु, गुगल गरेर हेर्नुहोला ।

सही लागे लेखलाई आफ्नो सामाजिक सञ्जालमा सेयर गरिदिनुहोला । कोही व्यावसायिक ज्ञान भएका वा जोस भएका दिदीबहिनी तथा दाजुभाइको आँखामा यो लेख पर्‍यो भने देशको भविष्य चम्कन सक्छ । 
हामीकहाँ पैसाको कमी छैन, एक अर्बको सेयर खोल्दा तीन–चार अर्बको भरिन्छ । सेयर बजारकै खेलाडीले मात्र चासो राखिदिए पनि भै’गो । पशुदानाको कच्चा पदार्थ बनाउने केसभा उद्योग २०/२५ करोडमै स्थापना गर्न सकिन्छ । 

इथानोलका लागि भने अलि बढी पर्ला । महिनामा ३० हजार लिटर इथानोल निकाल्नका लागि करिब तीन अर्ब रुपैयाँजति खर्चेर उद्योग स्थापना गर्न सकिन्छ । तीन अर्ब खासै ठुलो कुरो होइन । साँच्चिकै चाहने हो भने एक लाख नेपालीले जनही ३० हजारका दरले लगानी गरे मात्र पनि तीन अर्ब जम्मा गर्न सकिन्छ । एक लाख त के ५० लाख नेपाली लाख रुपैयाँभन्दा बढी लगानी गर्न सक्ने आर्थिक हैसियतमा छन् । अझ करोडै होलान् । मात्र चाहियो काम गर्ने हुटहुटी । 

(लेखक कसाभा खेती गर्ने किसानको सिक्ने क्षमता विषयमा  पोस्टडक्टरल अनुसन्धानमा कार्यरत छन्, प्रतिक्रियाका लागि इमेल  :[email protected])


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप