बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति

सोमबार, २९ वैशाख २०८२, ०९ : २७
सोमबार, २९ वैशाख २०८२

मनिला । फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान हुँदैछ । पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टे पनि दाभाओ सहरको मेयरको लागि चुनावी मैदानमा छन् । 

डुटेर्टे गत मार्चदेखि अन्तरराष्ट्रिय फौजदारी अदालतको हिरासतमा छन् । डुटेर्टे परिवारको साखका लागि पनि यो मध्यावधि चुनाव महत्त्वपूर्ण छ । 

डुटेर्टेले आफ्नो राष्ट्रपतित्वको समयमा अवैध लागुऔषध विरुद्धको लडाइँमा मानवता विरुद्धको अपराध र फिलिपिन्समा हजारौँ मानिसहरूको मृत्यु लगायत गम्भीर आरोपहरूको सामना गरिरहेका छन् । यसै कारण उनलाई हिरासतमा लिइएको छ । तर उनीमाथिको मुद्दा अझै सुरु भएको छैन । अब डुटेर्टेले मध्यावधि चुनावमा दाभाओ सहरको मेयरको लागि उम्मेदवारी दिने निर्णय गरेका छन् । दाभाओ सहरलाई डुटेर्टे परिवारको गढ मानिन्छ । 

राष्ट्रपति बन्नु अघि पनि डुटेर्टेले दाभाओ सहरको मेयर पद सम्हालेका थिए । फिलिपिन्सको कानूनले हिरासतमा रहेका र गम्भीर आरोप लागेका उम्मेदवारहरूलाई चुनाव लड्न अनुमति दिन्छ । तर यदि दोषी प्रमाणित भएमा उनीहरूको  पद जान्छ अनि भविष्यमा चुनाव लड्नबाट प्रतिबन्ध लाग्नेछ । 

  • करिब १८ हजार सिटका लागि मतदान

फिलिपिन्समा आज लगभग १८ हजार राष्ट्रिय तथा स्थानीय सिटका लागि मतदान हुँदैछ । यसमा सिनेटका २४ सदस्य, प्रतिनिधि सभाका ३१७ सदस्य र विभिन्न प्रान्त र सहर, नगरपालिकाका विभिन्न पदहरू समावेश छन् ।

यो चुनावले डुटेर्टेकी छोरी तथा फिलिपिन्सका उपराष्ट्रपति सारा डुटेर्टेको राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ । साराविरुद्ध सिनेटमा महाभियोगको प्रक्रिया चलिरहेको छ ।

उनीमाथि राष्ट्रपति फर्डिनान्ड मार्काेस जुनियरको हत्याको षड्यन्त्र रचेको आरोप छ । सारामाथि भ्रष्टाचारको गम्भीर आरोपहरू पनि लागेका छन् । राजनीतिक विरोधीहरूले उनलाई नष्ट गर्न यो कुरा फैलाएको भन्दै उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप